PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

विमानस्थल बन्द भएको २४ मिनेटपछि उड्यो ड्रागन एयरको विमान



वसन्तराज उप्रेती

विमानस्थल बन्द भएको २४ मिनेटपछि उड्यो ड्रागन एयरको विमान
रनवे मर्मत गर्दै गर्दाको फाइल फोटो

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भइसकेको २४ मिनेटपछि शनिबार राति १० बजेर २४ मिनेटमा ड्रागन एयरको विमान उडेको छ।

विमानस्थल रनवे स्तरोन्नतिका लागि अप्रिल १ तारिखदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गर्ने सूचना जारी गरिएको छ।

यसअघि नेपाल वायुसेवा निगमको विमान केही समयअघि राति १० बजिसकेको भन्दै उडान अनुमति दिइएको थिएन। 

'आज ड्रागन एयरको यो जहाज यता आइपुग्नै ढिला भएको थियो। यात्रु हालिसकेको जहाज उडान गर्नका लागि अनुरोध आएपछि महानिर्देशकसङ्ग भएको समन्वय अनुसार उडान गर्न दिइएको हो', नागरिक उड्डयन प्राधिकरण स्रोतले बतायो। 

राति १० बजेदेखि मर्मत सम्भारको काम सुरु हुनुपर्नेमा ड्रागन एयरको विमान उडिसकेपछि बल्ल कामदारहरु रनवेतर्फ गएका थिए। 

रनवे स्तरोन्नतिको काम गरिरहेको चिनियाँ कम्पनी एभिकले वर्किङ आवरमा ढिलाइ भएको मिनेट मिनेटको हिसाब राखेर क्लेम गर्ने गरेको क्यानका एक उच्च पदाधिकारीले बताए।

'आज जहाज पार्किङ गर्न ठाउँ नभएर यो जहाज एकछिन होल्ड मै बसेको थियो। अवतरण गरेपछि जहाज ट्याक्सी वेमा राखियो। महानिर्देशकको अनुमति लिएर नोटाम सारेर यो जहाजलाई उडान गर्न दिइएको हो', विमानस्थलका एक कर्मचारीले भने।

विमानस्थल बन्द हुने अवधिबारे जारी गर्ने सूचनालाई नोटाम (नोटिस टु एयरमेन) भनिन्छ। 

नोटाम वायुसेवा कम्पनीको वस्तुस्थिति बुझेर नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको निर्णय अनुसार घटाउने बढाउने गरिँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell