Nov 21, 2024 | ६ मंसिर २०८१

अछामबाट 'पक्राउ परेका' दुई आर्मीको निर्मला प्रकरणमा के छ कनेक्सन? (#WhoKilledNirmala शृङ्खला २३ )

पहिलोपोस्ट /पहिलोपोस्ट

  • महेन्द्रनगरबाट फर्किएर उमेश श्रेष्ठ र सविन ढकाल -

स्थलगत रिपोर्टिङका लागि महेन्द्रनगरमा रहँदा अचानक एउटा खबर आयो-  निर्मला प्रकरणमा अछामबाट शंकास्पद दुईजना पक्राउ।
समाचारमा पक्राउ परेका व्यक्तिको बारेमा केही पनि जानकारी थिएन। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनीहरुलाई पक्राउ गरेको दावी समाचारमा थियो। तर प्रहरीले औपचारिक रुपमा यसबारे केही बताएको छैन। 

समाचारमा पक्राउ परेका व्यक्तिहरू गत साउन १० गते घटना भएको बेला कञ्चनपुरमै रहेको र लगत्तै अछाम गएर बसेको दावी गरिएको थियो।

त्यस्तै उनीहरुलाई डिएनए परीक्षण र थप अनुसन्धानका लागि काठमाडौँ ल्याउन लागिएको दावी समाचारमा थियो।

तर हाम्रो समाचार स्रोत भन्छ- उनीहरु काठमाडौँ हैन, अछामै फर्किसकेका छन्। 

ट्विस्ट अनि फण्डा

निर्मला हत्या प्रकरणमा अपराधी पक्रनै लागेको, रहस्य खुल्न लागेको फण्डा गरिएको यो पहिलो पटक हैन। कयौँ पटक यस्ता ‘दावीकारिता’ भएका छन् जसको परिणाम अन्ततः हात्ती आयो फुस्सामा सीमित हुने गरेको छ। 

प्रकरणलाई सूक्ष्म रुपमा अध्ययन गर्ने हो भने जब-जब यो प्रकरणमा अलिकति ट्विस्ट आउँछ, यस्ता फण्डा फ्याँक्ने गरिएको बुझ्न गाह्रो हुन्न। 
गत मंसिरमा जब 'सरकार भेटियो, न्याय भेटिएन' नारा लेखिएका पोस्टर टाँस्ने र त्यसलाई प्रहरीले च्यात्ने क्रम चलेको थियो, त्यतिबेला प्रदीप रावल र विशाल चौधरीले बलात्कार गरेको साबिती बयान दिएको खबर प्रहरीको उच्च तहबाटै मिडियामा लिक गराइएको थियो। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफै उपस्थित भएर उनीहरुको बयान लिएको प्रचार गराइएको थियो। 

घटना भएको दिन अन्यत्रै रहेको दावी मिडियामा छरपष्ट हुँदै गर्दा अन्ततः डिएनए नमिलेको भनी उनीहरुलाई रिहा गरियो। 

यस पटक जब घटनाको अनुसन्धानमा संलग्न आठ प्रहरीविरुद्ध अदालतमा मुद्दा चलिरहेको थियो र निर्मलाकी आमाको फरक बयानले घटनामा ट्विस्ट ल्याइरहेको थियो, फेरि प्रचार भयो- शंकास्पद दुई जना अछामबाट पक्राउ परे। 

हामीले पाएको जानकारी अनुसार ती दुई जना बृहत् अनुसन्धानका क्रममा सोधपूछ गरिएका सयौँ पात्रमध्येकै हुन्।

उनीहरु किन अनुसन्धानको घेरामा परे त?

'क्लु'को खोजी

यसका लागि प्रहरीले गर्ने प्राविधिक अनुसन्धानको पाटोमा प्रवेश गर्नुपर्ने हुन्छ। प्राविधिक अनुसन्धानको एउटा महत्त्वपूर्ण पाटो मोबाइल विश्लेषण हो। 

त्यो लाश भेटिएको ठाउँ वरपर एक्टिभ देखिएका मोबाइल नम्बरहरुको विश्लेषणले महत्त्वपूर्ण क्लु दिनसक्छ। 

तर यो केसमा प्रहरीलाई अप्ठेरो पर्‍यो। किनभने न पीडित निर्मलाले मोबाइल बोक्थिन्, न प्रहरीले अभियुक्त भनी खडा गरेको पात्र दिलिपसिंह विष्टले।

त्यसो भए पनि घटनास्थलमा एक्टिभ देखिएका मोबाइल नम्बरहरुबाट केही त क्लु भेटिएला! 

प्रहरीले त्यो पाटो केलाउन खोज्यो। 

निर्मला बम दिदीबहिनीको घरबाट दिउँसो २ देखि सवा २ बजेको बीचमा निस्किएकी थिइन्। दिउँसो ४ बजेतिर घना भण्डारी नामकी स्थानीय महिलाले निर्मलाको साइकल खोला किनारमा देखेकी थिइन्। 

यही आधारमा दिउँसो २ बजेदेखि ४ बजेसम्म त्यो क्षेत्रमा एक्टिभ सबै मोबाइल नम्बरहरु अनुसन्धानको घेरामा आए। 

प्रत्येक मोबाइल सेट बेस ट्रान्सिभर स्टेसन (बिटिएस) टावरसँग तारविहीन रुपमा जोडिएका हुन्छन्। बिटिएसले कभर गर्ने ठाउँहरु विभिन्न हुन्छन्। जसरी कुनै मोबाइल प्रयोगकर्ताको नम्बर छुट्टाछुट्टै हुन्छ त्यसैगरी बिटिएसले कभर गर्ने ठाउँको आइडी नम्बर पनि छुट्टाछुट्टै हुन्छ।

यसमा ठूलो एरिया छुट्याउने गरी लोकेसन एरिया कोड (एलएसी) हुन्छ भने त्यो एरियाभित्रको पनि निश्चित केही ठाउँ कभर हुने गरी सेल आइडी (सिआइडी) छुट्याइएको हुन्छ। सेल आइडीले सामान्यतया ५ सय मिटर जतिको क्षेत्रफललाई कभर गर्ने मानिन्छ। 

निर्मलाको लाश भेटिएको ठाउँको सेल आइडीमा घटना भएको अनुमान गरिएको दुई घण्टाको अवधिमा बिटिएस टावरमा कति वटा मोबाइल नम्बरहरु ठोक्किए त? ती सब अनुसन्धानको घेरामा आए। 

त्यो ठाउँमा नेपाल टेलिकम र एनसेलका टुजी र थ्रीजी मोबाइल चल्ने गर्छन्। टुजी र थ्रीजीको अलग अलग सेल आइडी हुने गर्छ। त्यसैले कूल चार वटा सेल आइडीमा ठोक्किएका मोबाइल नम्बरहरु अनुसन्धानका लागि मगाइयो।

यसो गर्दा एनसेलका करिब ८ हजार २ सय वटा र नेपाल टेलिकमका करिब १ हजार ९ सय वटा नम्बरको तथ्याङ्क आएको घटनाको प्राविधिक विश्लेषणमा खटिएका विज्ञले पहिलोपोस्टलाई बताए।

ती नम्बरहरुको युजर आइडी, कल डिटेल रेकर्ड (सिडिआर), कल वाइज लोकेसन मगाएर विश्लेषण गर्दा कुन चाहिँ शंकास्पद देखिन्छ, त्यसमाथि अनुसन्धान गरिएको थियो।

एसपी दिल्लीराज विष्टका छोरा किरण विष्टसित जोडेर ओपेरा होटलमा घटना भएको जुन हल्ला चलाइयो, त्यो गलत रहेको थाहा पाउन डिएनए परीक्षणसम्म जानु पर्ने जरुरी नै थिएन, कल डिटेल रेकर्ड र कल वाइज लोकेसनबाटै प्रष्ट हुन्थ्यो।

घटना भएको दिन करिब सवा १२ बजेतिर मोडल ऐश्वर्या विष्टलाई लिन किरण गएको, मोटरसाइकलमा धनगढीबाट महेन्द्रनगरको ओपेरा होटेल पुग्दा करिब २ बजेको,  करिब सवा ५ बजेसम्म फोटोसुट गरेपछि किरणले ऐश्वर्यालाई धनगढी लगेर छोडेको ऐश्वर्या र किरण दुवैले बताएका थिए।

प्रहरीले अनुसन्धानका क्रममा कल डिटेल निकाल्दा किरणको ९८१२…२६ मोबाइलबाट शिशिरलाई र ९८६५…६८ बाट ऐश्वर्यालाई फोन गरेको र उनले बयानमा भनेकै ठाउँमा कल लोकेसन ट्रेस भएको समेत भेटेको थियो। प्रहरी किरण घटनामा संलग्न नभएकोमा प्रष्ट थियो तर भिडको माग अनुसार घटनाको अनुसन्धान गरिरहेका बाबु एसपी दिल्लीराज विष्टसँगै छोराको पनि डिएनए परीक्षण गर्न बाध्य पारियो।  (थप विवरण को थिए ती तीन युवती जो एसपीका छोरासँगै होटल ओपेरामा देखिए?)

१० हजार नम्बरको जालो

अछामबाट पक्राउ परेका भनिएका ती दुई व्यक्ति यही १० हजार मोबाइल नम्बरहरुको प्राविधिक विश्लेषणकै उपज हुन्। 

सेनासँग आवद्ध उनीहरुको मोबाइल घटना भएको दिन, घटना भएको अनुमान गरिएको समयमा घटनास्थलका सेल आइडीमा एक्टिभ भएको देखिएको थियो। 

तर घटनाको केही दिनपछि ती नम्बरहरु महेन्द्रनगरमा हैन, अछाममा एक्टिभ देखिए।

प्राविधिक विश्लेषणको त्यो झिनो लिङ्ककै आधारमा उनीहरुलाई अनुसन्धान गरिरहेको पछिल्लो टोलीले सोधपूछका लागि बोलाएका मात्र थिए, मिडियामा अपराधी नै पक्राउ परे सरहको हौवा मच्चाइयो।

खासमा ती मोबाइलहरु दुई सैनिकका रहेछन्, अहिले अछाममा रहेका। प्रहरीको अनुसन्धान टोलीको आग्रहमा नेपाल प्रहरीले सेनालाई पत्र काटेर महेन्द्रनगरमा उनीहरुलाई बोलाइयो। 

उनीहरुले महेन्द्रनगरमा आएर रगतको नमूना दिए र फर्किए। साउन १० गते घटना भएको बेला उनीहरु कञ्चनपुरमा ट्रेनिङका लागि आएका रहेछन्। ट्रेनिङ सकिएपछि उनीहरु स्वभाविक रुपमा आफ्नो 'बेस' अछाममा फर्किएका थिए। 

उनीहरुको रगतको नमूना डिएनए परीक्षणका लागि पठाइएको छ। 

मिले पनि ठहर नहुने डिएनए परीक्षण

निर्मलाको भेजिनल स्वाबबाट प्रहरीले आफ्नो ल्याबमा डिएनए परीक्षण गर्ने क्रममा वंश पहिचान गर्ने वाई एसटिआर विधिबाट मात्र परीक्षण गरेको थियो। व्यक्ति पहिचान गर्ने अटोजोमल विधिबाट परीक्षण नगरिएको भन्दै डिएनए परीक्षण गर्नेलाई नै अनुसन्धानको घेरामा ल्याउन संवैधानिक निकाय नेपाल मानवअधिकार आयोगले गठन गरेको विज्ञ सम्मिलित टोलीले प्रतिवेदन दिइसकेको छ।

फरेन्सिक एक्सपर्ट जीवन रिजाल हाल मान्छे समात्दै गराइँदै गरेको डिएनए परीक्षणमा वाई एसटिआरका सबै १६ वटा एलिल मिले पनि उही अभियुक्त हो भनी किटान गर्न नसकिने बताउँछन्। किनभने भेजिनल स्वाबमा भेटिएको पुरुष वीर्यलाई छुट्याएर व्यक्ति पहिचान गर्ने अटोजोमल विधिबाट डिएनए प्रोफाइलिङ गरिएकै छैन। 

प्रहरीको ल्याबले अटोजोमल विधिबाट परीक्षण त गरेको छ तर त्यसमा बलात्कारीको डिएनए नै भेटिएको छैन। थप जानकारी

प्राविधिक विश्लेषणमा अलमलिएको अनुसन्धान

प्रहरीको अनुसन्धान अझै पनि मोबाइलको प्राविधिक विश्लेषणबाट सुरु भएर डिएनए परीक्षणमा टुङ्गिने गोलचक्करमा घुमेको घुम्यै छ। 
कति त डिएनए परीक्षणमा नपुग्दै फेल खान्छन्। 

