PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

खुल्लामञ्च खुल्ला गराउँदा हरिप्रभामाथि जाइलागे व्यापारी, मिडियाप्रति कडा आक्रोश



सहयोग रञ्जित

खुल्लामञ्च खुल्ला गराउँदा हरिप्रभामाथि जाइलागे व्यापारी, मिडियाप्रति कडा आक्रोश

काठमाडौं: शनिवार मध्याह्न खुल्लामञ्चमा बनाइएको बसपार्कमा एक्कासी गाडी आउन रोकियो। डोजरसहित प्रहरी खुल्लामञ्च प्रवेश गरे र त्यहाँ बनाइएका संरचना खाली गर्न आह्वान गरे। नयाँ बनेको संरचनामा सटर खोलेर व्यापार गर्दै आएका व्यवसायीहरुलाई खाली गर्न भनेपछि केहीले हतारहतार आफ्ना सामान निकाले। केहीले विवाद पनि थाले। अनि सुरु भयो खुल्लामञ्च अतिक्रमण गरी बनाइएका सटरहरु भत्काउने काम।

पुरानो बसपार्कमा २१ तल्ले 'भ्यू टावर' सहितको बहुउद्देश्यीय बनाउने अनुमति पाएको ठेकेदार जलेश्वर स्वच्छन्द बिकोईसँग नै खुल्लामञ्च अत्यावश्यक केही सटर बनाउने सम्झौता महानगरपालिकाले गरेको थियो।

तर, त्यहाँ बनाइए करिब ४० सटर। त्यसमा लगाइयो भाडा।

सम्झौता विपरीत संरचना बनाइ लाखौंको कारोबार गरेको खुलेपछि महानगरको चर्को आलोचना भयो। त्यसैको असर हो शनिवार सटर भत्काइँदा खुल्लमञ्चमा देखिएका दुई दृश्य। एकपक्ष खुल्लामञ्चमा सटर भत्काइएकोमा खुशी मनाउन पुगेक थिए। अर्काथरी थिए - त्यहाँ व्यापार गर्दै आएकाहरु। उनीहरु पूर्व सूचना नदिइ सटर खाली गराएकोमा आक्रोशित देखिन्थे।

एकाएक भत्काउन आएपछि उनीहरु आक्रोशित हुनु स्वभाविक थियो। त्यहाँ व्यापार गर्दै आएका व्यापारीहरुले एउटै सटरवापत ठेकेदारसँग लाखौंको डिल गरेको बताएका छन्।

एक व्यापारी महिलाले भनिन्, '१८ लाख मागेको थियो। १४ लाखमा सम्झौता भएको थियो। अब कसरी तिर्ने पैसा?'

सरकारले सम्झौता गरेको कागज लिएर आए क्षतिपूर्ति दिन्छु भनेको छ त भन्ने प्रश्नमा उनले निराशा हुँदै भनिन्, 'यहाँ ठेकेदारसँग कुनै कागजी सम्झौता गरेको छैन। दिएको पैसाको कागज पनि गरेको छैन।'

उनले त्यसो भन्दै गर्दा व्यापारिहरु मिडियामाथि नै जाइलागे। बालुवाटारको जग्गा बेचिँदा मिडियाले केही नगरेको आरोप लगाउँदै उनीहरुले आफ्नो व्यवसाय विगार्न मिडिया लागिपरेको आरोप लगाए।

धेरै जसो व्यापारीको गुनासो, 'यहाँ यत्रो सटर बन्दा मिडिया के गरिरहेका थिए? पहिल्यै बनेको बेलामा अवैध भन्नु पर्दैन थियो?'

उपप्रमुख हरिप्रभालाई लखेटियो

काठमाडौं महानगरपालिकाकी उप प्रमुख हरिप्रभा खड्गी श्रेष्ठ खुल्ला मञ्चमा सटर भत्काइरहँदा निरीक्षण गर्न पुगेकी थिइन्। एउटा अर्कै कार्यक्रममा रहेकी उनी खुल्मञ्च खुलाउन सटरहरु भत्काउन थालेको थाहा पाउने बित्तिकै निरीक्षण गर्न पुगेकी थिइन्। 'मैले भोलि यसै सम्बन्धी बैठक बोलाएको थिएँ। बैठकबाट डोजरै लगाउने निर्णय नै हुन्थ्यो। कि हामी भत्काउँथ्यौं। वा ठेकेदारलाई नै भत्काउन भन्थ्यौं। तर आज जे भयो राम्रो भयो,' उनले प्रतिक्रिया दिइन्।

उनले मिडियालाई अन्तर्वार्ता दिँदै गर्दा एक्कसी व्यापारीहरुको हुल उपप्रमुख खड्गीलाई घेर्न पुगे। आक्रोशित व्यापारीहरुले खड्गीमाथि हतापातको प्रयास नै गरे। र, अपशब्द प्रयोग गर्दै लखेटे।

प्रहरीलाई भिडलाई नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो।

उपप्रमुख खुल्लामञ्चबाट निस्केपछि व्यापारीको आक्रोशको सिकार बने मिडियाकर्मी।

'तपाइँहरु चाहिँदैन। तपाइँहरुले गर्दा नै यस्तो भएको,' भन्दै व्यापारीहरु मिडियाकर्मीमाथि नै खनिए।

फोटो र भिडियो लिइरहेका फोटो पत्रकारहरुलाई हातपात गर्दै क्यामरा खोस्ने प्रयास गरे। प्रहरीले मिडियाकर्मीमाथि ढुंगा प्रहार गर्ने एक युवकलाई पक्राउ गरेको छ।

व्यापारीहरुले आफूहरुले गरेको लगानीको क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन्।

सम्बन्धित समाचार: 'प्रधानमन्त्री ओलीको ठाडो आदेशमा खुल्लामञ्चमा अवैध रुपमा बनेका सटर भत्काइयो'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell