PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

८ पटकसम्म फोनबाटै सांसद लिङ्देन मार्ने धम्की, समातिएका व्यक्ति म्यानपावर एजेन्ट



सविन ढकाल

८ पटकसम्म फोनबाटै सांसद लिङ्देन मार्ने धम्की, समातिएका व्यक्ति म्यानपावर एजेन्ट

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री तथा झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद राजेन्द्र लिङ्देनलाई फोन मार्फत् फिरौती तथा मार्ने धम्की दिनेलाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ।

झापाका तिलकदास पराजुलीलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन अन्तर्गत मंगलवार जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

पराजुलीलाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले काठमाडौंको सामाखुसीबाट नियन्त्रणमा लिएको हो। पराजुलीले एनसेलको नम्बरबाट केही साता अगाडि सांसद लिङ्देनलाई ५० लाख रुपैयाँ दिन र रकम नदिए मार्ने धम्की दिएका थिए। प्रहरीले पराजुलीको कनेक्सन अरुसँग पनि जोडिएको हुनसक्ने भन्दै अनुसन्धानलाई  फराकिलो बनाएको छ।

'मसँग त्यति पैसा हुने कुरै भएन,' लिङ्देनले पहिलोपोस्टसँग भनेका थिए, 'सांसदलाई नै धम्की दिने हिम्मत सानोतिनोको त नहोला। यत्रो ठूलो रिस्क मोल्नेको पक्कै ठूलो कनेक्सन हुनुपर्छ।' 

नियन्त्रणमा लिइएका पराजुलीले सांसद लिङ्देनमात्र होइन, अन्य व्यक्तिहरुलाई पनि धम्क्याउँदै रकम असुल्ने प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा नै देखिएको छ। अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, 'यसअघि पनि विभिन्न व्यक्तिलाई धम्की दिने गरेको देखिएको छ। हामी अनुसन्धान गरिरहेका छौं।'

पक्राउ परेका पराजुली म्यानपावरमा एजेन्टका रुपमा काम गर्दै आएका थिए। उनले सांसद लिङदेनलाई ८ पटकभन्दा बढी फोन गरेर रकम नदिए मार्ने धम्की दिएको अनुसन्धानमा खुलेको छ।

झापा घर भएका उनी केही समय सांसद लिङ्देनको राजनीतिक कार्यक्रमहरुमा 'कार्यकर्ता' बनेर गएको अनुसन्धानमा खुलेको छ। पराजुलीले बयानमा भनेका छन्, 'उहाँको कति कार्यक्रममा पनि सहभागी भएको थिएँ। त्यसपछि नै फिरौतीको योजना बन्यो।'

राप्रपाका अध्यक्ष कमल थापाले घटनामा राजनीतिक कनेक्सन हुनसक्ने भन्दै मंगलबार साँझ सरकारसँग घटनाको छानविन र दोषीमाथि कारवाही हुनुपर्ने जनाउँदै ट्विट गरेका छन्।

सम्बन्धित समाचार :

सांसद लिङ्देनसँग फिरौती र मार्ने धम्कीको राजनीतिक कनेक्सन : कमल थापा

सांसदसँग ५० लाख रुपैयाँ फिरौतीको माग, नदिए घरबाट निस्किनासाथ मार्ने धम्की!

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell