PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

यू-१९ विश्वकप छनोट : नेपालको फराकिलो जित, युएई र कुवेत पनि विजयी



पहिलोपोस्ट

यू-१९ विश्वकप छनोट : नेपालको फराकिलो जित, युएई र कुवेत पनि विजयी
अलराउण्ड प्रदर्शन गर्दै म्यान अफ म्याच बनेका सवन सर्राफ र ९५ रन बनाएका रोहित पौडेल, फोटो : रमन शिवाकोटी

काठमाडौँ : आजदेखि मलेसियामा सुरु भएको आइसीसी यू-१९ विश्वकप छनोटमा नेपाल, युएई र कुवेतले विजयी सुरुवात गरेका छन्।

नेपालले सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गर्दा युएईले घरेलु टोली मलेसियालाई ५ विकेटले हरायो। यस्तै कुवेतले ओमानलाई ८ विकेटले पराजित गर्‍यो।

जितपछि तीनवटै टोलीले समान २ अंक जोडेको छ।

६ टोली सहभागि यस छनोटमा सिंगल राउण्ड रोविन लिगको आधारमा खेल हुनेछ र अंकतालिकामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष जनवरीमा दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकपमा छनोट हुनेछ।

आठौँ पटक युथ विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपालले प्रतियोगितामा शानदार सुरुवात गर्दा कप्तान रोहित कुमार पौडेलले कप्तानी इनिङ्स खेले भने पवन सर्राफले अलराउण्ड प्रदर्शन गरे।

शेलेङ्गार टर्फ क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले रोहितको ९५ रन मद्दतमा ४६ ओभरमा सबै विकेट गुमाएर २८३ रन बनाएको थियो।

जवाफमा नेपाली स्पिनरहरुको धातक बलिङसामु टिक्न नसकेको सिंगापुर ३१ ओभरमा ६५ रनमै अलआउट भयो। यस्तै पवन सर्राफले अलराउण्ड प्रदर्शन गरे। ४७ रन बनाउनुका साथै ३ विकेट लिएका पवन म्यान अफ दि म्याच घोषित भए।

पहिलो पटक नेपालको नेतृत्व गरिरहेका रोहितले १०५ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गर्दै ९५ रन बनाए। उनी शतक बनाउनबाट ५ रनले चुके। नेपालले ४६औँ ओभरमा रोहितसहित ३ विकेट गुमाएको थियो।

१८ रन हुँदा दुई विकेट गुमाएको नेपाली इनिङ्स उकास्ने क्रममा कप्तान रोहित र पवनले तेस्रो विकेटका लागि ९० रनको साझेदारी गरे। पवनले ५३ बल खेल्दै ४ चौका र २ छक्काको मद्दतमा ४७ रन बनाए।

यस्तै १६० रन हान्दा ६ विकेट गुमाएको नेपालको स्कोर अगाडि बढाउने क्रममा लोअर अर्डरका खेलाडीले शानदार ब्याटिङ गरे। सातौँ विकेटका लागि रोहित र रसिद खानले ७७ रनको महत्वपूर्ण साझेदारी गरे। रसिदले ४७ बल खेल्दै ४ चौका र २ छक्काको मद्दतमा ४८ रन बनाए। यस्तै कमल सिंह ऐरीले १८ बल खेल्दै १ चौका र ३ छक्काको मद्दतमा ३१ रन जोडे।

यसबाहेक भिम शार्कीले २६ र कुशल मल्लले १० रन जोडे।

बलिङमा सिंगापुरका अथर्व गुनेले ४ विकेट लिए।

२९३ रनको लक्ष्य पछ्याएको सिंगापुरलाई ६५ रनमा अलआउट गर्न नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरे। पवनले ६ ओभरमा ५ ओभर मेडजन राख्दै ५ रन मात्र खर्चेर ३ विकेट लिए।

यस्तै कुशल मल्लले ८ ओभरमा ३ मेडन राख्दै १७ रन खर्चेर २ विकेट लिए। सूर्य तामाङले ७ ओभरमा २ मेडन राख्दै १५ रन खर्चेर २ विकेट लिए। रसिद खानले ३ ओभरमा १ मेडन राख्दै ७ रन खर्चेर १ विकेट लिए। कमल सिंह ऐरीले २ ओभरमा २ रन मात्र खर्चे। सिंगापुरका लागि इशान सावनेले सर्वाधिक २८ रन बनाए।

 

यसैगरी किनरारा ओभलमा मलेसियाले दिएको २०७ रनको लक्ष्य युएईले ४७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।

युएईको जितमा सायद हैदरले सर्वाधिक ६२ रन बनाए भने ए सारफुले नटआउट ४२ रन जोडे। मलेसियाका लागि कप्तान मुहम्मद अमिरले सर्वाधिक ५४ र वान अमिरुलले ४७ रन बनाएका थिए।

 

उता बायुमास ओभलमा कुवेतले ओमानले दिएको १०६ रनको सामान्य लक्ष्य १९.३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको छ। कुवेतका लागि मिट भावसारले सर्वाधिक ४४ रन बनाउँदा अब्दुल सदिकले नटआउट ३९ रन जोडे।

छनोट अन्तर्गत शनिबार तीन खेल हुँदैछ। जसमा नेपालले युएईसँग खेल्नेछ। यस्तै कुवेत र सिंगापुर तथा मलेसिया र ओमान भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell