आंइपीएल २०१९ अन्तर्गत नेपाली खेलाडी सन्दीप रहेको दिल्ली क्यापिटल्सले तेस्रो हार बेहोरेको छ। बिहीबार घरेलु मैदानमा भएको खेलमा दिल्ली सनराइजर्स हैदरावादसँग ५ विकेटले पराजित भएको हो।
लगातार तेस्रो जितपछि हैदरावाद अंकतालिकामा पहिलो स्थानमा उक्लेको छ। पहिलो खेलमा कोलकता नाइट राइडर्ससँग पराजित भएको हैदरावादले त्यसयता राजस्थान रोएल्स, रोएल च्यालेन्जर्स बैँगलोर र दिल्लीलाई पराजित गरेको हो।
चार खेलपछि पञ्जाव र चेन्नाई समान ६ अंक जोडेको हैदरावादले रनरेटमा दुई टिमलाई पछि पारेको हो।
घरेलु मैदान फिरोज शाह कोत्ला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२९ रन बनाएको थियो। दिल्लीका लागि कप्तान श्रेयास अयेरले सर्वाधिक ४३ रन बनाए भने अक्सर पटेलले १३ बल खेल्दै १ चौका र २ छक्काको मद्दतमा नटआउट २३ रन बनाए। हैदरावादका भुवनेश्वर कुमार, मोहम्मद नावी र सिद्दार्थ कउलले २-२ विकेट लिए।
जवाफमा १३० रनको लक्ष्य हैदरवादले १८.३ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। हैदावारदका लागि ओपनर डेविड वार्नर र जोनी बेर्स्टोवले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गर्दै गितलो सुरुवात दिलाएका थिए।
बेर्स्टोवले सर्वाधिक ४७ रन बनाए। विजय शंकरले १६ तथा वार्नर मनिस पाण्डे र दिपक हुडढाले समान १० रन बनाए। मोहम्मद नावीले नटआउट १७ रन योगदान गरे।
दिल्लीको लागि पहिलो ओभर नै बलिङ गरेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए। उनले विकेट लिन अन्तिम बलसम्म कुर्नुपरेको थियो। दिल्लीका लागि किफायती बलिङ गरेका राहुल तेवाटियाले ३ ओभरमा १० रन खर्चेर १ विकेट लिए।
यस सिजन पाँच खेल खेलिसकेको दिल्लीले २ जित र तीन हारको नतिजापछि ४ अंक जोडेको छ र अंक तालिकामा पाँचौ स्थानमा छ। समान अंक भएको रनरेटको आधारमा कोलकता नाइट राइडर्स चौथो र मुम्बई इन्डियन्स छैटौँ स्थानमा छ। कोलकताले ३ र मुम्बईले ४ खेल हारेको छ।