PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पूर्वराजा राजधानीबाहिर, राजावादी भने काठमाडौ‌ंमा आन्दोलन चर्काउँदै



बीपी साह

पूर्वराजा राजधानीबाहिर, राजावादी भने काठमाडौ‌ंमा आन्दोलन चर्काउँदै

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न जिल्लामा सक्रिय भएपछि राजावादी संगठनहरु केन्द्रमा सक्रिय हुन थालेका छन्।

फागुनको अन्तिम साताबाट पूर्वराजा शाहले सक्रियता देखाएका थिए। सुरुमा उनले मधेशको प्रदेश २ का विभिन्न जिल्ला भ्रमण गरेका थिए। करिब एक महिना मधेश बसेर अध्ययन गरेपछि उनी सक्रिय रुपमा विभिन्न जिल्लामा रहेको धार्मिक मठ–मन्दिरको दर्शन गरे।

भ्रमणका क्रममा उनलाई हेर्नेको भिड पनि लागेको थियो। भिड देखे पछि पूर्वराजा शाह हौसिएका छन्।

सर्लाही, धनुषा, सप्तरी र उदयपुर जिल्ला पुगेका पूर्वराजा शाहलाई स्वागत गर्न राजावादीहरु मात्र होइन अन्य संगठनका नेताहरु पनि देखिएका थिए।

पूर्वराजाप्रतिको चासो बढ्न थालेपछि अहिले राजावादीहरु पुनः सक्रिय हुन थालेका छन्।

हुनत पूर्वराजाको सक्रियता अघि पोखरामा पूर्वराजा र कमल थापाबीच भेट भएको  थियो। भेटपछि थापा नेतृत्वको राप्रपाले केही सक्रियता देखाएको थियो।

तर, पूर्वराजाको सक्रियता बढेसँगै कमल थापाको सक्रियता पनि बढेको छ।

कमल थापा सक्रिय भएपछि अन्य राजावादी संगठनहरु पनि सक्रिय हुन थालेका छन्।

शुक्रबार काठमाडौंमा राजावादी संगठनहरु एकै ठाउँमा देखिएका थिए। पशुपति शमशेर र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्त, विश्व हिन्दु महासंघ, शिव सेना नेपाल, मितेरी पार्टीलगायतका राजावादी संगठनहरु एउटै मञ्चमा देखिएका हुन्।

उनीहरुले राजतन्त्र पूर्नस्थापना गर्नु पर्ने, हिन्दु राष्ट्र कायम गर्नु पर्ने माग राखेका थिए।

उनीहरुले एकआपसमा छलफल गरी एकत्रित भएर अभियान अगाडि बढाउने विषयमा पनि छलफल अगाडि बढाएका छन्।

राप्रपा संयुक्तका अध्यक्ष पशुपति शम्शेरले राजतन्त्र पुर्नस्थापनाका लागि एकीकृत हुन विभिन्न संगठनलाई आह्वानसमेत गरे।

मञ्चमा यति भइरहँदा राजावादी अन्य–ससाना संगठनहरु पनि सक्रिय भएका छन्।

यता आइतबारबाट थापा नेतृत्वको राप्रपाले देशव्यापी अभियान थालेको छ।

हिन्दु राष्ट्र कायम गर्नु पर्ने प्रमुख एजेण्डा भएपनि उनको दोस्रो एजेण्डा राजतन्त्र पूर्नस्थापनाको रहेको छ। जसका लागि उनले हस्ताक्षर अभियान सुरु गरेका छन्।

‘सर्वधर्म सम्भाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको नेपाललाई समातन धर्म सापेक्ष हिन्दुराष्ट्र पूर्नस्थापना गरौं’ भनी राप्रपाले ब्यानर खडा गरेको छ। उनले ब्यानरमा राजपरिवारको बारेमा जिकिर नगरेपनि राजतन्त्र पूर्नस्थापनाको मागलाई अगाडि सारेको छ।

यसैबीच, मधेश यात्रा जारी राखेका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबारदेखि पूर्वी पहाडी जिल्ला इलाम र पाँचथरको यात्रा गर्दैछन्।

सोमबार फिदिममा बस्ने पूर्वराजा शाह मंगलबार गडीमाईको दर्शन गर्नेछन्। त्यसपछि अन्य मठमन्दिर दर्शन गरेर इलाम हुँदै बिहीबार पुनः झापा फर्किने कार्यक्रम रहेको छ।

त्यसपछि अन्य जिल्ला भ्रमणको कार्यक्रम तय हुने पूर्वराजा शाहको सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell