PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद : क्रिकेट र फुटबलको फाइनल समिकरण तय



एम बम

मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद :  क्रिकेट र फुटबलको फाइनल समिकरण तय

धनगढी : मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरु धनगढीका विभिन्न खेल मैदानमा जारी रहेका छन्।

फुटबल र क्रिकेटतर्फ फाइनल समिकरण तय भइसकेको छ भने भलिबल र ब्याड्मिन्टका खेलहरु पनि भइरहेका छन्।

 

महिला क्रिकेटमा सुदूरपश्चिम र प्रदेश १ उपाधिका लागि भिड्ने

संघीय प्रहरी कार्यालयको खेल मैदानमा भईरहेको महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम र प्रदेश नम्बर १ भिड्ने भएका छन्। सुदुरपश्चिम प्रदेश समुह ए को र प्रदेश १ समुह बी को विजेता बन्दै उपाधिका लागि भिड्न लागेका हुन्। समुह ए बाट उपविजेता बनेको प्रदेश नम्बर प्रदेश ३ र समहु बी को उपविजेता बनेको प्रदेश ५ तेस्रो स्थानका लागि खेल्नेछन्।

लिग अन्तर्गत आज भएको पहिलो खेलमा प्रदेश नम्बर ३ ले कर्णाली प्रदेशलाई प्रदेश ३ ले १८६ रनले हरायो  । पहिले व्याटिङ गर्दै प्रदेश ३ ले २० ओभरमा २ विकेट क्षतिमा २ सय ४९ रन बनायो। कञ्चन श्रेष्ठले ७९, करुण श्रीलामाले ४३ र सजनी श्रेष्ठले ३४ रन बनाईन्। कर्णालीकी लक्ष्मी रिमालले एक विकेट लिईन्। जवाफमा कर्णालीले ७ विकेट क्षतिमा ६३ रन मात्रै बनाउन सक्यो। कुनै पनि खेलाडीले दोहोरो रन अंक बनाउन नसक्दा प्रदेश ३ का लागि कञ्चन श्रेष्ठ र निरा राजउपाध्यायले दुई दुई विकेट लिईन्।

आज भएको दोस्रो खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर २ लाई १०० रनले हराएर फाईनलमा स्थान सुरक्षित गर्यो। पहिले व्याटिङ गर्दै प्रदेश १ ले २० ओभरमा २ विकेट क्षतिमा १७६ रन बनायो। रमा थापाले ८१, काजोल श्रेष्ठले ६१ रन बनाईन्। प्रदेश २ का लागि सरस्वती चौधरी र आरती चौधरीले एक एक विकेट लिईन्। जवाफमा प्रदेश २ ले २० ओभरमा ९ विकेट क्षतिमा ७६ रन मात्रै बनाउन सक्यो। सरस्वती चौधरीले २२ र अनुराधा चौधरीले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंक छुन सकेनन्। प्रदेश १ का लागि सिर्जना थापा र रुविना क्षेत्रीले दुई दुई विकेट लिईन्। फाईनल र तेस्रो स्थानको खेल भोली संघीय प्रहरी ईकाईको कार्यालयको खेल मैदानमा हुनेछ।

 

पुरुष क्रिकेटको उपाधिका लागि प्रदेश २ र गण्डकी प्रदेश भिड्ने

पुरुष क्रिकेटको उपाधिका लागि प्रदेश २ र गण्डकी प्रदेश खेल्ने भएका छन्। प्रदेश २ समुह ए को विजेता बन्दै र समुह बी को विजेता बन्दै गण्डकी प्रदेश फाईनल पुगेका हुन्। समुह ए बाट प्रष्ट जितका साथ प्रदेश २ फाईनल पुग्दा समुहको उपविजेता सुदूरपश्चिम प्रदेश भएको छ। समुह बी मा समान अंक हुँदा रन रेटका आधारमा पहिले हुँदै गण्डकी फाईनल पुगेको हो। रनरेटमा पछि परेर उपविजेता बनेको प्रदेश १ ले अब तेस्रो स्थानका लागि सुदूरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ।

फाप्ला मैदानमा आज भएको पहिलो खेलमा गण्डकी प्रदेशले प्रदेश ३ लाई ५ रनले हरायो। पहिले व्याटिङ गर्दै गण्डकी प्रदेशले २० ओभरमा ६ विकेट क्षतिमा १०७ रन बनायो। सो पारीमा अनिल गुरुङले ४४ र आकाश थापाले १७ रन बनाए। प्रदेश ३ का लागि ईसान पाण्डेले २ विकेट लिए। जवाफमा प्रदेश ३ ले १९ दशमलव २ ओभरमा अलआउट हुँदै १०२ रन मात्रै बनाउन सक्यो। ईसान पाण्डेयले २७ जितेन्द्र ठकुरीले १३ रन बनाए। गण्डकी प्रदेशका लागि विपिन खत्री र आकाश थापाले तीन तीन विकेट लिए। किशोर महतोले दुई विकेट लिए।

आज नै भएको दोस्रो खेलमा प्रदेश नम्बर २ ले सुदुरपश्चिमलाई ६ विकेटले हराएको हो। टस जितेर पहिले व्याटिङ गर्दै सुपले २० ओभरमा ८ विकेट क्षतिमा १०८ रन बनायो। सो पारीमा सन्जु दमाईले ४१ र दिपेन्द्र बोहोराले ३४ रन बनाए। प्रदेश २ का लागि सन्जम रेग्मीले तीन र प्रियान्सु मल्लिकले दुई विकेट लिए। प्रतिउत्तरमा प्रदेश २ ले १८ दशमलव १ ओभरमा ४ विकेट क्षतिमा विजय लक्ष्य पुरा गर्यो। सो पारीमा विशाल सुस्लिङले ३४ र हरिशंकर शाहले २५ रन बनाए। सुपका विकास क्षेष्ठ, नरेन्द्र सावद, खड्ग बोहोरा र सुरज तिरुवाले एक एक विकेट लिए।

फाईनल र तेस्रो स्थानका लागि दुवै खेल भोली फाप्ला क्रिकेट मैदानमा हुनेछ।

 

पुरुष फुटबलको उपाधिका लागि सुप र प्रदेश १ भिड्ने

धनगढी रंगशालामा भईरहेको पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम र प्रदेश १ भिड्ने भएका छन्। आज भएका सेमिफाईनलमा जित हात पार्दै दुवै टोली उपाधिका लागि भिड्न लागेका हुन्।

आज भएको पहिलो सेमिफाईनलमा सुदूरपश्चिमले प्रदेश २ लाई टाईब्रेकरमा ४–१ ले हरायो। निर्धारित समय गोलरहित बराबरी भएपछि भएको टाईब्रेकरमा सुपका लागि राकेश हमाल, नरेन्द्र चौधरी, भागेन्द्र चौधरी र सन्दीप कुँवरले गोल गरे। प्रदेश २ का लागि साने चौधरीको मात्रै गोल भयो। सनिल लामाको प्रहार बाहिरिँदा देवेन्द्र चौधरीको प्रहारलाई सुपका गोलरक्षक टेकेन्द्र थापाले रोके।

आज नै भएको दोस्रो सेमिफाईनलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १–० ले हरायो। एक मात्रै निर्णायक गोल दिपेन्द्र घिसिङ तामाङले गरे। सेमिफाईनलमा पराजित कर्णाली प्रदेश र प्रदेश २ ले तेस्रो स्थानका लागि खेल्नेछन। तेस्रो स्थानका लागि आइतवार बिहान ९ बजे धनगढी रंगशालामा खेल हुनेछ। फाईनल भने दिउँसो २ बजे धनगढी रंगशालामा हुनेछ।

 

पुरुष र महिला भलिबलमा सेमिफाईनल समिरण पुरा

पुरुष तथा महिला भलिबलमा लिग चरणका सवै खेलहरु सकिएका छन्। दुई दिनमा महिला र पुरुष तर्फका सवै लिग चरणका खेलहरु सकिएसँगै सेमिफाईनल समिकरण पुरा भएको हो। पुरुष भलिबलमा समुह ए बा प्रदेश १ विजेता र सुदूरपश्चिम उपविजेता बन्दै सेमीफाईनल पुगेका छन्। समुह बी बाट गण्डकी प्रदेश विजेता र प्रदेश ५ उपविजेता बन्दै अन्तिम चारमा पुगेका छन्।

अब आइतवार हुने सेमीफाईनलमा प्रदेश १ र प्रदेश ५ तथा गण्डकी प्रदेश र सुदूरपश्चिम भिड्नेछन्। सेमीफाईनलको विजेताहरुबीच फाइनल खेल हुनेछ। पराजित भएकाहरु तेस्रो स्थाको लागि भिड्नेछन्।

महिला भलिबलमा समुह ए बाट प्रदेश ५ विजेता र सुदूरपश्चिम उपविजेता बन्दै सेमिफाईनल पुगेका छन्। समुह बी मा प्रदेश ३ विजेता र गण्डकी प्रदेश उपविजेता बन्दै अन्तिम चारमा पुगेका छन्। आइतवार हुने सेमिफाईनलमा प्रदेश ५ र गण्डकी तथा प्रदेश ३ र सुदूरपश्चिम भिड्नेछन्। सेमीफाईनलमा जितेकाहरु फाईनल खेल्नेछन् । पराजित भएकाहरु तेस्रो स्थाको लागि भिड्नेछन्।

 

ब्याडमिन्टन

महिला तथा पुरुष तर्फका यू–१९ र यू–१७ उमेर समुहका महिला तथा पुरुषतर्फका सेमिफाईनलसम्मका खेलहरु सकिएका छन्। अब आइतवार फाईनल खेल हुनेछ।

यू– १९ पुरुषमा सुपका देशराज राना र प्रदेश १ का प्रनिस ठकुरी फाईनल खेल्नेछन्। रानाले सुपकै योगेश खड्का र ठकुरीले सुपका अमित चौधरीलाई हराएका हुन्। यू–१९ महिला तर्फ सुपकी निलिमा महरा र प्रदेश १ की निता लम्साल फाईनलमा भिड्नेछन। महराले कर्णाली प्रदेशकी सामना भट्टराई र लम्सालले सुपकी विष्ना किष्टलाई हराईन्।

यू–१७ पुरुषमा भने दाजुभाई रोशन साउँद र जेवी साउँद भिड्ने भएका छन्। रोनले सुपकै प्रियान्सु क्षेत्रलाई हराउँदा जेवीले प्रदेश १ का पेम्बा शेर्पालाई हराएका हुन्। यू–१७ महिला तर्फ प्रदेश १ की सिमा राजवंशी र प्रदेश १ कै अन्जना राई भिड्ने भएकीछिन्। सिमाले प्रदेश ५ की कृष्णा बज्राचार्य र अन्जनाले सुपकी एलिना तिरुवालाई सेमिफाईनलमा पराजित गरेकी हुन्।

फागुन २९ गतेबाट शुरु भएको प्रतियोगिता चैत्र ३ गते समापन हुनेछन्। ७ वटै प्रदेशका खेलाडी, अफिसियल र प्रशिक्षक गरी झण्डै साढे छ सय जनाको सहभागिता छ। प्रतियोगितामा भलिबल, क्रिकेट र ब्याडमिन्टमा महिला र पुरुष दुवैको प्रतिस्पर्धा भईरहेको छ भने फुटबलतर्फ पुरुषको मात्रै खेल भइरहेको छ।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell