PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

भारतको भर नपरी पाटनमा पुनर्निर्माण : कलानगरीमा पनि सरकारी ठेक्काकै समस्या



सहयोग रञ्जित

भारतको भर नपरी पाटनमा पुनर्निर्माण : कलानगरीमा पनि सरकारी ठेक्काकै समस्या

ललितपुर : विश्व कला परिषद्ले ललितपुर महानगरभित्र पर्ने पाटन क्षेत्रलाई गत कार्तिकमा विश्वकै ३५ औं 'कला नगरी' घोषणा गर्‍यो।

१६ औं र १७ शताब्दीतिर सिद्धिनरसिंह मल्ल, श्रीनिवास मल्ल र योगनरेन्द्र मल्लले पाटन दरबारमा विभिन्न सम्पदा निर्माण गरी काष्ठकलाले निपूर्ण मन्दिर, पाटी, सत्तलहरु बनाएका थिए।

तर, २०७२ सालको भूकम्पले पाटनका ती सम्पदाहरुमा क्षति पुग्यो। दरबार क्षेत्रमा रहेका कृष्ण मन्दिर, चार नारायण मन्दिर, विश्वेश्वर, मणिमण्डप, हरिशंकार मन्दिर, योगनरेन्द्र मल्लको शालिक इत्यादिमा भूकम्पले क्षति पुग्यो।

पाटन दरबारभित्र रहेका सुन्दरी चोक, उत्तरी तलेजु, दक्षिणी तलेजु, बहादुर शाह बैठक भवन र मुल चोकमा समेत भूकम्पले प्रभाव पर्‍यो।

सम्पदा पुनर्निर्माण गर्न सरकारले ठेकेदार मार्फत् काम गर्ने निर्णय गर्‍यो। नगरपालिका त्यसमा सहमत भएन। अनि ठेक्का मार्फत् नभइ स्थानीयहरुको रहोबरमा काठमाडौं उपत्यका संरक्षण कोष (केभीपीटी)को प्राविधिक सहयोगमा पुरातत्व विभागसँग मिलेर पुनर्निर्माणको काम सुरु गरियो।

पुनर्निर्माणको क्रममा हरिशंकर मन्दिर

हाल दरबार क्षेत्रमा पुनर्निर्माण भइसकेका र भइरहेका अधिकांश सम्पदाहरु केभीपीटीको सहयोगमा बनेको हो। यी सम्पदाहरु बनाउने कार्यमा नगरपालिकाले केही सहयोग गरेको छ तर मुख्यरुपमा विदेशी नागरिक, दातृ निकाय र स्थानीयहरुको आर्थिक सहयोगमा पुनर्निर्माण भइररहेको छ।

ललितपुर महानगनरपालिकाका प्रमुख चिरिबाबु महर्जन दरबार क्षेत्रमा रहेका सम्पदाको पुनर्निर्माण करिब ९० प्रतिशत पूरा भएको भन्दै नेपाल सरकारको आर्थिक सहयोग प्रयोग गर्‍यो भने टेन्डर गरेर पुनर्निर्माण गर्नुपर्ने अवस्था आउने र त्यसरी टेन्डरमा दिएको सम्पदा हालसम्म पुनर्निर्माण नभएको बताउँछन्।

भन्छन्, 'बाटो बनाउनेलाई मन्दिर बनाउने टेन्डर दियो भने काम राम्रो हुन्छ? सरकारले यो सोच्नुपर्छ। शंखमुलको जगननारायण मन्दिर, सुन्धाराको कृष्ण मन्दिर, स्वथको राधाकृष्ण मन्दिर त्यही सरकारी ठेक्कापट्टाका कारण अहिलेसम्म बनेको छैन। टेन्डर दिँदा सम्पदा पुनर्निर्माणमा गुणस्तर हुँदैन।'

मंगलटोल सुधार समितिका अध्यक्ष किरणमान प्रधान सरकारले पाटनमै कयौं सम्पदाहरु ठेक्कामा दिएको तर त्यो कुनै पनि सम्पन्न नभएको भन्दै स्थानीयको रोहबरमा केभीपीटीसँगको सहकार्यमा गरेको काम छिट्टै सम्पन्न भएको बताए।

पुनर्निर्माणको क्रममा भीमसेन मन्दिर

ठेक्कामा दिएको भए कृष्ण मन्दिर र विश्वेश्वर मन्दिर अहिले सम्पन्न नहुने थियो भन्दै उनले पनि टेन्डर गरेर सम्पदा ठेक्कामा दिने काम उचित नभएको बताए। पाटनको भीमसेन मन्दिर पुनर्निर्माण हुनुमा ढिलाई हुनुमा सरकारको नीतिगत कमजोरीको कारण भएको उदाहरण दिँदै उनले भने, 'भारत सरकारले भीमसेन मन्दिरको पुनर्निर्माण गर्ने भन्यो। बजेट पनि छुट्यायो। तर, काम सुरु नै भएन। हामीले धेरैपटक काम सुरु गरौं भन्यौं। उनीहरुले मानेनन्। अन्तत: हामी बाध्य भयौं। महानगर प्रमुखको रोहबरमा उपभोक्ता समिति बनाएर भीमसेन मन्दिरको काम सुरु गर्‍यौं।'

प्रमुख महर्जन भारतले भीमसेन मन्दिर बनाउँछु भन्दा भन्दै तीन वर्ष यत्तिकै बिताएको र रकम निकासा गर्न अझै महिनौं कुर्नुपर्ने र काम पनि ठेक्काबाट गराउने भनेपछि स्थानीयहरुको पहलमा महानगरले त्यस सम्झौतालाई अस्वीकार गरेको बताए। भने, 'अहिले भारतको पैसा लिएका छैनौं। दाताहरुले खुलेर सहयोग गरिरहेका छन्। पहिलो तल्लाबाट काम सुरु भइसकेको छ। भारतलाई कुरेर बसेको भए सुरु नै हुँदैन थियो।'

निर्माण सम्पन्न भएको विश्वेश्वर मन्दिर

प्रमुख महर्जन ठेक्का दिएर सम्पदा पुनर्निर्माण गराउँदा महानगरको मात्र नभइ देशकै इज्जतमा आँच आउने अवस्था आएको बताउँछन्। बुङ्गमतीमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माणमा श्रीलंकाली सरकारले आर्थिक सहयोग गरेकोमा ठेकेदारले काम नगरिदिँदा श्रीलंकाली राजदूतले महानगर आएर निकै असन्तुष्टि पोखेको उनले बताए।

'तर, त्यो ठेक्का हामी आउनुअघि नै गरेको थियो। काम नगर्ने ठेकेदारलाई हटाउने प्रक्रिया भइरहेको छ। त्यसपछि महानगर एक्सनमा आउँछ,' उनले भने।

मर्हजनले आफ्नो आग्रहमा केन्द्र सरकारले १० करोडसम्मको सम्पदा पुनर्निर्माण गर्न ठेक्का दिनुनपर्ने निर्णय गरेको भन्दै यसबाट सम्पदा पुनर्निर्माणले नेपालभर गति लिने बताए।

अहिलेसम्म पाटन दरबार क्षेत्रमा रहेका कृष्ण मन्दिर, विश्वेश्वर मन्दिर, तलेजु मन्दिर, सुन्दरी चोक, योगनरेन्द्र मल्लको शालिक, मणिमण्डप पुनर्निर्माण भइसकेका छ।

निर्माण सम्पन्न भइसकेका सबै मठमन्दिरहरुको पुनर्निर्माणमा परम्परागत शैली अपनाएको बताउँछन् केभीपीटीका नेपाल निर्देशक रोहित रंजितकार। 'केभीपीटीले भूकम्पभन्दा अघि नै पाटन दरबार क्षेत्रमा काम गर्दै आएको हो। भाइदेग: सुरु गर्दा गर्दै भूकम्प गयो। हामीले गरेको काम हेरेर यहाँका स्थानीयहरुले साथ दिए। अहिले पुनर्निर्माणको अन्तिम चरण तिर छौं,' उनले भने।

निर्माण सम्पन्न भएको मणिमण्डप

अहिले चार नारायण मन्दिर, हरिशंकर मन्दिर, भीमसेन मन्दिर पुनर्निर्माण भइरहेको छ।

पुनर्निर्माणका क्रममा मौलिकतालाई बचाइराख्न चुना, सुर्की र माटोको गुणस्तरमा विशेष ध्यान दिएको उनले बताए। तलेजु मन्दिरमाथि रहेका कृष्ण मन्दिरको मुर्ति बनाउन पनि विशेष ध्यान दिइएको थियो। पुनर्निर्माणमा धेरै जसो पुरानै काठहरुको प्रयोग गरिएको भन्दै उनले परिवर्तन गर्नै पर्न र पूरै क्षति भएको काठहरु भने नयाँ बनाएको बताए।

आगामी दुई वर्षभित्र पाटन दरबार क्षेत्रमा रहेका सम्पदाहरुको पुनर्निर्माण सम्पन्न हुने लक्ष्य लिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell