
युवा स्टार मोइस केनले खेल सकिन ६ मिनेट अगाडि निर्णायक गोल गरेपछि इटालियन सिरी ए मा लिग लिडर युभेन्ट्सले एसी मिलानमाथि पुनरागमन जित हात पारेको छ।
मिलानलाई २-१ ले पराजित गरेपछि लिग लिडर युभेन्ट्स अब उपाधि जित्नबाट ३ अंक मात्र टाढा छ।
आइतबार हुने खेलमा दोस्रो स्थानको नापोली जेनेओसँग पराजित भएमा युभेन्ट्सले ७ खेल अगावै लिगको उपाधि जित्नेछ।
युभेन्ट्सको घरेलु मैदान टुरिनमा भएको खेलमा क्रिस्टोफ पिएटेकले ३९औँ मिनेटमा गोल गर्दै मिलानलाई पहिले अग्रता दिलाएका थिए।
पहिलो हाफमा एक गोलले पछि परेपनि युभेन्ट्सले दोस्रो हाफमा पुनरागमन गर्यो। ६०औँ मिनेटमा पाउलो डिबलाले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे।
६६औँ मिनेटमा डिबलालकै स्थानमा मैदान प्रवेश गरेका मोइस केनले ८४औँ मिनेटमा गोल गर्दै युभेन्ट्सलाई ३ अंक दिलाएका हुन्।
जितपछि युभेन्ट्सको ३१ खेलबाट ८४ अंक भएको छ। एक खेल कम खेलेको नापोली ६३ अंकसहित दोस्रो स्थानमा छ।