PahiloPost

Aug 22, 2019 | ५ भदौ २०७६


राजनीतिक विजयको प्रतीकस्वरुप आज भक्तपुरमा य:सिं ठड्याइँदै


सहयोग रञ्जित

राजनीतिक विजयको प्रतीकस्वरुप आज भक्तपुरमा य:सिं ठड्याइँदै
फाइल फोटो

भक्तपुर: लिच्छवीकाल भन्दा अघि नेपालमण्डलमा मातृसत्तात्मक राज्य व्यवस्था थियो। भक्तपुरलाई राजधानी बनाएर किराँतीहरुले शासन गरिरहेका थिए।

लिच्छवीहरुले किराँतीहरुलाई पराजित गर्दै नेपालमण्डलमाथि विजय हासिल गरे। किराँतीहरुलाई पराजित गरेको खुशीयालीमा लिच्छवीहरुले चैत्र शुक्ल मसान्तको दिन य: सिं उठाएर वैशाखको पहिलो दिन य: सिं ढालेर बिस्का जात्रा मनाउने परम्परा सुरु गरेका थिए।

एउटा वंशको अन्त्य गर्दै अर्कोको उदय भएको वर्षका उपलक्ष्यमा बिस्का सुरु भएको दाबी गर्छन् संस्कृतिविद् ओम धौभडेल। त्यसैले उनी बिस्कालाई सांस्कृतिक भन्दा पनि राजनीतिक जात्राका रुपमा व्याख्या गर्छन्।

यस्तै लिच्छवीहरुपछि मल्लहरुले नेपालमण्डलमाथि राज्य गरेका थिए। मल्लहरुबीचको आपसी मतभेदले नेपालमण्डल टुक्रिँदै गयो। रत्न मल्लले कान्तिपुर (काठमाडौं), रणमल्लले बनेपा स्थापना गरे। नेपालमण्डल विभाजित हुँदै गएपछि भक्तपुर पनि साँघुरिँदै गयो। राय मल्लभन्दा पछिका राजाहरुले भक्तपुरको अधिनमा रहेका राज्यहरुमा विस्का जात्रा मनाउने परम्परा बसाले।

धौभडेलका अनुसार भक्तपुरको पूर्व क्षेत्रका ७ र पश्चिम क्षेत्रको ७ गाउँहरुमा (साँखु, टोखा, ठिमी, बोडे, लगायतका स्थानमा) मल्लहरुले भक्तपुरको अधिनमा रहेको भनेर देखाउन त्यहाँ बिस्का मनाउने परम्परा सुरु गरेका थिए। तर पछि नेपालमण्डल विभाजित हुँदै गएपछि भक्तपुर छुट्टै राज्यको रुपमा स्थापति भयो। यद्यपि, पूर्व र पश्चिमका ७ गाउँहरुमा बिस्का अहिले पनि मनाइन्छ।

बिस्का किम्बदन्तीमा आधारित ऐतिहासिक राजनीतिक जात्रा हो। धौभडेल भन्छन्, 'अहिलेको जात्रा कुनै राजाले वा जनताले सुरु गरेको जात्रामात्रै पनि होइन। यो कथाहरुमा आधारित जात्रा हो। पहिले दुई दिन यो जात्रा मनाइथ्यो। अहिले भने ८ रात ९ दिन मनाइन्छ।'

लिच्छवीहरुले वर्षको अन्तिम दिन भक्तपुरको ल्योसिङखलमा यःसिं (लिङ्गो) मा झण्डा फहराएर उठाउने र वैशाख १ गते ढाल्ने परम्परा सुरु गरेका थिए। बिस्का पहिला दुई दिन मनाइथ्यो।

यसवर्ष ठड्याउन ल्याइएको य:सिं

बिस्कालाई सर्प मरेर सुरु भएको जात्राका रुपमा पनि लिइन्छ। नाग र नागिनीहरुले राजालाई दुःख दिएको अवस्थामा उनीहरुलाई समातेर मारेर प्रदर्शन गरिएको स्थानीयहरु बताउँछन्। त्यसैले नाग र नागिनको प्रतीकका रुपमा हलिनपत (धव्जा) यं:सिमा फहराइने गरिएको विश्वास छ।

बिस्कामा देवीदेवताहरुको प्रवेश पछिमात्रै भएको धौभडेल बताउँछन्। चैत्र २७ गते सुरु भएको भैरवनाथ र भद्रकालीको रथ जात्रा पछिमात्रै सुरु भएको थियो। भैरवनाथ र भद्रकाली श्रीमान् श्रीमती हुन्। आज (यं:सिं ठ्ड्याउने दिन) भद्रकाली यं: सि उठाएको हेर्न जाने अडान लिन्छिन्। तर, भैरवनाथले उनलाई मञ्जुरी दिँदैनन्। दुवैबीच झगडा हुन्छ। रिसाएर गएकी भद्रकालीलाई भैरवानाथ फकाएर ल्याउँछन्। मिलनको खुशीयालीमा दुवैजनाको रथ जुधाउने गरिएको हो। धौभडेल भैरवनाथ र भद्रकालीको रथ जुधाएर समागम गराएको बताउँछन्।

धौभडेल किम्बदन्ती नभए बिस्का पनि नरहेने बताउँछन्। भन्छन्, 'बाखं भनेकै बछि खं ख बछि खं मखु (आधि कुरा हो, आधि कुरा होइन)। त्यसैले कथाहरुमा केही सत्यता हुन्छ। यी कथाहरु नभएको भए बिस्का अहिले जस्तो भव्य हुँदैन थियो।'

समयसँगै राजनीतिक विजयको प्रतीकको रुपमा सुरु भएको बिस्कामा सांस्कृतिक र मनोरञ्जनात्मक गतिविधि थपिएको उनी बताउँछन्।

'देवीदेवतापछि रथ यात्रा सुरु गर्ने परम्परा भयो। थ: ने (माथिल्लो टोल) र क्व: ने (तल्लो टोल) मा रथ लैजाने प्रतिस्पर्धा सुरु गरियो। बिस्कालाई बिस्तारै प्रतिस्पर्धात्मक मनोरञ्जनका रुपमा विकास गरियो। मानिसहरुलाई जात्रामा सहभागी गराउन केही त हुनुपर्‍यो। यं:सि ठ्डाएर दुई दिन सम्म मात्र जात्रा नहुने भएकाले यसमा कथाहरु थपिँदै ८ रात ९ दिन सम्म चल्न सुरु भयो।'

धौभडेल थप व्याख्या गर्छन्, 'पहिला भैरव र भद्रकालीको जात्रा खटमा हुन्थ्यो। पछि रामायण, महाभारतमा आधारित भएर रथ निर्माण भयो। कथा र किम्बदन्तीहरुले बिस्कालाई थप महत्व दियो। तर पहिला भने य:सिं उठाउने र ढाल्ने मात्रै हुन्थ्यो।'

चैत २७ गते टौमडीमा भैरवनाथ र भद्रकालीको समागमको रुपमा रथ यात्रा शुरु भएपछि विधिवत रुपमा बिस्का शुरु भएपनि वर्षको अन्तिम दिन (आज) बेलुकी ल्योसिङखलमा यःसिं उठाउनेलाई महत्वपूर्ण मानिन्छ। चित्तपोलस्थित य:सिं गुं भन्ने स्थानबाट ल्योसिङखलमा दुई नयाँ यःसिंहरु ल्याएर राखिएको छ। केही कारणले एउटा यःसिं ढलेमा, भाँचिएमा त्यसको व्यवस्थापन गर्न अर्को यःसिं ल्याउने परम्परा रहेको छ। वैशाख १ गते यो य:सिं ढालिन्छ। त्यसैले आज र भोलिका दिन भक्तपुरका टोलटोलमा छोरी आफन्तहरुलाई बोलाएर भोज खुवाउने चलन छ।

आजै पोटरी स्कवायरस्थित बोलाछैमा बिहानै हालत नभएको यःसिं ठड्याइएको छ। यो यःसिं भने बिस्काको अन्तिम दिनमात्रै ढालिन्छ।

तर, यसबाहेक पनि भक्तपुरभरि बिस्काका अवधिमा अरु विभिन्न महत्वपूर्ण जात्राहरु हुन्छन्।

८ रात ९ दिनसम्म मनाइने ऐतिहासिक तथा प्रसिद्ध बिस्का अवधिभर भक्तपुरमा रहेका अष्टमात्रिका, गणेश र भैरवका मन्दिरहरु रहेको स्थानमा छुट्टा छुट्टै जात्राहरु हुन्छन्। यी सबैजात्राहरुले भक्तपुरवासीलाई एकतामा बाँधेको धौभडेल बताउँछन्।



राजनीतिक विजयको प्रतीकस्वरुप आज भक्तपुरमा य:सिं ठड्याइँदै को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट