PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रतिबन्धित नेकपा दिउँसो लुक्दै र राति जुट्दै: विप्लवको 'लालकिल्ला' तोड्न कर्णालीमा यस्तो छ सुरक्षा रणनीति



पी बी खड्का

प्रतिबन्धित नेकपा दिउँसो लुक्दै र राति जुट्दै: विप्लवको 'लालकिल्ला' तोड्न कर्णालीमा यस्तो छ सुरक्षा रणनीति

सुर्खेत: दश वर्षे जनयुद्धमा तत्कालीन माओवादीले ‘लालकिल्ला’को दाबी गरेको थियो कर्णालीलाई। जनयुद्धमासँगै होमिएका सारथी पुस्पकमल दाहाल (प्रचण्ड) र रामबहादुर थापा (बादल) अहिले सत्तामा छन्।

तर, युद्धमा सँगै होमिएका नेत्रविक्रम चन्द (विप्लव) केही समय अघि पार्टी फुटाएर अहिले विद्रोहको मुडमा देखिन्छन्। कर्णालीमा विप्लवको दलबल पनि राम्रै छ। विप्लवपछि पार्टीका प्रभावशाली नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) कै पकड छ कर्णालीमा।

जसले पनि जनयुद्धताका जस्तै विप्लवको ‘लालकिल्ला’ मानिएको छ कर्णाली। कर्णाली आफैमा भौगोलिक विकटता र त्यत्ति जाँडो सुरक्षा निकायले भेट्न नसक्ने हुँदा पनि यहाँ दश वर्षे जनयुद्ध जस्तै विप्लवको गढ छ।

सरकारले गत फागुन २८ गते प्रतिबन्ध लगाएको विप्लव समूहको लालकिल्ला मानिएको कर्णालीमा चन्दा र धम्कीका घटना बाहिरीरहेका छन्। यद्यपि अन्य कुनै अपराधिक गतिविधि भने भएका छैनन्।

विप्लव समूहका प्रवक्ता एवं प्रभावशाली नेता प्रकाण्डको गृह प्रदेश भएकाले पनि कर्णालीको शान्ति सुरक्षामा थप चुनौति बनेको छ। यता, कर्णालीको सुरक्षा निकाय विप्लवको लालकिल्ला तोड्ने दाउमा देखिन्छन्।

पछिल्लो समय विप्लव समूहले शान्ति सुरक्षामा चुनौति थपेको प्रदेश प्रहरी कार्यालयका प्रमुख महेशविक्रम शाह बताउँछन्। ‘पछिल्लो समय कर्णालीमा विप्लव समूहको कारणले शान्ति सुरक्षामा चुनौति बनेको छ,’ उनले भने, ‘ त्यस्ता गतिविधिहरु अहिले सम्म कर्णालीमा भए गरेका छैनन्। कर्णालीका सबै ठाउँमा सुरक्षाकर्मीहरु परिचालित छन्। कुनै पनि अपराधिक कार्यहरु हुन र गर्न दिएका छैनौँ।’

सरकारले प्रतिबन्ध लगाएसँगै विप्लव समूहले गरेको कुनै पनि गतिविधि अपराधिक हुने उनको भनाई छ। ‘त्यो समुहबाट हुने कुनै पनि गतिविधिहरु अपराधिक हुन्,’ उनले भने, ‘त्यसका लागि हरेक ठाउँमा सुरक्षाकर्मीहरुलाई तयारी अवस्थामा राखेका छौँ। त्यस्तो गतिविधि हुने बित्तिकै तुरुन्त नियन्त्रणमा लिएर कानुनी कारवाही गर्छौ।’

सुरक्षा निकायका प्रमुख जिल्ला दौडाहामा

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गढ भत्काउने रणनीतिमा छ सुरक्षा निकाय। पछिल्लो समय अपराधिक गतिविधि हुन नदिन प्रदेशका सुरक्षा निकायका प्रमुख जिल्ला दौडाहामा छन्। प्रदेश प्रहरी प्रमुख डिआइजी शाह, सशस्त्र प्रहरी बलका डीआईजी राजुराज सुवाल र राष्ट्रिय अनुसन्धान विभाग प्रदेश निर्देशक मधु कार्कीसहितको टोली शान्ति सुरक्षाको अवस्था अध्ययन गर्दै सुरक्षा निकायलाई निर्देशन दिन जिल्ला–जिल्ला पुगेका छन्।

‘सल्यान, रुकुम, जाजरकोट सहित विभिन्न जिल्लाको शान्ति सु–व्यवस्थाबारेमा अध्ययन गर्दै सुरक्षाकर्मीहरुलाई निर्देशन दिदैँ छौं,’ डीआईजी शाहले भने, ‘स्थानीय तहका सम्पूर्ण जनप्रतिनिधिहरुसंग सुरक्षा चुनौतीको विषयमा छलफल र भेटघाट गरेका छौँ। जनप्रतिनिधिहरुसंगको छलफल र अन्तर्क्रियामा अहिले चन्दा माग्ने र धम्क्याउने बाहेक अन्य कुनै गतिविधिहरु नभएको बुझिएको छ। समग्र कर्णालीमा शान्ति सुरक्षा मजबुत छ।’  

 

यस्तो छ कर्णालीमा विप्लवको अवस्था 

प्रकाण्डको गृह जिल्ला वा विप्लव समूहको पकड मानिने कालिकोट आफैमा सुरक्षाका हिसाबले निकै संवेदनशील छ। पार्टीको उच्च पदमा अधिकांश कालिकोटकै नेता तथा कार्यकर्ता रहेका छन्।

प्रकाण्डको गृहजिल्ला कालिकोटबाट मात्रै १३ जना पोलिट्ब्युरो सदस्य र १३ जना प्रभावशाली नेता केन्द्रीय सदस्यमा छन्।

पछिल्लो समय कर्णालीमा विप्लवको अवस्था हेर्दा अधिकांश नेता तथा कार्यकर्ता गाउँ केन्द्रित बनेको पाईएको छ। अहिले दैलेखमा ३९ जना रहेको तथ्यांक छ भने, जाजरकोटमा ७ जना केन्द्रीय सदस्य रहेको प्रहरी स्रोतको भनाई छ। त्यस्तै, जुम्लामा २८ जना, र मुगुमा झण्डै करिब डेढ सय कार्यकर्ता रहेका छन् भने, डोल्पामा पोलिटब्युरो र केन्द्रीय सदस्य नभएको स्रोतको भनाई छ। सल्यान, रुकुम, हुम्ला लगाएतका जिल्लामा विप्लवका नेता तथा कार्यकर्ता सक्रिय रहेका छन्।

जसले गर्दा पनि कर्णालीको शान्ति सुरक्षामा थप चुनौति बनेको छ। प्रकाण्डको बलियो पकड रहेको कर्णालीमा विशेष शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकाय लागि परेको छ।

पछिल्लो समय विप्लव समूहका नेता तथा कार्यकर्ता गाउँ केन्द्रीत बनेको भन्दै सुरक्षा निगरानीसमेत प्रहरीले बढाएको छ। ‘विप्लवका नेताहरु गाउँमा छन् भन्ने सुनेपनि उनीहरुका गतिविधि हुन सकेका छैनन्,’ प्रहरी स्रोतले भन्यो, ‘अहिले उनीहरु दिउँसोको समय लुक्ने र रातिमा सक्रिय हुने गरेको पाईएको छ। त्यसैले रातिमा पनि सुरक्षाकर्मीलाई परिचालन गरी सक्रिय पारेका छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell