PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुदमा सुदूरपश्चिम च्याम्पियन



पहिलोपोस्ट

मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुदमा सुदूरपश्चिम च्याम्पियन

धनगढी : मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगितामा आयोजक सुदुरपश्चिम प्रदेश टिम च्याम्पियन भएको छ। ७ स्वर्ण ७ रजत र १० कास्य पदकमध्ये ३ स्वर्ण जित्दै सुदूरपश्चिमले पहिलो भएको हो।

आयोजक सुपले ३ स्वर्ण, एक रजत र ३ कास्य सहित ७ पदक जितेको हो यसैगरी प्रदेश नम्बर १ दोस्रो भएको छ। प्रदेश १ ले एक स्वर्ण, दुई रजत र तीन कास्यसहित ६ पदक पायो। प्रदेश नम्बर ५ एक स्वर्ण, दुई रजत जित्दै तेस्रो भयो।

प्रथम भएको सुदूरपश्चिमले नगद १५ लाख, दोस्रो भएको प्रदेश १ ले नगद ८ लाख र तेस्रो भएको प्रदेश ५ ले नगद ५ लाख सहित ट्रफी प्राप्त गरेका छन्।

प्रदेश नम्बर २ र प्रदेश नम्बर ३ एक स्वर्ण, एक रजत पदक सहित संयुक्त रुपमा चौथो भए। गण्डकी प्रदेश ३ रजत सहित पाँचौ हुँदा कर्णाली एक रजत सहित छैटौं भयो।

पुरुष फुटबलमा प्रदेश नम्बर १ लाई ३-१ ले हराउँदै सुदूरपश्चिमले स्वर्ण जित्यो। प्रदेश १ ले रजत पाउँदा प्रदेश २ ले कर्णाली प्रदेशलाई ४-० ले हराउँदै कास्य पदक पायो।

महिला क्रिकेटमा पनि प्रदेश १ लाई हराउँदै सुदुरपश्चिमले स्वर्ण जित्यो। प्रदेश १ ले कास्य पाउँदा प्रदेश ३ लाई हराउँदै प्रदेश ५ ले रजत जित्यो। पुरुष क्रिकेटमा प्रदेश २ ले गण्डकी प्रदेशलाई हराउँदै स्वर्ण जित्यो। गण्डकीले रजत पाउँदा प्रदेश १ ले सुदुरपश्चिमलाई हराउँदै कास्य पदक प्राप्त गर्यो।

महिला भलिबलमा प्रदेश ३ ले स्वर्ण जित्दा गण्डकी प्रदेशले रजत पायो। प्रदेश ५ ले कास्य पदक पायो।

पुरुष भलिबलमा प्रदेश ५ ले स्वर्ण जित्यो। गण्डकी प्रदेशले रजत पाउँदा प्रदेश १ तेस्रो भयो।

व्याटमिन्टन तर्फ यू-१७ र यू-१९ का महिला-पुरुषका ईभेन्ट भएपनि पदक तालिकामा यू-१९ को मात्रै राख्ने सहमति भएकोमा यू-१९ पुरुष तर्फ सुदूरपश्चिमका देवराज रानाले स्वर्ण जिते। प्रदेश १ का प्रनिस ठकुरीले रजत तथा सुदुरपश्चिम प्रदेशका अमृत चौधरी र योगेश खड्काले कास्य पदक पाए।

यू-१९ महिला तर्फ प्रदेश १ की निता लम्साले स्वर्ण सुदूरपश्चिमकी निलिमा महराले रजत तथा सुदूरपश्चिमकी विष्ण विष्ट र कर्णाली प्रदेशकी सामना भट्टराईले कास्य पदक जितिन्। यू-१७ पुरुष तर्फ जेवी सावँद प्रथम रोशन सावद तेस्रो तथा प्रदेश १ पेम्बा शेर्पा र सुपका प्रियान्सु खत्री तेस्रो भए। यू-१७ महिला तर्फ प्रदेश १ की सीमा राजवंशी प्रथम, प्रदेश १ कै अन्जना राई दोस्रो तथा प्रदेश ५ की कृष्णा बज्राचार्य र सुपकी एलिसा तिरुवा तेस्रो भईन्।

सुदूरपश्चिम सरकारको आयोजनामा फागुन २९ गतेदेखि चैत ३ गतेसम्म भएको प्रतियोगितामा ७ वटै प्रदेशका खेलाडी, सफिसियल र प्रशिक्षक गरी झण्डै साढे छ सयको सहभागिता रहेको प्रतियोगितामा भलिबल, क्रिकेट र ब्याटमिन्टनका खेल महिला र पुरुष तर्फका खेल आयोजना गरिएका थिए। फुटबल खेल भने पुरुष तर्फ मात्रै गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell