PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

फोरम सरकारबाट बाहिरिने तयारीमा: राजपासँग एकताका लागि वार्ता टोली पठाइँदै



बीपी साह

फोरम सरकारबाट बाहिरिने तयारीमा: राजपासँग एकताका लागि वार्ता टोली पठाइँदै
फाइल फोटो

काठमाडौं: सत्तारुढ दल संघीय समाजवादी फोरम नेपाल पनि सरकारबाट बाहिरिने विषयमा छलफल अगाडि बढाएको छ। पछिल्लो साता फोरमका नेताहरुले सरकारबाट बाहिरिन अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिएका छन्।

सोही क्रममा बुधबार फोरमका नेताहरुबीच भएको अनौपचारिक छलफलले पार्टी सरकारबाट बाहिरिनु पर्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिएका छन्।

‘सरकारमा बसिरहनुको औचित्य देखिएको छैन। सरकारबाट बाहिरिन पार्टीभित्र केही महिना अगाडिदेखि नै छलफल भइरहेको छ। तर, अध्यक्ष(उपेन्द्र यादव)ज्यूले केही समय अझै कुर्न भन्नु भएको थियो।’ उनले भने,‘पछिल्लो साता हामीहरुले गरेको छलफलमा अध्यक्षज्यू पनि सकारात्मक हुनुहुन्छ सरकारबाट बाहिरिने विषयमा। दिन त फिक्स भन्न सकिँदैन तर हामी चाँडै सरकारबाट बाहिरिँदै छौं।’

सरकारसँग बारम्बार असन्तुष्टि व्यक्त गर्दै आएका फोरम अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले प्रधानमन्त्रीलाई यसअधि नै असन्तुष्टि जनाइ सकेका छन्।

पछिल्लो समय मन्त्रिपरिषद्मा हुन लागेको हेरफेरको असर पनि फोरममा देखिने बुझिएको छ।

हालै सरकारबाट समर्थन फिर्ता लिएको राजपाले पार्टी एकीकरणका लागि फोरमलाई दबाब दिदैछ। पार्टी एकीकरणको वार्ता अगाडि बढाउने पहिलो सर्तका रुपमा राजपाले सरकारबाट बाहिरिनु पर्ने कुरा अगाडि सारेको छ।

सोही बमोजिम फोरमले सरकारबाट फिर्ता भइ एकीकरणको प्रक्रियामा सहभागी हुने नेताहरुले बताएका छन्।

तर, पार्टी महासचिव रामसहाय प्रसाद यादवले अहिले नै सरकारबाट बाहिरिने विषयमा निर्णय भइनसकेको बताए।

‘सरकारबाट बाहिरिने निर्णय भइसकेको छैन। त्यो कुरा उठेको हो।’ पहिलोपोस्टसँग यादवले भने,‘राजपासँग एकीकरणका छलफल प्रारम्भ भएको छ। वार्ता टोली पठाउने कुरा भएको छ।’

महासचिव यादवले केही दिनभित्रै एकीकरणका लागि प्रक्रिया अगाडि बढ्ने दाबी गर्दै तोकिएकै समयमा पार्टीको महाधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell