PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कमेडीदेखि फिल्म हुँदै राष्ट्रपतिको यात्रासम्म भोलोडिमियर जेलेनस्की



पहिलोपोस्ट

कमेडीदेखि फिल्म हुँदै राष्ट्रपतिको यात्रासम्म भोलोडिमियर जेलेनस्की

काठमाडौं : कलाकार राजनीतिमा आउनु नयाँ विषय होइन। हलिउडदेखि बलिउडका कलाकार कलाकारितासँगै राजनीतिमा उत्तिकै सक्रिय हुन्छन्।

पछिल्लो समय नेपाली कलाकार पनि राजनीतितिर तानिएका छन्। अभिनेत्री करिश्मा मानन्धर र रेखा थापा यसका ज्वलन्त उदाहरण हुन्। कति कलाकारिता गर्दै त कतिले कलाकारिताबाट ब्रेक लिएर राजनीतिमा आएका छन्। 

तर राजनीतिको अनुभव बिना नै टिभीका कमेडीयन स्टार भोलोडिमियर जेलेनस्की युक्रेनको राष्ट्रपति पदमा निर्वाचित भएका छन्। दोस्रो चरणको राष्ट्रपति निर्वाचनमा जेलेनस्कीले ७० प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै वर्तमान राष्ट्रपति पेट्रो पोरोसेनकोलाई पराजित गरेका छन्।

को हुन त भोलोडिमियर ?

भोलोडिमियर युक्रेनका हिट टिभी सो 'सर्भेन्ट अफ दि पिपूल'(जनताको सेवक)मा राष्ट्रपतिको भूमिकामा निभाउँदै आएका कमेडीयन हुन्। उक्त सोमा उनी शिक्षकको भूमिकामा देखिन्छन् जो भ्रष्ट राजनीतिको विषयमा आवाज उठाउँछन् अनि राष्ट्रपतिका लागि निर्वाचित हुन्छन्।

'सर्भेन्ट अफ दि पिपूल'मा राष्ट्रपतिको भूमिकामा देखिएका उनी अब भने देशकै राष्ट्रपतिको पदमा चुनिएका छन्। ४१ वर्षिय भोलोडिमियर स्ट्याण्ड अप कमेडीका प्रस्तोता पनि हुन्। भोलोडिमियर २०१५ देखि २०१९ सम्म उक्त टिभी सोमा काम गरे।

उनको जन्म १९७८ जनवरी २१ तारिखका दिन युक्रेनको क्रिभोय रगमा भएको थियो। जेलेनस्की कानुनका विद्यार्थी हुन्। किभ नेशनल इकोनमिक विश्वविद्यालयमा अध्ययन सकाएका उनले कानुन क्षेत्रमा भने काम गरेनन्।

१७ वर्षको उमेरमै उनी केभिएन नामक कमेडी प्रतिस्पर्धामा सहभागी भएका थिए। त्यसपछि उनले कमेडी गर्न सुरु गरेका थिए।

उनले फिल्महरुमा पनि अभिनयको अनुभव बटुलेका छन्। सन् २००८ मा 'लभ इन दि बिग सिटी', 'लभ इन दि बिग सिटी २', 'अफिस रोमान्स', 'आवर टाइम'लगायतको फिल्ममा उनले अभिनय गरिसकेका छन्। सन् २०१२ मा  'एइठ फस्ट डेट'मा अभिनय गरिसकेपछि भने उनी टेलिभिजन सोमा व्यस्त हुन थाले।

टेलिभिजन प्रोडक्सन कम्पनि 'कभार्टल ९५'का मानिसहरुले मिलेर नै  'सर्भेन्ट अफ दि पिपूल' नामक राजनीतिक पार्टी  सुरु गरेका थिए।

राष्ट्रपतिमा निर्वाचित भएपछि जेलेनस्कीले जनताले परिवर्तन चाहेको भन्दै आजको दिनलाई युक्रेनी जनताको जीतका रूपमा व्याख्या गरेका छन्। रुससँग तनावपूर्ण सम्बन्ध रहेको युक्रेनका नव निर्वाचित कमेडीयन राष्ट्रपतिले कसरी देश चलाउलान्? 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell