PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

३८ वर्षअघि भोटाहिटीमा बनेको नेपालकै पहिलो 'अन्डरग्राउन्ड सब-वे' ठेकेदारको नियन्त्रणमा



सहयोग रञ्जित

३८ वर्षअघि भोटाहिटीमा बनेको नेपालकै पहिलो 'अन्डरग्राउन्ड सब-वे' ठेकेदारको नियन्त्रणमा

३८ वर्षअघि काठमाडौंको जनसंख्या खासै धेरै थिएन, न त सवारीसाधनको चाप नै बढी थियो। तर काठमाडौंको एक भागमा भने प्रायः भिडभाड र ट्राफिक समस्या हुने गर्थ्यो- रत्नपार्कबाट भोटाहिटी हुँदै असन जाने चौबाटो।  

त्यो समयमा कुनै निश्चित स्थानमा मात्रै जेब्रा क्रसिङ बनाइएको थियो। तर चौडा सडक मध्ये पर्ने शहिदगेट -दरबारमार्ग सडक खण्डमा पर्ने भोटाहिटी चोकमा भने बाटो काट्ने कुनै माध्यम थिएन। मानिसहरु बाटो काट्न लाम लाग्थे। दुर्घटनाको जोखिम पनि धेरै थियो।

त्यसबेला काठमाडौंको प्रधानपञ्चमा विजयी भए त्यस बेलाका चर्चित युवा नेता कमल चित्रकार। त्यसबेलाका प्रधानपञ्च हालका मेयर जस्तै हुन्।

काठमाडौंका रैथाने चित्रकारलाई भोटाहिटी चौबाटोमा हुने भिडभाडको अवस्थाका कारण जनताले भोग्नु परेको दु:ख थाहा थियो। त्यसैले आफू निर्वाचित भएपछि बटुवाका लागि सहज हुने केही उपाय सोचे। 

सबैभन्दा पहिला उनले रत्नपार्कबाट भोटाहिटी जान आकाशे पुल बनाउने योजना बनाए। स्थानीय प्रशासनसमक्ष प्रस्ताव राखे। 

चित्रकार भन्छन्, 'तर प्रशासनले प्रस्ताव अस्वीकार गर्‍यो।'

३८ वर्ष अघिसम्म नेपालमा आकाशे पुल कतै थिएन। चित्रकारको योजना नौलो थियो। सायद प्रशासन अलि हच्कियो राजाको सुरक्षालाई लिएर। 
'आकाशे पुल बनाउँदा हिमालहरु छेकिन्छ, काठमाडौंको सुन्दरतामा ह्रास आउँछ,' स्थानीय प्रशासनले यस्तो तर्क दियो। र आकाशे पुलको सट्टा अन्डर ग्राउन्ड (सब वे) बनाउन भन्यो। 

पञ्चायती शासन थियो। त्यसैले माथिबाट आएको आदेश पालना गर्नै पर्ने। कमललाई पनि प्रशासनको तर्क ठीकै लाग्यो। 

चित्रकारले प्रस्ताव गरेकै स्थानमा सडक बटुवाको सहजतालाई अन्डरग्राउन्ड बाटो बनाउने निर्णय भयो। 

यसको डिजाइन बनाउने काम सडक विभागले गरेको थियो। डिजाइन स्वीकृत भएपछि प्रधानपञ्च रहेका चित्रकारले २०४१ सालमा भोटाहिटीमा सब वे निर्माणको लागि शिलान्यास गरेका थिए। 

यो नेपालकै पहिलो अन्डरग्राउन्ड सब वे थियो। काठमाडौँमै बस्ने धेरैलाई पनि यो सबवे बारे थाहै छैन। यो नै नेपालको अन्तिम सब वे पनि बन्यो।यस्ता सब वे अरु ठाउँमा बन्नै सकेनन्। 

***

जनशक्तिको भरमा 'सब वे' बन्यो 

त्यसबेला महत्वकांक्षी मानिएको सब वे निर्माणका लागि नगर पञ्चायतले २२ लाख सहयोग गरेको थियो। बाँकी खर्च स्थानीय प्रशासन र सडक विभागले बेहोरेको थियो। 

२०४१ सालतिर समेत रत्नपार्क सडकखण्ड व्यस्त नै रहने गरेको भन्दै चित्रकारले भने, 'सडकमा गुड्ने गाडीलाई व्यवस्थित गर्दै ट्राफिक व्यवस्थापन गर्न चुनौति नै थियो। अहिलेका जस्ता आधुनिक निर्माण सामाग्री थिएनन्। 

कमल चित्रकार

कमलका अनुसार भएको एउटा डोजरले मात्रै काम फत्ते हुने कुरै भएन। उपकरण भन्दा मानव जनशक्तिको परिश्रमले नै सब वे निर्माण सम्पन्न भयो। 

भन्छन्, 'धेरै काम मान्छेले नै गरेर पनि सब वे निर्माणको काम  करिब ६-८ महिनामा सकियो। करिब ४०-५० लाखमा सब वे निर्माण भयो।' 

नेपालमै पहिलो पटक यात्रुहरुको सुरक्षालाई लक्षित गर्दै बनेको सब वेको उद्घाटन पञ्चायतकालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बालाराम घर्ती मगरले गरेको चित्रकार बताउँछन्।

पञ्चायतकालमा राजदरबारको सहमति वा स्वीकृति बिना कुनै पनि योजना संचालन गर्न गाह्रै थियो। तत्कालीन राजा वीरेन्द्रले जनताको लागि बनाइएको सब वेको विरोध वा अवरोध गर्नु पर्ने कारण पनि थिएन। चित्रकारले दरबारबाट प्रशंसा नै कमाए। 

सब वे निर्माण सम्पन्न भएपछि राजा वीरेन्द्रले समेत आफै सबवे भित्र गएर निरीक्षण गरेको स्थानीयहरु बताउँछन्। 

सब वे निर्माण सकिए पछि पञ्चायत विरोधी आन्दोलन भएको थियो। सोही आन्दोलनमा प्रदर्शनकारीहरुले सब वेमा क्षति पुर्‍याएका थिए। चित्रकार भन्छन्, 'आक्रोशित भीडले पञ्चायतले बनाएको सबै संरचना बिगार्दै लगे। त्यसको सिकार सब वे पनि बन्यो। पञ्चायती सब वे भनेर तोडफोड गरौं भन्ने जमात थियो।'

त्यही तोडफोडमा सब वे निर्माणबारे उल्लेख गरिएको शिलालेखमा समेत क्षति पुगेको थियो। 

**

८० वर्ष पुगेका कमल चित्रकार अहिले पनि कहिलेकाँही सब वे पुग्छन्। आफ्नो कार्यकालमा काठमाडौंलाई नौलो चिनारी दिएर विदा हुन पाएकोमा खुशी रहेको बताउँदै भन्छन्, 'अरुहरुले  तिम्रो पालामा बनेको सब वे भनेर भन्छन्। खुशी र गर्व महसुस हुन्छ।'  

मान्छेको सुविधाको लागि बनाएको सब वेमा पसलले बढी महत्व पाएको हो कि जस्तो उनलाई महसुस भएको छ अहिले। त्यसैले सब वेबाट ओहोरदोहोर गर्ने बटुवालाई सजिलो हुने गरि सब वे संचालन गर्नुपर्ने सुझाउँछन्। 

वडा अध्यक्ष बज्राचार्य भने पैदल यात्रुहरुलाई असजिलो भएको स्वीकार्छन्। तर सब वेमा पसल नराख्ने हो भने सब वेको प्रयोगमा कमी आउने तर्क गर्छन्।

करिब ३५ वर्षअघि आकाशे पुल बनाउने सपना देखेका चित्रकार अहिले भने सब वे नै उचित रहेको बताउँछन्। 

भन्छन् , 'अहिले सडकको अवस्था सबैले देखेकै छन्। बटुवालाई प्राथमिकता नै दिइएको छैन। सबैले पुल चढ्न सक्दैनन्। सडकपेटीमा हिँड्ने मानिसलाई समेत ध्यान दिनुपर्‍यो नि। शहरको सुन्दरता कायम होस्।'

अहिले शहिदगेटदेखि रानीपोखरीसम्म लस्करै आकाशे पुल छन्। ती पुलहरुबाट मान्छेलाई बाटो काट्न गाह्रो भएको र त्यसले शहरी सुन्दरतामा ह्रास ल्याएको चित्रकारलाई आभाष भएको छ। त्यसैले उनी अरु स्थानमा समेत सब वेको निर्माण बारे सोच्ने बेला भएको बताउँछन्। 

कलंकीमा अन्डर पास त बन्यो तर पैदल यात्रुहरु बाटो काट्न हम्मेहम्मे पर्‍यो। कलंकीको अन्डरपासबारे सुनेका चित्रकार भन्छन्,'त्यो बेला बजेट कम थियो। धेरै बजेट भएको भए अरु स्थानमा पनि बनाइन्थ्यो होला। तर अहिले त सक्छन् नि। हिँड्ने मान्छेलाई प्राथमिकतामा राखेर उचित स्थान हेरेर सब वे निर्माण गर्नुपर्छ।'

ठेकेदारको हातमा सबवे, वडालाई महिनाको ३३ हजार 

चित्रकारकै पालामा नगरको आर्थिक आम्दानीमा सहयोग हुने विश्वासमा सब वेमा पसल राख्नका निमित्त केही सटरहरु बनाइएको थियो। हाल भने सटर र खुल्ला पसल गरी करिब २५ वटा पसलहरु सब वे भित्र र बाहिर संचालनमा छ।  

साबिकको ३० हाल वडा नम्बर २७ मा रहेको भोटाहिटी सब वेको संचालन र व्यवस्थापनको जिम्मा अहिले राजु श्रेष्ठसँग रहेको छ। विक्रम संवत् २०५४ मा भएको स्थानीय निर्वाचन अन्तर्गत तत्कालीन वडा नम्बर ३० को अध्यक्षमा निर्वाचित चिनियामान बज्राचार्यको कार्यकालमा श्रेष्ठले ठेक्का पाएका थिए। 

सबवे भित्रका पसल।

बज्राचार्यका अनुसार २०५४ भन्दा अघि सब वेको संचालनको जिम्मेवारी ट्राफिक/प्रहरीसँग थियो। उल्टै महानगरले सब वे संचालनका लागि बजेट दिन्थ्यो। तर राम्ररी संचालन हुन नसकेपछि सब वेको स्वामित्व वडामा ल्याएर त्यसको संचालन सुरु गरिएको उनले बताए। 

बज्राचार्यका अनुसार चित्रकारको समयमा बनेको सब वे केही समय प्रयोगमा आयो तर दिगो रुपमा संचालन हुन सकेन। त्यत्रो खर्चमा बनेको सब वे धेरै वर्षसम्म बन्द रह्यो। वर्षायाममा सब वे भरी पानी जम्थ्यो। 

निर्वाचित भएपछि उनले सब वे संचालन गर्न धेरै प्रयास गरे, तर सकेनन्। बल्ल राजु श्रेष्ठले सब वे संचालन गर्छु भन्यो र अहिलेसम्म सब वे संचालनमा आएको उनको तर्क छ।  

पहिलो पटक पाँच वर्षका लागि ठेक्का लिँदा राजु श्रेष्ठले वर्षको ४० हजार वडालाई बुझाउने सहमति भएको थियो। 

ठेक्का दिएर संचालन गर्न दिएपनि वर्षातको समयमा पानीले सब वे भरिँदा समस्या भएको उनी सुनाउँछन्। भन्छन्,' आकाशे पानीलाई ट्यांकीहरुमा जम्मा गरेर श्रेष्ठले सब वे संचालन गरे। अहिले भने पानी आउन रोकिएको छ।' श्रेष्ठले हाल वर्षको करिब चार लाख वडा कार्यालयमा बुझाउँदै छन्। अर्थात् मासिक ३३ हजार चानचुन। 

सब वे भित्रको दृश्य।

सब वेमा व्यवसाय गर्दै व्यापारीहरु भने प्रति सटर नै महिनाको ७ हजारदेखि २० हजारसम्म भाडा तिर्दै आएको बताउँछन्। 

तर, अधिकांश व्यापारीले वास्तविक भाडा खुलाएनन्। भाडा र व्यापारका विषयमा व्यापारीहरु खुलेर बोल्न चाहेनन्।

९ वर्षदेखि सब वेमै ‍जिन्सी कपडा व्यवसाय संचालन गरिरहेका मदन थापाले सटरको १५ हजार तिरिरहेको बताए। उनले सडकमुनि रहेको प्राय सटरको १५ हजार भन्दा बढी भाडा नरहेको र खुल्ला पसलको भाडा भने कम रहेको बताए। 

तर मदनको पसलसँगै रहेका एक सटरका व्यापारीले भने आफ्नो पसलको सात- आठ हजार मात्रै तिर्ने गरेको बताए। 

अन्य केही व्यापारीसँग भाडाका बारेमा जिज्ञासा राख्दा उनीहरु असजिलो महसुस गरिरहेका देखिन्थे। रत्नपार्क पट्टीको सब वेभित्र छिर्ने गेटसँगै रहेको जुत्ता व्यापारीले आफूले २० हजार तिरिरहेको बताए। 

व्यापारीहरुले भाडाका बाहेक पसलभित्रको प्रयोग हुने बिजुलीको छुट्टै पैसा तिर्ने गरेका छन्। यस्तै, सब वेमा व्यापार संचालन गरिरहेका व्यापारीहरुले आफूले तिरेको रकम वापत् कुनै रसिद पाएका छैनन्। उनीहरुले सबै रकम ठेकेदारलाई बुझाउने गरेको र अरु केही थाहा नभएको बताए।

हुनत ठेकेदारले चर्को भाडा उठाएर वडालाई कम भाडा तिरिरहेको आरोप धेरै समयदेखि लाग्दै आएको हो। पसलहरुको भाडा वापत ठेकेदारले महिनामा लाखौं उठाउने र वडामा वर्षको ४ लाख बुझाउने गरेको भन्दै विरोध नभएको पनि होइन। 

यही सडक मुनि भूमिगत सबवे रहेको छ। 

सब वे खन्दा फेला परेको 'ढुंगेधारा' 

सब वे निर्माणका लागि रत्न पार्कबाट भोटाहिटी जाने सडकमा उत्खनन गर्दा ढुंगेधारा लगायत केही पुरातात्विक वस्तु भेटिएको थियो। 

चित्रकार सम्झन्छन् ' ढुंगेधाराबाट धमिलो पानी आइरहेको थियो। परिक्षण गर्दा पिउन नहुने र विषालु भेटियो। त्यसपछि ढुंगेधारालाई सडक विभागले लग्यो। उनीहरुले ती वस्तु पुरातत्वलाई दिए।'

सब वेको निर्माणका बारे हामीले सडक विभागमा बुझ्दा पुराना कागजातहरु फेला नपरेको उत्तर दिइयो।

उत्खन्नका क्रममा फेला परेका ढुंगेधारा लगायतका सामाग्रीका हाल छाउनी स्थित राष्ट्रिय संग्रहालयमा सुरक्षित रहेको संग्रहालय प्रमुख जयराम श्रेष्ठले बताए।
                                                                                
त्यसबेला उत्खननका क्रममा फेला परेको ढुंगेधारा नै प्राचिन भोटाहिटी रहेको अनुमान गरिएको थियो। तर कमल भने हाल भोटाहिटीस्थित साझा भवन रहेको स्थानमा प्राचिन भोटाहिटी रहेको कथन सुनाउँछन्। भेटिएको ढुंगेधाराबाट रानी पोखरीमा पानी जाने अनुमान गरिएको थियो। 

बि सं २०४१ सालमा प्रकाशित 'प्राचीन नेपाल' नामक जर्नलमा भेटिएको ढुंगेधारा र नेपाल लिपिमा मन्त्र कुँदिएको तामाको यन्त्रबारे उल्लेख गरिएको छ। शंकरमान राजवंशीले 'लिच्छवीकालीन भोटाहिटीको अभिलेख' शीर्षकमा उक्त धाराको चर्चा गरेका छन्। 

टुंडिखेलको विस्तार गर्ने क्रममा हिलो भएको खाल्डो पुर्दा धाराको अस्तित्व लोप भएको हुनसक्ने अनुमान सो लेखमा गरिएको छ। अस्तित्व लोप भएको १०० वर्ष भएको कुरा उत्खननका क्रममा फेला परेको तामाको पूजापात्रबाट थाहा हुने दाबी गरिएको छ। उत्खननका क्रममा चार धाराहरु स्पष्ट रुपमा देखापरेको उल्लेख गरिएको छ।  माथि वर्णन गरिएका एउटा धारा लिच्छविकालिन रहेको र अरु तीन धाराहरु प्रताप मल्लको पालामा बनेको हुन सक्ने बताइएको छ।

यस्तै तामाको यन्त्र भने प्रताप मल्लले लिच्छविकालिन धाराको जिर्णोद्धार गरी चढाएको हुन सक्ने विश्वास गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell