खार्तुम: सुडानी सेनाले बिहीबार राष्ट्रपति ओमर अल बसिरलाई पदच्यूत गरी पक्राउ गर्यो।
बसिरको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले सेनाको कदमको समर्थन गरे। खुसीयाली मनाए।
कु गर्दै सेनाले दुई वर्षका लागि सैन्य परिषद्ले सरकार सञ्चालन गर्ने घोषणा गर्दै कर्फ्यु लगायो।
सेनाले कर्फ्यू लगाउँदै सैन्य परिषद् बनाएर आफैं सरकार सञ्चालन गर्ने भनेपछि प्रदर्शनकारीहरूले सैन्य परिषद् बसारको सत्ताको हिस्सा रहेको भन्दै उक्त परिषद् विघटन गर्दै सत्ता जनतालाई सुम्पन माग गरेका छन्।
सुडानमा सरकारले पाउरोटी र इन्धनको मूल्य बढाएकोप्रति असन्तुष्टि जनाउँदै गत डिसेम्बरबाट प्रदर्शन सुरु भएको थियो। प्रदर्शन चर्किँदै गएपछि उनीहरूले राष्ट्रपति बसिरको राजीनामा माग गर्दै आएका थिए।
गत आइतबार प्रदर्शनकारीहरूले खार्तुम शहरमा राष्ट्रपति निवास नजिकै रहेको सुडानी सेनाको मुख्यालय अगाडि प्रदर्शन गरेका थिए।
उनीहरूले सेनालाई बसिरलाई हटाउन सहयोग गर्न माग गरेका थिए। उनीहरूले राष्ट्रपतिविरुद्ध नारा लगाउँदै सेनालाई हस्तक्षेप गर्न माग गर्दै कि 'जनता वा निरंकुश शासक'को पक्ष लिन भनेका थिए।
सेनाले आफ्नै मुख्यालय अगाडि प्रदर्शन हुँदा पनि प्रदशर्नकारीहरुको आन्दोलनमा हस्तक्षेप गरेको थिएन। सेनाले प्रहरीले प्रहार गरेको अश्रुग्यासबाट प्रदर्शनकारीहरुलाई बचाउन भूमिका खेलेको थियो।
पूर्वराष्ट्रपति जाफर निमेरीको सत्ताबाट हटाउन सैन्य कू गरेको वार्षिकोत्सवको अवसरमा मुख्यालय बाहिर प्रदर्शन गरेका थिए।
प्रदर्शन बढ्दै गएपछि सेनाले बसिरलाई पदच्यूत गरेको हो।
तर, सेनाले नै दुई वर्षसम्म सरकार चलाउने घोषणा गरेपछि सेनाको कदमको विरोध भएको हो।
कर्फ्यू तोड्दै सडकमा आन्दोलन गरिरहेका प्रदर्शनकारी र सेनाबीच हिंसाट्टमक झडप हुन सक्ने अवस्था सिर्जना भएको छ। सेना र राज्य मिलिसियाबीच एकआपसमै द्वन्द्व हुन सक्नेतर्फ सचेत गराइएको छ।
आन्दोलनका क्रममा अहिलेसम्म ३५ जनाभन्दा धेरैको मृत्यु भएको सुडानी अधिकारीहरुले बताएका छन्।
अमेरिकाले दुई वर्षसम्म देशलाई सैन्य परिषद्ले चलाउन दिएको समय धेरै भएको भन्दै जनतालाई सत्तामा ल्याउन आग्रह गरेको छ।
यस्तै, अफ्रिकी युनियनले सुडानको समस्या हल गर्ने उचित माध्यम कु नभएको भन्दै सबै पक्ष मिलेर सुडानमा देखिएको सङ्कट सुल्झाउन आग्रह गरेको छ।
संयुक्त राष्ट्रसंघले पनि सुडान घटनालाई गम्भीरतापूर्वक नियालिरहेको भन्दै सबैलाई संयमित भएर बस्न भनेको छ। राष्ट्रसंघले सुडानका लागि आपत्कालीन राहतस्वरूप २६.५ मिलियन दिने निर्णय समेत गरेको छ।
अपदस्त गरिएका बसिरलाई डार्फर क्षेत्रमा सैन्य बल प्रयोग गरी मानवता विरोधी र युद्ध अपराधमा अन्तर्राष्ट्रिय आपराधिक अदालतले दोषी ठहर गर्दै पक्राउ गर्न आदेश दिएको थियो। उनको शासनकालमा सुडानको आर्थिक र सामाजिक अवस्था निकै कमजोर बनेकोमा उनीप्रति असन्तुष्टि बढ्दै गएको थियो। सन् २०१५ मा दक्षिण अफ्रिकाको भ्रमणमा रहेका उनी पक्राउ हुनबाट जोगिएका थिए।
सुडानका अपदस्त राष्ट्रपति बसिरले भने अहिले भइरहेको आन्दोलनबाट सरकार परिवर्तन नहुने दाबी गर्दै आन्दोलनकारीहरूले सरकार परिवर्तन गराउन नसक्ने बताएका थिए।