PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दुबईमा 'नेपथ्य'को दोस्रो कन्सर्ट, २५ सय दर्शक झुमे एकै ठाउँ



पहिलोपोस्ट

दुबईमा 'नेपथ्य'को दोस्रो कन्सर्ट, २५ सय दर्शक झुमे एकै ठाउँ

शुक्रबार बेलुकी लोकपप ब्यान्ड नेपथ्यले दुबईमा कन्सर्ट गर्‍यो। कार्यक्रम सकिने बित्तिकै नेपथ्यका गायक अमृत गुरुङले सामाजिक सञ्जालमा छोटो भिडियो सेयर गर्दै लेखे ‘सबैभन्दा पहिले हामी......, धन्यवाद दुबई। माया र साथको लागि।’ 

चालिस सेकेण्डको भिडियोमा एउटा गीतको अधुरो अन्तरा सुनिन्थ्यो, जसलाई दर्शकले पुरा गरिदिन्थे। अनि पूरा हुन्थ्यो ‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली’

कन्सर्ट भइरहेको ‘अल नासेर लिजर ल्याण्ड’ मञ्च अघिल्तिरको हल २५ सय दर्शकले भरिएको थियो।

मञ्चबाट हेर्दा हलभरिका दर्शक अनुहारमा जुन उत्साह र उमंग देखिरहेको थिएँ त्यसले ममा उर्जा साथै सन्तुष्टि प्रदान गरिरहेको थियो', अमृतले भने, ‘यस्ता मायागर्ने दर्शक पाएकोमा हामी आफैलाई भाग्यमानी ठान्छौं।’

दर्शक रहेका आयुषमान डंगोलको अनुभवपनि उत्सहाजनक थियो। तीन वर्षदेखि एयर अरेबियाको विमान उडाउँदै आइरहेका उनले भने,'यसअघि नेपाली कार्यक्रममा यो रौनक देखेको थिइँन। आफ्नै काममा व्यस्त मलाई आज त नेपाल नै गएजस्तो लागेको छ।'

दुई घण्टा लामो कार्यक्रममा प्राय राष्ट्रभाव झल्कने र लोकभाका गुञ्जियो। ‘रेशम’, ‘तालको पानी’मा नाँचेका दर्शक ‘यो जिन्दगानी’, ‘मै मरि जाउँला’ र ‘कोशीको पानी’ सुन्दा भावुक भए। त्यस्तै ‘हामी नेपाली’, ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्रसुर्यले नेपालीपनको भावनासहित कन्सर्टलाई अन्तिम पाइन चढाएको थियो। 

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

‘संयुक्त अरब इमिरेट्सभरि छरिएर रहनुभएका नेपालीहरुबाट प्राप्त माया र सद्भावका निम्ति हामी आभार प्रकट गर्दछौं,’ आयोजक कमिटिका सुजन राजाले भने, ‘अबुधाबी, सारजहाँ र रस अल खइमाजस्ता छेउछाउका राज्यहरुबाट पनि बस रिजर्भ गरेरै टनाटन दर्शक ओइरिएका थिए।’

दुबईमा नेपथ्यको यो दोस्रो प्रस्तुति थियो। यसअघि सन् २०१५ मा प्रस्तुति दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell