PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पुरुष क्रिकेट : पुलिसलाई २ रनले हराउँदै एपीएफले समूह विजेता, सेमिफाइनल समिकरण पूरा



पहिलोपोस्ट

पुरुष क्रिकेट : पुलिसलाई २ रनले हराउँदै एपीएफले समूह विजेता, सेमिफाइनल समिकरण पूरा

भैरहवा : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको विभागीय भिडन्तमा एपीएफले पुलिसलाई २ रनले पराजित गरेको छ।

समूह ए अन्तर्गत आइतवार भैरहवामा भएको खेलमा एपीएफ पुलिसमाथि २ रनको साँघुरो जित हात पार्दै समूह विजेता बनेको हो।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले १९.५ ओभरमा सबै विकेट गुमाएर ११५ रन बनाएको थियो।

एपीएफका लागि प्रदिप ऐरीले सर्वाधिक ४० रन बनाए। यस्तै शंकर रानाले २० तथा अनिल शाहले १६ रन जोडे। पुलिसका लागि दिपेन्द्र ऐरीले ३.५ ओभर बलिङ गर्दै १४ रन खर्चेर ४ विकेट लिए। यस्तै राम नरेश गिरी र ललित राजवंशीले २-२ विकेट लिए। ११६ रनको लक्ष्य पछ्याएको पुलिसले पूरै २० ओभर खेल्दा पनि ८ विकेट गुमाएर ११३ रन मात्र बनाएपछि २ रनको हार बेहोरेको हो।

पुलिसका लागि आरिफ शेखले २४ तथा दिपेन्द्र ऐरीले २३ रन बनाए। पुलिसलाई जितबाट रोक्न एपीएफका कमल सिंह ऐरी र भुवन कार्कीले २-२ विकेट लिए।

पुलिस विरुद्धको जितपछि एपीएफ समूह ए मा सबै चार खेल जितेर विजेता बन्दै सेमिफाइनल पुगेको हो। एपीएफले अब समूह बी को उपविजेता प्रदेश १ सँग सेमिफाइनलमा खेल्नेछ। यस्तै समूह ए को उपविजेता बनेको पुलिसले समूह बी को विजेता बनेको त्रिभुवन आर्मीसँग खेल्नेछ।

आर्मीले समूह बी मा सबै चार खेल जितेको थियो।

सेमिफाइनलका खेलहरु मंगलवार बाँकेको कोहलपुर क्रिकेट मैदानमा हुनेछ। फाइनल खेल पनि सोही मैदानमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell