PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भक्तपुरमा बिस्का सुरु,ग:हिटी पुुर्‍याउने क्रममा बिग्रियो भैरवनाथको रथ

भक्तपुरमा बिस्का सुरु,ग:हिटी पुुर्‍याउने क्रममा बिग्रियो भैरवनाथको रथ

पहिलोपोस्ट /पहिलोपोस्ट


भक्तपुर : भक्तपुरको प्रसिद्ध बिस्का जात्रा बुधबारदेखि सुरु भएको छ।

आठ रात नौ दिनसम्म मनाइने यो जात्रामा आज भैरवनाथ मन्दिरमा रहेको भैरवनाथको मूर्ति र वेताल देवतालाई पाँचतले मन्दिर प्राङगणमा प्यागोडा शैलीमा बनाइएको  तीन तल्ले भैल ख:( भैरवनाथको रथ) मा स्थापना गरी जात्रा गरिएको हो। भैरवनाथको मूर्ति मन्दिर माथिबाट तल ल्याइ जात्रा गरिने भएकोले आज पहिलो दिनलाई 'द्य: क्वहाँ बिज्याइगु' भन्ने गरिन्छ। सो क्रममा भैरवनाथ र उनकी श्रीमती भद्रकालीको रथ जुधाइएको थियो।

पहिलो दिन भैरवनाथको रथलाई थ:ने (माथिल्लो टोल) र क्व: ने (तल्लो टोल) मा लग्ने प्रयास हुन्छ। जुन टोलले रथ तानेर आफ्नो टोलमा लग्न सफल भएपनि अन्तिममा ग: हिटीमा पुर्‍याएर आजको रथ जात्रा समापन हुन्छ। यसपटक भने माथिल्लो टोलमा रथ तानेर ग:हिटीमा पुर्‍याउने प्रयास भइरहेको छ। रथलाई दत्तात्रय हुँदै ग:हिटी पुर्‍याउने क्रममा रथ बिग्रिएको छ। यद्यपि रथ तान्ने कार्य भने रोकिएको छैन।

भैरवनाथको रथमा गुठी नाइके, पूजारी, चौगुठीलगायत तोकिएका व्यक्तिहरूबाहेक अन्य व्यक्तिहरू अनाधिकृत रुपमा नचढ्न, जात्रा स्थलमा मादक पदार्थ सेवन गरी अभद्र व्यवहार नगर्न र शान्तिपूर्ण रुपमा जात्रा सम्पन्न गर्न भक्तपुर नगरपालिकाले अपिल गरेको थियो। विगतका वर्षहरुमा रथमा अत्याधिक मानिस चढ्दा मानवीय क्षति हुँदै आएको छ। तर यसपटक पनि रथमा आवश्यकभन्दा बढी मानिस बसेका थिए।

वर्षको अन्तिम दिन (चैत्र ३०) बेलुकी ल्योसिङखलमा यःसिं (लिङ्गो) उठाइन्छ भने वैशाख १ गते ढालिन्छ। चित्तपोलस्थित य:सिं गुं भन्ने स्थानबाट ल्योसिङखलमा दुई नयाँ यःसिंहरु ल्याएर राखिएको छ। केही कारणले एउटा यःसिं ढलेमा, भाँचिएमा त्यसको व्यवस्थापन गर्न अर्को यःसिं ल्याउने परम्परा रहेको छ।

यसबाहेक पनि भक्तपुरभर बिस्काका अवधिमा अरु विभिन्न महत्वपूर्ण जात्राहरु हुन्छन्। वर्षको अन्तिम दिन नै पोटरी स्कवायरस्थित बोलाछेंमा बिहानै हात नभएको यःसिं ठड्याउने गरिन्छ। यो यःसिं भने बिस्काको अन्तिम दिनमात्रै ढालिन्छ।बिस्का अवधिभर भक्तपुरमा रहेका अष्टमात्रिका, गणेश र भैरवका मन्दिरहरु रहेको स्थानमा छुट्टा छुट्टै जात्राहरु हुन्छन्।

जात्राको अन्तिम दिन (वैशाख ५) भैरवनाथको रथलाई टौमडी पुर्‍याइ मन्दिरमा लगेपछि बिस्का समापन हुन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell