PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेपालको भू-उपग्रह ‘नेपाली स्याट-१’ सफलतापूर्वक प्रक्षेपण



पहिलोपोस्ट

नेपालको भू-उपग्रह ‘नेपाली स्याट-१’ सफलतापूर्वक प्रक्षेपण

काठमाडौँः नेपाल स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकको सूचीमा समावेश भएको छ। नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट-१’ सफलतापूर्वक प्रक्षेपण भएको छ। अमेरिकाको भर्जिनियास्थित वल्लोप्स टापुमा रहेको नासाको प्रक्षेपण केन्द्रबाट नेपालको सानो आकारको नानो स्याटेलाइटसहित अन्य विभिन्न ७५०० पाउन्ड वजनका अनुसन्धान सामाग्रीसहित सिग्नस कार्गो स्पेसक्राफ्ट आज बिहान  प्रक्षेपण गरिएको हो।  

प्रक्षेपणको नासाले प्रत्यक्ष प्रसारण गरेको थियो। 

हातमा अट्ने सानो आकारको क्युब स्याटेलाइट जापानको क्युटेक विश्वविद्यालयमा अध्ययनरत नेपाली वैज्ञानिकद्वय आभाष मास्के र हरिराम श्रेष्ठले निर्माण गरेका हुन्। प्रक्षेपित स्याटेलाइटमा नेपाली राष्ट्रिय झण्डा र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टको लोगोसहित प्रक्षेपण गरिएको छ।

बर्डस् ३ अन्तर्गत जापानको क्युटेक युनिभर्सिटीमा बनेका नेपालको नेपालीस्याट-१ सँगै श्रीलंकाको रावण-१ र जापानको युगुइसु पनि अन्तरिक्षमा पठाइएको हो। १० सेमीX१०सेमीX१० सेमी आकारको यो यस्ता क्युब स्याटेलाइट विभिन्न युनिभर्सिटीहरुले समेत अध्ययनका लागि अन्तरिक्षमा पठाउने गर्छन्। 

यो स्याटेलाइट बनाउन नेपालले अर्थ मन्त्रालयमार्फत् एक करोड ४२ लाख रुपैयाँ जापानमा पठाएको थियो। ग्राउन्ड स्टेसन बनाउन थप २० लाख खर्च लाग्ने अनुमान गरिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा जोडिएकोमा खुसी व्यक्त गर्दै संलग्न सबैलाई बधाई दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell