काठमाडौं : सरकारले गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएकाले प्रयोग गर्न अयोग्य ठहर्याएको टेकु-कालीमाटी जोड्ने नयाँ पुलबाट गाडीहरु भने निर्वाध गुडिरहेका छन्।
हिजोमात्रै भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गुणस्तरहीन निर्माण सामाग्री प्रयोग भएको भेटिएकाले पुल भत्काउनु पर्ने बताएका थिए। उनले भत्काउनुपर्ने पुलमा गाडी चलाउन निषेध गरिएको जानकारी पनि दिएका थिए।
पुल गतिलो नभएपछि सडक विभागले महानगरीय ट्राफिक प्रहरी कार्यालयलाई जतिसुकै बेला भत्कन सक्ने भन्दै संचालनमा रोक लगाउन पत्राचार गरेको थियो।
निर्माण सम्पन्न भए पनि ६२ मिटर लामो पुल प्राविधिक हिसाबले अत्यन्तै कमजोर पाइएकाले सरकारले नै संचालनमा रोक लगाएको छ। बनिसकेको पुलबाट गाडी गुडाउन निषेध गरिएको हो।
तर... गुडिरहेका छन् गाडी
मंगलवार मन्त्री महासेठले गुड्न अयोग्य भएको र भत्काउनुपर्ने बताएको पुलको अवस्था के छ त भन्ने बुझ्न बुधवार टेकु-कालीमाटी जोड्ने नयाँ पुल हेर्न पुग्दा फरक दृश्य देखियो। नयाँ पुलबाट साना ठूला सवारी निर्वाध गुडिरहेका थिए।
यो पुल त्रुटिपूर्ण भएको भन्दै बनाउन रोक्दा रोक्दै निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले हतारहतार निर्माण पूरा गरेको थियो। यतिखेर भने सडक विभागले गाडी चलाउन नदिन ट्राफिक प्रहरीलाई पत्राचार गर्दा पनि गाडी गुडिरहेकै छन्।
चार वर्ष लगाएर बल्लबल्ल बनेको पुल भत्काएर नयाँ बनाउनुपर्ने निर्णय भइसकेको छ। त्यसका लागि सूचनासमेत जारी भइसकेको छ।
पुलमा न्यून गुणस्तरका तार, डण्डी प्रयोग गरेका कारण संचालनमा ल्याउन नसकिने सडक विभागका अधिकारीहरुको भनाइ छ।
बल्ल बन्यो, बन्नासाथ भत्काउनुपर्ने!
एसियाली विकास बैक (एडिबी) को २० करोड १३ लाख ऋण सहयोगमा पुल निर्माण गरिएको हो। २०७४ मंसिरमा सम्पन्न गर्ने गरी २०७१ सालमा पप्पु कन्स्ट्रक्सनसँग पुल निर्माण सम्झौता भएको थियो। तर, कम्पनीले एक वर्ष ढिला गरी काम सकेको थियो।
राजनीतिक शक्तिकै भरमा बलमिच्याइ गरेर निर्माण सम्पन्न भए पनि पप्पु कन्स्ट्रक्सनले नै पुल भत्काएर नयाँ बनाउनुपर्ने छ।
तर, निषेध हुनुपर्ने पुलमा गाडी गुडिरहनुमा जिम्मेवार को? यदि कुनै दुर्घटना भइहाल्यो भने त्यसको जिम्मेवारी कसले लिन्छ?