काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवम् प्रतिनिधिसभाका सांसद राजेन्द्र लिङ्देनसँग ५० लाख रुपैयाँ फिरौतीको माग र मार्ने धम्कीको राजनीतिक कनेक्सन हुनसक्ने पार्टी अध्यक्ष कमल थापाले जनाएका छन्।
केही दिन अघि फोन र एसएमएसमार्फत् लिङ्देनसँग रकम माग गरिएको थियो। रकम नदिए उनलाई घरबाट बाहिर निस्किनासाथ मार्ने धम्की दिइएको थियो। प्रहरीले धम्क्याउने तिलकदाश पराजुलीलाई पक्राउ गरिसकेको छ। प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएपछिमात्रै लिङ्देनले धम्की आएको सार्वजनिक गरेका थिए।
राप्रपा अध्यक्ष थापाले आज साँझ ट्विट गर्दै घटनाको छानविनको माग गरेका हुन्। ज्यान मार्ने धम्कीसहितको फिरौती मागको घटनालाई राप्रपाले गम्भीर रुपमा लिएको भन्दै थापाले फिरौती मागको सन्दर्भ पैसासँगमात्र नरहेको उल्लेख गरेका छन्। उनले राजनीतिक र अन्य कारण पनि धम्की र फिरौती आएको हुनसक्ने तर्क गरेका छन्।
राप्रपाका महामन्त्री सांसद राजेन्द्र लिङदेनलाई ज्यानमार्ने धम्की सहित फिरौती मागको घटनालाई राप्रपाले अत्यन्त गंभीर रुपमा लिएको छ।फिरौती मागको सन्दर्भ पैसासंग मात्र सम्बन्धित नरहेर राजनीतिक र अन्य कारण पनि हुन सक्छन्।त्यसवारे छानविन गर्न र दोषीलाई कारबाहीगर्न सरकारसँग माग गर्दछु
— Kamal Thapa (@KTnepal) April 9, 2019
थापाले त्यसबारे छानविन गर्न र दोषीलाई कारवाही गर्न सरकारसँग मागसमेत गरेका छन्।
राप्रपाले हिन्दु राष्ट्र घोषणाको मागसहित आन्दोलनका कार्यक्रम अघि सारेको छ। मेची महाकाली यात्रा पूरा गरेको राप्रपाको हिजोमात्र राजधानीमा प्रदर्शनी थियो। प्रदर्शनीमा प्रहरीले लाठी चार्ज गरेको थियो।