PahiloPost

Dec 21, 2024 | ६ पुष २०८१

भीमसेन र द्रौपदीको के देखाइयो यस्तो ! भक्तपुरमा मनाइने फागुको फरक स्वरुप जसबारे धेरैलाई थाहै छैन



सहयोग रञ्जित

भीमसेन र द्रौपदीको के देखाइयो यस्तो ! भक्तपुरमा मनाइने फागुको फरक स्वरुप जसबारे धेरैलाई थाहै छैन

‘भिसीं द्य: या लज: खङ लो वान ला ल्यासे
बिस्यु वाने मायेक स्व: झाया ला’

 

भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडि रहेको भीमसेन मन्दिरमा विगत ४० वर्षदेखि मन्दिरको रेखदेख गर्दै आएकी केशरी कपालीले प्रेमको प्रतीकमा गाइने मदनोत्सव गीत सुनाइन्। गीतको नेपाली अनुवाद हुन्छ: ‘भीमसेन देवताको लिङ्ग देखेर तिमी डरायौ कि, भाग्नु पर्ने गरिकन तिमी फागु हेर्न आयौ कि।’  

पहिला, भीमसेन गुठीका गायजूहरुले मन्दिरको पाटीमा बसेर फाल्गुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म यौनसँग सम्बन्धित यस्तो गीत गाउँथे। तर, करिब यस्ता गीत भक्तपुरको भीमसेन मन्दिरमुनी नगुञ्जिएको धेरै भइसक्यो। 

अष्टमीदेखि एक हप्तासम्म भक्तपुरमा रहेका दाफा खल:हरुमा फागुका गीत गाउने परम्परा छ। तर भीमसेन मन्दिरमा गाउने गीत विशेष र मौलिक थियो, जुन अहिले कथामा सीमित हुने अवस्थामा छ। 

भीमसेन मन्दिरको पहिलो तल्लामा भीमसेनको लिङ्ग र द्रौपदीको योनीको प्रतीकका रुपमा काठले बनेको लिङ्गो र योनी आकृति बनाई प्वाल बनाइएको रातो कपडाको पूजा गरी भक्तपुरमा फागु मनाउने परम्परा रहेको छ। 

पहिले सार्वजनिक रुपमा मन्दिरको पाटीमा नै लिङ्ग र योनीको समागम भएको दृश्य देखाइने गरिन्थ्यो। मानिसहरुलाई यौन जानकारी दिने हेतुले गायजुहरुले लिङ्ग र योनी हल्लाएर समागमको गीत गाउँथे। तर हाल भने परम्परामा व्यापक परिवर्तन आएको बताउँछिन् कपाली। 

उनका अनुसार हाल मन्दिरमा लिङ्ग र योनीको दर्शन गर्न पहिला जस्तो चहलपहल हुँदैन। भनिन्,'पहिला भीमसेन गुठीका मान्छेहरुले नै लिङ्गको रेखदेख गर्थे। तल पाटीमा लिङ्ग र योनीको प्रदर्शनी गर्दै बाहिर बसेर बिहान बेलुकी गीत गाउँथे। अब यहाँ होलीका अन्य गीतहरु मात्रै सुनिन्छ। तर भीमसेनको गीत सुनिन्न। फागु पूर्णिमाको दिन कोहीकोहीले भीमसेनको गीत गाउँछन् तर त्यो पनि विस्तारै हराइसक्यो। मान्छे नै भएनन्।' 

अहिले भीमसेन मन्दिरको अगाडि रहेको दत्तात्रय मन्दिर लगायत पाटीहरुमा बिहान-बेलुकी फागुका गीतहरु गुञ्जिन्छन्।  

‘अबिरया होली तंचाया ल्यासे, अबिरं छगुं ख्वा हिसी दयेका बी’ (अबिरको होलीले तिमी रिसायौ कि केटी, अबिरले तिम्रो मुहार राम्रो बनाउनेछ), ‘होलिया मेला, मयजु मस्युला अबिर भचाः नं तये मज्युला’ (होलीको बेला मायालाई थाहा छैन र, अबिर अलिकति पनि दल्नु हुन्न र) यस्तै, ‘झ्यालय् च्वंगु तुकं मा, वहे ल्यासे जितः मा, व ल्यासे मदयेकः जा हे मनया’ अर्थात् ‘झ्यालभरि तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्नँ’ लगायत पुरुष र महिलले एकअर्कालाई जिस्काउने र यौन भाव दर्शाउने खालका गीत अहिले पनि भक्तपुरका दाफा खलहरुमा गाउन भने रोकिएको छैन।  


देवता परिवर्तनसँगै भित्रिएको फागु

फागुलाई वसन्त उत्सवका रुपमा मनाइँदै माथि उल्लेखित गीतहरु गाउने परम्परा चलेको बताउँछन् संस्कृतिविद् ओम धौभडेल। 

उनका अनुसार फागुका गीतहरु गाउने परम्परा मल्लकालदेखि उपत्यकामा भित्रिएको हो। काठमाडौंमा प्रताप मल्ल, ललितपुरमा श्रीनिवास मल्ल र भक्तपुरमा जगतप्रकाश मल्लले भीमसेनका मन्दिरहरु स्थापना गरी गीत गाउने प्रचलन सुरु गरेका हुन्। 

तर, नेवार समुदायले पूजा गर्ने देवता ‘भीमसेन’ नभइ ‘भिंद्य:’ रहेको बताउँछन् धौभडेल। भन्छन्  ‘नेवारहरुले पुज्ने भिंद्य: हो । मल्लहरुले नेपालमा भारतमा पुज्ने भीमसेनको मूर्ति भित्राए। नेवारहरुले पुज्ने ढुंगा हो, जसमा आकृति हुँदैन। जस्तै दोलखा भीमसेन।'

भक्तपुरको भीमसेन मन्दिर बनाएका थिए जगतप्रकाश मल्लले। उनकै पालादेखि नै भीमसेन र द्रौपदीसम्बन्धी फागुका गीतहरु गाउने परम्परा सुरु भएको त्यतिबेलाका शिलालेखहरुमा उल्लेखित ‘फागु’ शब्दले प्रस्ट गरेको उनी बताउँछन्। ‘फाल्गुन’ शब्द फागुबाट उत्पति भएको उनको दाबी छ।  

भिंद्य: असल गुण भएको देवता हुन्, महाभारतका बलवान पात्र भीमसेन भन्दा फरक। भिंद्य:लाई विशेष गरी व्यापारमा असल गर्ने देवताका रुपमा व्यापारीहरूले पुज्ने गर्छन्।

१७ औं शताब्दीमा जगतप्रकाश मल्लले भक्तपुरमा भीमसेनको मन्दिर बनाएपछि ‘चीर स्वायगु’ भनेर फाल्गुन कृष्ण अष्टमीको दिनमा लामो मोटो काठलाई रातो कपडामा प्वाल बनाई भित्र पसाएर फागु मनाउने परम्परा सुरु गरेको उनले बताए।   

अष्टमीको दिन कमलपोखरीमा लगेर लिङ्गलाई स्नान गराएर बाजा बजाएर मन्दिरमा प्रतिस्थापन गर्ने चलन छ। भक्तपुरको इनाचो, बाचुट्वा, जेंला, ब्रह्मायणी, च्यामसिंहमा जात्रा गरी दत्तात्रय मन्दिर परिसरमा घुमाएर लिङ्ग र योनीलाई झुन्डयाउने गरिन्छ। फागुका दिन दत्तात्रय परिसरमा विशेष जात्रा गरी लिङ्गलाई ब्रह्मायणी लगी नदीमा स्नान गराएर खास्टोले छोपेर फेरि मन्दिर ल्याइन्छ। मन्दिरमै रहेको काठको दराजमा राखिन्छ। त्यसपछि होलीका गीत बन्द हुन्छ र बिस्का:सम्बन्धी गीतहरु दाफाहरुमा गुञ्जिन्छन्। 

ओम धौभडेल भने अहिलेको काठको लिङ्ग नयाँ रहेको हुनसक्ने बताउँछन्। पहिलाको काठको लिङ्ग अहिलेभन्दा मोटो र लामो रहेको र त्यो दत्तात्रयकै कुनै घरमा रहेको कथन सुनाउँछन्। यस विषय भनेमा अनुसन्धान हुनै बांकी छ।  

वसन्तको उमंगसँगै यौन शिक्षा

यस पर्वलाई 'उच्छृङ्खल' भन्नेहरु पनि नभएका होइनन्।  भक्तपुरकै कतिपयलाई भक्तपुरमा लिङ्ग र योनीको पूजा गरेर फागु खेलिन्छ भन्ने नै थाहा छैन। थाहा हुनेले पनि ‘लाजको घुम्टो’ ओडेका छन्। धेरैजना त्यही बाटो हिँड्छन् तर मन्दिरबारे जिज्ञासा राख्दैनन्। नयाँ पुस्तालाई थाहा हुने कुरै भएन। तर यस पर्वलाई यौन शिक्षा दिने माध्यमका रुपमा व्याख्या गर्छन् वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः। 

उनी भन्छन्, 'वसन्त ऋतु उमंगको ऋतु हो। पालुवा, मुना, कोपिलाहरु सबै उम्रिसकेको अवस्था छ। बैशाख जेष्ठको घामले त्यसलाई  हृष्टपुष्ट बनाउँछ। प्राकृतिक रुपमा वातावरण रमणीय हुँदा मानिसमा आफै भावनाहरु उच्च रहने गर्छ। अरु जनावरहरुको उही हो। यसै समय मानिसको यौनिक भावहरु पनि उच्च हुने गर्छ।'

यस ऋतुमा मानिसमा आफै अनुराग जाग्ने भन्दै ग्वंग ‘भीमसेन’ मानव नै रहेको बताउँछन्। उसैको प्रतिकात्मक रुपमा त्यहाँ काठको लिङ्ग राखिएको उनको मत छ। भीमसेनको मन्दिरमा गएर महिलाहरुले लिङ्गलाई छोयो भने उनीहरुको प्रजनन् शक्ति उच्च हुने कथन रहेको उनी बताउँछन्। सोही कुरा पुरुषहरुमा पनि लागू हुन्छ। 

 ‘यो अस्वभाविक कुरा होइन। मान्छेहरु यस्तो पनि हुन्छ र भनेर सोध्छन्,’ ग्वंग भन्छन्, ‘किन हुँदैन र? मानिसहरुलाई केही कुराका लागि प्रेरित गर्दै उनीहरुमा यौनिक भावनाहरु विकास गर्ने काम यो पर्वले गरेको छ। अहिले गुगलमा यस्ता सबै कुरा छर्लंगै देखाइएको हुन्छ। हाम्रा पुर्खाहरुले यस्ता यौन चेतना पहिलादेखि नै प्रदान गर्दै आएका हुन्। मन्दिरका टुंडालहरुमा कुंदिएका यौनिक आकृति पनि यसैको उपज हो। यो पनि संस्कृतिको एउटा पक्ष हो।'

लिङ्ग ढोग्नुको पनि प्रतिकात्मक अर्थ रहेको बताउँछन् उनी। समाजमा खुल्ला रुपमा देखिने र अदृश्य संस्कारहरु रहेको भन्दै लिङ्ग ढोग्नु सिष्ट तरिका हो भन्छन्।

यस प्रकारका संस्कृतिहरु मानिस आफैले गर्ने व्याख्यामा निर्भर गर्ने भन्दै उनी लिङ्ग र योनी ढोग्दा त्यसले मानिसमा रहेको चाहनालाई उच्च बनाउने काम गर्ने बताउँछन्। ‘मनमा उत्तेजना आएपछि शरीरमा आफै उत्तेजना आउँछ। तर हामीले बुझ्नु पर्ने भनेको यो पर्वले योनी र लिङ्गको संगम गर्ने प्रक्रियाको मानसिक चिन्तनको कुरा गर्छ। पूजा गर्नु वा ढोग्नु कुनै किसिमको अपराध वा अन्धविश्वास होइन। यो विश्वास हो। किनभने जब मानिसको मनले चिताएको कुरा फेला पार्छ, तब मानिसमा आफै विश्वास पैदा हुन्छ।’ 

ग्वंग: थप प्रस्टाउँछन्, ‘अहिले पोर्नोग्राफीले अपराध बढायो भन्छन्। त्यो यौन शिक्षाको कमीले नै हो। यो परिवेशले निर्धारण गर्ने प्रक्रिया हो। त्यो बेला जनसंख्या कम थियो। मान्छेको जनसंख्या बढाउनुपर्ने अवस्था थियो। मानिसलाई यौन शिक्षा दिने हेतुले नै यस प्रकारका पर्वहरु सुरु भएका हुन्। सुरुवात आफैबाट गर्ने हो।’
                                                       
**

लोप हुने संघारमा मौलिक फागु

समय परिवर्तन हुँदैछ। त्यसैसँग सामाजिक मूल्य मान्यता पनि रुपान्तरण हुँदैछन्। पुराना सामाजिक मान्यताहरु हराउँदै नयाँ मान्यताहरुको विकास हुँदैछ।

मानिसमा बढ्दै गएको अधैर्य भीमसेन मन्दिरमा पनि देखियो। फागु संचालनको प्रक्रियमा देखियो। भीमसेनसँग सम्बन्धित गीत नबज्नु यसको उदाहरण हो। त्यसमाथि यसपालि लिङ्गलाई स्नान गराउन लिएर जाने मान्छेको अभाव भयो। स्थानीयहरु ‘गाडामा राखेर लिङ्ग मन्दिर ल्याएको’ सुनाउँछन्। 

मन्दिर र लिङ्गको रेखदेख गर्दै आएकी केशरी कपाली पनि अब थाकेको बताउँछिन्। दुई छोराकी आमा उनी पारिवारिक समस्या सुनाउँछिन्। भन्छिन्, ‘अब म पनि सक्दिनँ। पूर्णिमापछि गुठी संस्थानमा राजीनामा दिन्छु। उनीहरुले नयाँ मान्छे खटाएपछि यहाँको जिम्मेवारी सुम्पेर हिँडछु।’

किन छोड्ने त? 

उनले भनिन, ‘अब सकिएन। काममा धेरै प्रेसर भयो। घर पनि त हेर्नै पर्‍यो। एक-दुई सयले हामीलाई केही हुन्न।’

मन्दिरमा बिहान बेलुकीको नित्यपूजादेखि मन्दिरको सबै जिम्मेवारी उनकै काँधमा छ। गुठी संस्थानबाट दैनिक दुई सय पाउँछिन्। कहिलेकाहीँ उनका छोराहरु आएर सघाउँछन् तर दैनिक त्यसो गर्न सकिन्न। २०७२ सालको भूकम्पपछि त उनलाई झन् गाह्रो भएको छ। त्यसैले आफू धेरै समय मन्दिरको रेखदेख गर्न नसक्ने बताउँछन्।

हाम्रो पुर्खादेखि गर्दै आएको काम हो। तर अब मानिसमा आस्था नै रहेन भन्दै भन्छिन, ‘ यस्तै अवस्था रहने हो भने एकदिन यो जात्रा रोकिएरै जान्छ। यो संस्कृति हराएरै जान्छ।’

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell