PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

यू-१६ अन्तर स्कुल राष्ट्रिय क्रिकेट लिगको उपाधि प्रदेश ३ लाई

यू-१६ अन्तर स्कुल राष्ट्रिय क्रिकेट लिगको उपाधि प्रदेश ३ लाई

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : यू-१६ अन्तरस्कुल राष्ट्रिय क्रिकेट लिगको उपाधि प्रदेश नम्बर ३ ले जितेको छ। सोमबार भएको फाइलनमा प्रदेश नम्बर ५ लाई ३३ रनले हराउँदै प्रदेश ३ च्याम्पियन बनेको हो।

त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश ३ ले अभिषेक उपाध्यायको अर्धशतकको मद्दतमा निर्धारित ३० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो। जवाफमा प्रदेश ५ ले ३० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो।

च्याम्पियन प्रदेश ३ ले एक लाख ५० हजार बराबरको क्रिकेट किट हात पार्‍यो। यस्तै उपबिजेता प्रदेश ५ ले ७५ हजार बराबरको क्रिकेट किट पायो। प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रदेश ५ का बिशाल बिक्रम केसी घोषित भए।

यस्तै प्रदेश ३ का आइस भट्टराई उत्कृष्ट ब्याट्स्म्यान र प्रदेश ५ का रमेश कुर्मी उत्कृष्ट बलर घोषित भए। प्रदेश ४ का अर्जुन कुमालले इमर्जिङ्ग प्लेयरको अवार्ड पाए। 

प्रदेश ३ ले ३७ रन बनाउँदा तीन विकेट गुमाएको थियो। अभिषेकले चौथो विकेटका लागि कप्तान दिपकसँग ५८ रनको साझेदारी गर्दै टिमलाई सम्हालेका थिए। दुई चौका प्रहार गरेका अभिषेकले ७१ बलमा ५६ रन बनाए।

दिपक र प्रशान्तले त्यसपछि पाचौं विकेटका लागि ५५ रनको महत्वपूर्ण साझेदारी गर्दै टिमलाई सम्मानजनक स्कोरतर्फ डोहोर्‍याएका थिए। प्रशान्तले ३२ बलमा एक चौका र एक छक्का प्रहार गर्दै नटआउट ३४ रन बनाए। दिपकले ३९ बलमा चार चौका प्रहार गर्दै ३० रन बनाए। रमेश र सुरज खड्काले प्रदेश ५ का लागि २-२ विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा प्रदेश ५ ले ३१ रनमै तीन विकेट गुमाएको थियो। बिशालले उत्कृष्ट इनिङ्स खेल्दै अमर मिश्रसँग चौथो विकेटका लागि ६१ रनको साझेदारी गर्दै टिमलाई खेलमा फर्काएका थिए।

तर कृस कार्कीको बलमा बिशाल आउट भएपछि प्रदेश ५ को इनिङ्स लगभग समाप्त भएको थियो। बिशालले ४६ बलमा ६ चौका प्रहार गर्दै ४४ रन बनाए भने अमरले २९ रन बनाउदै दुई चौका र एक छक्का प्रहार गरेका थिए। उनले ४४ बल खेलेका थिए।

प्रदेश ३ का लागि बिबेक दराई र दिपक बोहोराले २-२ विकेट हात पारे। यस्तै सकृय कार्की र तिलक भण्डारीले पनि १-१ विकेट लिएका थिए।

युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको यस प्रतियोगिताबाट आगामी अप्रिल १८ देखि २९ सम्म थाइल्याण्डको चियाङ्गमाइमा हुने एसीसी यू-१६ इस्टर्न रिजन टुर्नामेन्टको लागि प्रारम्भिक खेलाडी छनोट गरिनेछ। नेपाली टोलीको प्रशिक्षकको रुपमा बसन्त शाही ठकुरी र मन्जुर आलम खान रहेका छन्।

 

च्याम्पियन प्रदेश ३ टिम
उपविजेता प्रदेश ५ टिम
बेस्ट ब्याट्सम्यान आशिष भट्टराई
बेस्ट बलर रमेश कुर्मी
राइजिङ प्लेअर अर्जुन कुमाल
म्यान अफ दि सिरिज विशाल विक्रम केसी
उत्कृष्ट खेलाडीहरु


ट्रेन्डिङ पोस्ट

Ncell