बाँके : नेपालको राष्ट्रिय खेल भलिबल अनी फुटबल र क्रिकेट चर्चित खेल। यी सबै खेल अहिले एकैपटक भइरहेको छ। त्यो पनि एउटै स्थानमा।
आठौँ राष्ट्रिय खेलकुद २०७५-७६ अन्तर्गत भइरहेको यी तीन वटै चर्चित खेलको सेमिफाइनलमा खेलहरु भने आज एकै दिन हुँदैछन्।
फुटबल र भलिबलमा पुरुष र महिला दुवैको सेमिफाइनल हुँदैछ भने क्रिकेटमा पुरुषको सेमिफाइनलको खेल हुनेछ भने महिलाको फाइनल खेल हुनेछ।
महिलाको फाइनल खेल दाङ जिल्लाको लमही क्रिकेट मैदानमा हुनेछ। महिला फुटबल पनि दाङ जिल्लाको बेलझुण्डीमा हुनेछ भने अन्य सबै खेलहरु बाँके जिल्लाको नेपालगन्ज आसपासमा हुनेछन्।
महिला क्रिकेटको फाइनलमा विभागीय टोली एपीएफ र प्रदेश १ स्वर्णका लागि भिड्दैछन्। पुरुष क्रिकेटको दुवै सेमिफाएनल खेल कोहलपुर क्रिकेट मैदानमा हुनेछ।
पुरुष क्रिकेटको पहिलो सेमिफाइनल विभागीय टोली एपीएफ र प्रदेश १ बीच हुनेछ भने दोस्रो सेमिफाइनलको 'अल डिपार्टमेन्टल गेम' मा त्रिभुवन आर्मी र नेपाल पुलिस भिड्नेछन्।
यस्तै पुरुष फुटबलको सेमिफाइनल खेलहरु नेपालगन्ज रंगशालमा हुनेछ भने भलिबलका खेलहरु सितापुर, खजुरामा हुनेछ।
पुरुष फुटबल अन्तर्गत पहिलो सेमिफाइनल प्रदेश नम्बर ५ र आर्मीबीच हुनेछ। यस्तै दोस्रो सेमिफाइनल बेलुका नेपाल पुलिस र एपीएफबीच हुनेछ।
यसैगरी दाङमा हुने महिला फुटबलको सेमिफाइनलमा प्रदेश नं ३ र नेपाल आर्मी तथा एपीएफ र नेपाल पुलिस भिड्नेछन्। पहिलो सेमिफाइन खेल बिहान ८ बजे हुनेछ भने दोश्रो खेल दिउँसो २ बजे पछी हुनेछ।
यस्तै खजुरास्थि शुक्र भलिबल कोर्टमा पुरुष र महिलाको सेमिफाइनल खेलहरु हुनेछन्।
बिहान पुरुषतर्फको सेमिफाइनल हुनेछ। जसमा समूह ए को विजेता त्रिभुवन आर्मीले समूह बी को उपविजेता एपीएफ तथा समूह बी को विजेता नेपाल पुलिसले समूह ए को उपविजेता गण्डकी प्रदेशसँग खेल्नेछ।
यसैगरी बेलुका हुने महिलातर्फको सेमिफाइनलमा एपीएफ र गण्डकी प्रदेश तथा प्रदेश ३ र नेपाल पुलिसबीच हुनेछ।
आठौँमा समावेश कूल ३५ मध्ये अहिलेसम्म २२ खेल सकिएको छ।
अहिलेसम्मको सकिएका खेलहरुमा टेबलटेनिस, ट्रायथलन, कुस्ती, फेन्सिङ, साइक्लिङ, स्क्वास, जुडो, कबड्डी, फुल कन्ट्याक्ट कराते, बास्केटबल, गल्फ, बुद्धिचाल, लन टेनिस, हक्की, शारीरिक सुगठन, ब्याडमिन्टन, आर्चरी, जिम्न्याष्टिक, सेपाकताक्रो, एथ्लेटिक्स, प्याराग्लाइडिङ, भारोत्तोलन छन्।
ह्याण्डबल र सुटिङको फाइनलहरु खेलहरु पनि आजै हुँदैछ।
२२ खेल सकिँदा पदक तालिकामा विभागीय टोलीको वर्चस्व रहेको छ। अहिलेसम्म त्रिभुवन आर्मी सर्वाधिक ८७ स्वर्ण जित्दै पहिलो स्थानमा छ भने एपीएफ ३५ स्वर्णका साथ दोस्रो र नेपाल पुलिस ३३ स्वर्णका साथ तेस्रो स्थानमा छ।
राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराएको पदक तालिका अनुसार अहिलेसम्म ३७२ मध्ये २०७ स्वर्णको छिनोफानो भएको छ।
२०७६ साल वैशाख १० गते हुने खेलहरु:
नेपालगन्ज रंगशालामा पुरुष फुटबलको पहिलो सेमिफाइनल खेल बिहान ८ र दोश्रो सेमिफाइनल खेल अपरान्ह ४ बजे।
कोहलपुरमा पुरुष क्रिकेटको पहिलो सेमिफाइनल खेल बिहान ८ र दोश्रो सेमिफाइनल खेल अपरान्ह २ बजे।
पुरुष भलिबल सेमिफाइनल बिहान ७:३० देखि, तथा महिला भलिबल सेमिफाइनल बेलुका ५:०० बजेदेखि, खजुरा, सीतापुर।
ह्यान्डबल फाइनल अपरान्ह ३ बजेखि नेपालगन्ज रंगशाला।
सुटिङ फाइनल बिहान १० बजेदेखि, नेपालगन्ज रंगशाला।