- अनुषा न्यौपाने -
‘यो नानी त कस्तो छोरी भएर नि छोरा मान्छे जस्तो छे।'
कसैले भनिरहेको थियो । मेरो बाल मस्तिष्कले यो वाक्यमा खुशी हुनु कि दु:खी केही भेद पाएन। किनकि
छोरा कस्तो हुनुपर्छ र छोरी कस्तो हुनुपर्छ त्यसको व्याख्या मैले छुट्ट्याउन सक्दिनथेँ।
कसैले जवाफमा भनिरहेको थियो, ‘घरमा दाजु भएर होला दाजु जस्तै बन्न खोजेकी।'
म चुपचाप कुरा सुनिरहेकी थिएँ।
म दादा जस्तो कदापि छैन। दादाको र मेरो स्वभावमा आकाश पतालको फरक छ। हाम्रो झगडा पर्दा मामुले सधैँ भन्नुहुन्छ ,'एउटालाई तराईको गर्मीमा एउटालाई हिमालको चिसोमा पुर्याइदिनुपर्ने।'
तर, यी मनुष्यले भनिरहेकी छिन्- म दादा जस्तो बन्न खोजिरहेकी छु।
‘म मै जस्तो छु। दादा जस्तो हैन,’ मैले तत्काल जवाफ दिएँ।
तर, वार्ता टुङ्गिएन।
भनियो- 'ऊ हेर त छोरी भएर यसरी मुख लागेकी।'
‘अनि के छोरीले चैँ बोल्नु हुन्न?’
- 'हुन्न नि के भन्छन् अरूले?'
‘अरूले जे भने नि के भो र?’
म भित्र भित्रै रिसले मुर्मुरिएँ। तर, केही बोल्न सकिनँ । घुटुक्क थुक निलेँ अनि चुपचाप निस्केँ।
मामुले सधैँ कपाल छोटो पारेर काट्दिनुहुन्थ्यो। विद्यालयमा अरू साथी कपाल लामो दुई चुल्ठी बाट्थे। र, रिबन लगाउँथे। एकदिन एउटीले फ्याट्ट भनी- ‘कस्तो केटाको जस्तो कपाल, छोरीले त कपाल पाल्नुपर्छ अरे हाम्रो ममीले भन्नुभएको।' मलाई जिस्क्याउने हेतुले हुनसक्छ त्यति बोलेर आफ्नो दुई चुल्ठी बाटेको कपाल सर्लक्क पछाडि पुर्याइ।
मलाई उसले कपाल सरलक्क पछाडि लगेको किन किन मन पर्यो? भोलिपल्ट स्कूल जाने बेलामा कपाल बाट्ने भनेर झगडा गरेंँ जुन बाँध्न समेत नमिल्ने थियो।
मामुले बल्लतल्ल फकाउनुभयो। ‘कपाल लामो पाल्यो भने कपाल स्याहार्ने फुर्सद हुँदैन, अनि पढ्ने टाइम हुँदैन राम्रोसँग पढ्नु पो पर्छ त। कपाल त पलाइहाल्छ नि, पछि ठूली भए'सी पाल्नु अहिले त पढ्ने बेला पो हो त।'
मैले मानेँ। नमानेर धर थिएन किनकि बाट्नलाई साथीको जस्तै लामो कपाल चाहिन्थ्यो। मेरो कपाल त हल्का काइँयोले मिलायो भने चिटिक्क पर्ने थियो।
स्कूललाई बालबालिकाको दोस्रो घर भनिन्छ। मैले घरमा थाह नपाएको र नसुनेको कुराहरू धेरै विद्यालय सिकेँ। पुस्तकमा लेखिएका कुराहरू त सीमित हुन्थे तर समाजका अन्य कुराहरू र असीमित। घरमा म छोरी हो, दादा छोरा हो भन्ने आभाष कहिल्यै हुँदैन थियो तर विद्यालयमा साथीहरूले छोरी भएर कपाल पाल्नुपर्छ भन्नेदेखि कुन बार कपाल ननुहाउनेसम्म सिकाए।
मैले विद्यालयमा सिकेको कुरा घरमा आएर सुनाउँथे। मामुले सधैँ त्यो कुरालाई परिष्कृत गर्दै बुझाउनु हुन्थ्यो। मैले मामुको परिष्कृत कुरालाई लिएर साथीहरूलाई सुनाउँदा फेरि उही डायलग खान्थेँ- ‘कस्तो केटा जस्तो कुरा गर्छे।‘
बाल्यकालमा छोरा र छोरीको फरक मैले बुझ्नै सकिनँ, किनकि दादा र मेरो काम एउटै र उस्तै हुन्थ्यो, खेलौना पनि एउटै हुन्थ्यो बाँडेर खेल्नुपर्थ्यो। फुटबल होस् या भाडाकुटी, भिडियो गेम होस या ब्याडमिन्टन दुवै जनाले मिलेर खेल्नुपर्थ्यो। त्यस्तै सिकाइएको थियो।
टिनएजमा प्रवेश गरेपछी बुझेँ छोरा र छोरी बीचको फरक त प्राकृतिक रहेछ। प्रकृतिले छुट्ट्याएको फरक त सानो रहेछ तर समाजले छुट्ट्याएको फरक त विशाल रहेछ। छोरा र छोरी बीचमा प्रकृतिले सानो धर्साले कोरिदिएको फरकमा समाजले विशाल खाल्डो बनाएको रहेछ। नत्र कपाल सानो हुँदैमा छोरा जस्तो भनेर साथीहरूले गिज्याउने थिएनन् होला। आफ्नो कुरा प्रस्टसँग राखेर बोल्दैमा ती आफन्तले छोरा जस्ती भनेर भन्ने थिइनन् होला। आखिर किन बाल मस्तिष्कमा सानैदेखि यो विभेदको बीजारोपण गरिन्छ।
आफ्नो कुरा प्रस्टसँग बोल्दा त छोरा जस्तो तैँले बोल्नु हुँदैन भनेर एउटी बालिकालाई भन्दै समाजले बिस्तारै बिस्तारै उसको आत्मविश्वास खोसेको छ। त्यही छेउमा छोरालाई बोल्न प्रेरित गरेर आत्मविश्वास बढाइरहेको छ। सायद घर परिवार समाजले नसिकाउँदो हो त मेरा म जत्रै साना साथीहरूले कपाल पाल्नै पर्छ भनेर कपालको माया गर्दैन थिए होलान्। मेरो जस्तै सबैको कपाल छोटो हुने थियो होला। तर समाजले कस्तो कस्तो कुरामा छोरीहरूलाई अलमलाएर राख्दो रहेछ।
आज १५-२० वर्ष पछाडि सम्म पनि अस्तित्वको खोजीमा भौँतारिइरहेको मेरो दिमागमा अझै पनि कपालको लम्बाइमा अल्झिएको छोरा र छोरीको फरकले चस्स घोच्छ। कपालको लम्बाइबाट सुरु भएको छोरा र छोरीको फरक यहाँ सम्म आइपुग्दा धेरै ठूलो खाडल देख्दै आएकी छु। सानो सानो फरकले छोरीको कन्फिडेन्स खोस्दै आएको समाज देखेकी छु।
सानोमा ममुहरुले जिस्काउँदै राती बत्ती गएको बेला भित्र खाटमुनि हेर हेर, चोर आएर पसेको छ कि भन्दा दादा डराउँदै मामुसँग बस्दा पनि निडर भएर खाटमुनि हेर्न जाने म, अचेल साँझ परेपछि घर अगाडिको चोक सम्म जान डराउँछु। २० वर्ष अगाडिकी सानी बालिका म कति निडर र कति आत्मबल भएकी थिएँ, अहिले आफैले आफैलाई निरीह महसुस गर्छु । सायद बाल्यकालको अबोधता र अहिले युवा अवस्थाको परिपक्वताको बीचमा धेरै कुरा बदलिए। धेरै कुरा सिकेँ, त्यही बीचमा आत्मविश्वास पनि गुमाएछु । समाजले नजानिँदो किसिमले डर थोपरिदिएछ।
आखिर दादा अफिसबाट रातीराती निडर भएर घर फर्किँदा म किन साँझ पर्नुभन्दा अगाडि नै घर पुग्ने हतारो गर्छु? म भित्रको जन्मिँदाको स्वभाव त निडर र आत्मविश्वासी स्वभाव रहेछ नि आखिर। तर, विद्यालय, समाज अनि विभिन्न सुनिने दैनिक घटनाक्रमले म भित्रको आत्मविश्वास र निडर ता खोसेर लगेको रहेछ। नखोसोस् पनि कसरी दैनिक यौन दुराचार र बलात्कारका घटना सुनिन्छन्, निस्फिक्री भएर हिँड्न सक्ने वातावरण कहाँ पो छ र?
भनिन्छ मान्छेलाई अगाडि बढाउने नै आत्मविश्वास हो। आत्मबल नभएको मान्छे अगाडि बढ्न सक्दैन तर सबै आत्मबल जति समाजले नजानिँदो पारामा खोसिसकेपछि अनि यही समाजले भन्छ, हामीले महिला र पुरुषमा केही भेदभाव गरेका छैनौँ। हिम्मत भए सक्षम भए अगाडि आउन्न कसैले रोक्दैन।
सक्षमताको परिभाषा के हो आखिर? म घाम अस्ताएपछि एक्लै चोक जान नसक्नु मेरो अक्षमता हो कि समाजको कुदृष्टि? साँझ परेपछि बाहिर निस्फिक्री निस्कन नसक्नु मेरो कमजोरी हो कि बाध्यता? मेरो बाध्यता र मेरो कमजोरी बीचको फरक के हो?
मेरो आत्मविश्वास धेरै चोटि खोसिएको छ। मैले लगाउने कपडा, मेरो कपालको स्टाइल अनि मेरो मेकपको जति जति चर्चा सुन्छु त्यति पटक आत्मबल खोसिँदै गएको अनुभूति हुन्छ। कसैले ड्रेसिङ सेन्समा कमेन्ट गर्छन् कसैले मेकअपमा, कसैले गहनामा। म तिनीहरूको कुरा वास्ता नगर्दा नगर्दै पनि वास्ता गर्न बाध्य हुन्छु। मलाई जस्तो समस्या यहाँ सबैलाई छ।
एउटा सानो नाकमा लगाउने फुली नलगाउँदा त समाजले कति वचन लगाउँछन्, मैले देखेकी र भोगेकी छु। घरबाट पाइला निस्कनु अगाडि आज पनि प्रत्येक नारीले पाँच पल्ट सोचेर निस्कनु पर्छ। आँखाको गाजल, ओठको लाली देखि लिएर नाकको फुली र कानको गहनासम्म सबै सोचेर मिलाएर निस्कनुपर्छ। एक दिन गाजल नलगाई बाहिर निस्क्यो भने किन आज सन्चो छैन कि क्या हो भनेर सोध्ने सङ्ख्या कति हुन्छन् हुन्छन्।
आत्मविश्वासको नाममा मेकअपको लेप लगाएर बाहिर निस्कनु कम पीडादायी हुन्न। 'आफू मेकअप गर्न जान्दिन अनि यस्तो भन्छे,' यो डायलग धेरै चोटि सुनिसक्या छु। अनि छोरी मान्छेले त अलि अलि मेकअप गरेकै राम्रो देखिन्छ भन्ने भिड पनि छ। तर, आत्मविश्वासको खडेरी परेको मेरो मनमा मेकअप लगाउनु नलगाउनुले खासै फरक पार्दैन। मलाई मेकअपले आत्मविश्वास दिँदैन।
मलाई मेरो बाल्यकालको आत्मबल फिर्ता ल्याउनु छ। म भित्रको निडरता अनि आत्मविश्वास, अडिग र निडर भएर बोल्न सक्ने क्षमता फेरि फिर्ता ल्याउनु छ। मेरो खोसिएको आत्मबल फिर्ता ल्याउनु छ। मेरो बाध्यतालाई कम्जोरी हैन त्यसलाई शक्तिमा रूपान्तरण गर्नेछ। के फिर्ता दिन सक्छ यो समाजले मेरो आत्मबल? के फिर्ता दिन सक्छ यो समाजले सबै नारीको आत्मविश्वास?
निहत्था बनाएर तिमी पनि सक्षम छौ भनेर युद्धमा युद्ध गर्न पठाएर हुन्छ र? जीवनरुपी युद्धमा दौडिन अगाडि बढ्न चाहिने अस्त्र जति सबै लुटेर युद्धमा धकेलेर हुन्छ र? प्रत्येक नारीको आत्मबल र आत्मसम्मान नहराउने गरी सामाजिक व्यवस्थाको कल्पना गर्न सकिन्न र?
यस्तो सामाजिक व्यवस्थाको निर्माण गरौँ जहाँ पुरुष होस या महिला कोही कसैले आफूमा भएको क्षमता गुमाउन नपरोस् बरु त्यसलाई मल जल गरेर राम्रो काममा लगाउन सकौँ। जन्मिँदा असीमित सम्भावना बोकेर जन्मिएका प्रत्येक बालबालिकाहरूले त्यस्तै असीमित कामहरू गर्न सकुन्। सबैलाई सम्मान गर्ने वातावरण बनेदेखि सायद घाम अस्ताउँदैमा मनमा डर बढ्नुपर्ने स्थिति आउने थिएन र निर्धक्क भएर काम गर्न सकिने थियो होला जति निर्धक्क भएर चोरलाई खाटामुनि खोज्न जान म सक्थेँ ।