उदाहरणका लागि घटना भएको दिन र अनुमानित समयमा सेल आइडीमा ठोक्किएको एउटा मोबाइल नम्बर भोलिपल्ट दार्चुलामा सक्रिय भेटियो। 

तर अनुसन्धानपछि थाहा भयो, ती त यार्सागुम्बा व्यापारी पो रहेछन्। 

सिआईबीको पछिल्लो अनुसन्धान टोलीले कोइरी थरकी एक युवतीको मोबाइल पनि सोही सेल आइडीमा दिउँसो २ बजेर २५ मिनेटमा सक्रिय भएको भेट्यो। 

त्यसैगरी कोइरी थरकै अर्का युवकको पनि मोबाइल २ बजेर २७ मिनेटमा सक्रिय भेटियो। 

युवकले भने, कोइरी थरकी युवती निर्मलाको साइकल भेटिएको ठाउँ नजिकै मोबाइलमा चलाउँदै जाँदै गरेकी देखेको हुँ। 

प्रहरीले सोधपूछ गर्दा ती युवतीले आफू दही लिन गएको बताइन्। दही किन्ने ठाउँ बम दिदीबहिनीको घर नजिकैको चोकमा पर्छ। त्यति नजिकै भए पनि ती युवती पौने ५ बजेसम्म घर फर्किएकी हुन्नन्। सवा २ बजेदेखि ५ बजेसम्म ती युवती कता थिइन्?

निर्मला बम दिदीबहिनीको घरबाट फर्किएको अवस्थामा उनले केही देखेकी पो थिइन् कि।  

तर अनुसन्धानले यो कुरो पत्ता लगाउन सकेन।

बरु अर्को एउटा कुरा पत्ता लाग्यो- ती युवतीको मानसिक स्थिति नर्मल भेटिएन। कुरा फेरिरहन्थिन्।

अहिले ती युवती भारतको बंगलौरमा छिन्।

'प्राविधिक अनुसन्धानबाट सम्भव छैन'

घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) काठमाडौँबाट खटिएर साउन १३ गते कञ्चनपुर पुगेका डिएसपी अंगुर जिसी टेक्निकल इन्भेस्टिगेसनबाट यो केसको इन्भेस्टिगेसन सम्भव नभएको निचोड सुनाउँछन्।

घटनाको प्राविधिक विश्लेषणमा खटिएकाहरु पनि टेक्निकल इन्भेस्टिगेसनको अप्ठेरो पाटो उदाहरणसहित बताउँछन्।

निर्मलाको साइकल भेटिएको खोला वारीको सडकसँगैको ठाउँ र निर्मलाको शव भेटिएको त्यतिबेला उखुबारी रहेको ठाउँका सेल आइडी फरक छन्।   

सिआईबीको सुरुको टोलीले अनुसन्धान गर्ने क्रममा शव भेटिएको ठाउँको सेल आइडीमा एक्टिभ रहेका मोबाइल नम्बरवाहकहरुलाई सोधपूछ गर्न थाल्यो। 

यस क्रममा केही व्यक्तिहरुले दिएको बयानले टोली अलमलियो। उनीहरुको मोबाइल लाश भेटिएको ठाउँमा त्यो समयमा एक्टिभ देखिएको थियो। तर सोधपूछका क्रममा उनीहरुले ‘होइन, म त्यहाँ छँदै थिइनँ, अर्कै ठाउँमा थिएँ’ भन्ने।

एक जनाले मात्र हैन, धेरैले त्यसो भन्न थालेपछि एक जनालाई त अनुसन्धान टोलीले 'कहाँ हुनुहुन्थ्यो, लौ देखाउनुस्' भनेर अत्यायो। 

उसले निर्मलाको लाश भेटिएको ठाउँभन्दा करिब दुई किलोमिटर पर भीमदत्त नगरपालिका वडा नम्बर १४ र १६ मा पर्ने नयाँ कटान गाउँमा लग्यो। 

अनुसन्धान टोली तीनछक्क पर्‍यो, त्यो ठाउँको सेल आइडी पनि उही थियो। नयाँ कटान र वडा नम्बर १९ को निर्मलाको लाश भेटिएको तत्कालीन उखुबारीको सेल आइडी एउटै थियो। सामान्यतया यस्तो हुँदैन। तर टावरहरुको उपस्थिति र घनत्वका कारण यस्तो हुन पनि सक्छ।काठमाडौँमा त २५-३० पाइलाको दूरीमा समेत फरक सेल आइडी देखिन सक्छ। 

लाश भेटिएको ठाउँ र दुई किलोमिटर परको गाउँको एउटै सेल आइडी देखिएर पनि अनुसन्धान प्रभावित भयो।

हाल निलम्बित डिएसपी जिसीको टिमले दिलिपसिंह विष्टलाई अभियुक्तका रुपमा प्रस्तुत गरेको थियो। जिसी अझै दिलिपले नै यो घटना गराएको ठोकुवा गर्छन्।

त्यतिबेला भीडको बोलीले अनुसन्धानमा मात्र हैन, डिएनए परीक्षण, छानबिन समितिको प्रतिवेदन, सरकारको दृष्टिकोण, प्रहरीको मनोबलमा समेत असर पारेको जिकिर गर्छन्। 

‘भिड कै कारण सही अनुसन्धानलाई समेत गलत बनाइयो,' उनको दावी छ। 

‘अनुसन्धान कसरी गरियो? अनुसन्धानमा खटिने प्रहरी अधिकृतको पृष्ठभूमि कस्तो थियो? किन र केको आधारमा अनुसन्धान अधिकारीले दिलिप नै दोषी हो भनेर ठोकुवा गर्‍यो भन्ने विश्लेषण न प्रहरी नेतृत्वले गर्‍यो, न सरकारले। खाली भिड र बिना तथ्य ‘रे’ का भरमा आएका अफवाहको पछि सबै लागे, जसले यो केस अन्तै मोडियो’, उनी भन्छन्।

प्राविधिक पाटोहरुले फेल खाइरहँदा आयोगको विज्ञ टोलीले अनुसन्धानका लागि सुझाएको बाटो थियो-  ह्युमन इन्टेलिजेन्स।

कञ्चनपुर जिल्लाको कमाण्ड सम्हाल्न अहिले नयाँ एसपी आएका छन्, दिनेश आचार्य। 

महेन्द्रनगरको स्थिति पनि अहिले पहिले जस्तो एकोहोरो छैन। 

के भइरहेको छ त अहिले?

उनले पहिलोपोस्टलाई प्रतिक्रिया दिए - अहिलेको अवस्थामा अनुसन्धानका लागि कुनै असहज परिस्थिति छैन। सबै कोणबाट अनुसन्धान हुँदैछ।

कञ्चनपुरमा महेन्द्र बमको सहयोगमा

#WhoKilledNirmala शृङ्खला  

विगत : निर्मला प्रकरणले सम्झाएको त्यो हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि
शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर 
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट  
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन 
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' 
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु 
शृङ्खला १२: निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए? 
शृङ्खला १३: निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा 
शृङ्खला १४: Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, 'प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन' 
शृङ्खला १५ : चोरीका आरोपीलाई बलात्कारको 'दोष' : पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च? 
शृङ्खला १६ : निर्मला प्रकरणमा युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै 
शृङ्खला १७ : विश्वकै टप डिएनए एक्सपर्ट के भन्छन् निर्मला प्रकरणमा? यस्तो छ उनको सुझाव
शृङ्खला १८ : को थिए ती तीन युवती जो एसपीका छोरासँगै होटल ओपेरामा देखिए?

शृङ्खला १९ : प्रहरीले गोप्य राखेको निर्मलाको त्यो 'अटोजोमल एसटिआर रिपोर्ट' जसमा बलात्कारीको डिएनए देखिएन

शृङ्खला २० : जब निर्मलाको हत्यामा 'क्लु' खोजिरहेको प्रहरीसामु आफै 'क्लु' आइपुग्यो

शृङ्खला २१ : बरु एक्लै रुन सजिलो : निर्मलाकी आमा

शृङ्खला २२ : 'स्पाइरल अफ साइलेन्स' चिरिएको महेन्द्रनगर : आखिर कसले गर्‍यो निर्मलाको हत्या?

 थप समाचार

 



ट्रेन्डिङ पोस्ट

Ncell