काठमाडौँ : स्वास्थ्य मन्त्रालयले बर्ड फ्लुबाट नेपालमा पहिलो पटक एक जनाको मृत्यु भएको पुष्टि गरेपछि यो रोगबारे चासो बढेको छ।
बिहीबार स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरीले स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् २१ वर्षका युवकको बर्ड फ्लुका कारण मृत्यु भएको बताएकी हुन्।
चैत १५ गते उनको मृत्यु भए पनि आज बल्ल बर्ड फ्लुकै कारण उनको मृत्यु भएको सरकारले पुष्टि गरेको हो।
यस्तो छ पत्रकार सम्मेलनमा वितरण गरिएको बर्ड फ्लु (एच ५ एन १) बारे थाहा पाउनै पर्ने नौ प्रश्न र उत्तर
प्रश्न १ : एच ५ एन १ के हो ?
एच ५ एन १ एक प्रकारको अत्याधिक संक्रमण हुने इन्फ्लुएन्जा भाइरस हो। यसले चराचुरुङ्गीमा श्वासप्रश्वासको समस्या गराउँछ। एच ५ एन १ ले मानिसमा कहिलेकाहीं मात्र संक्रमण गर्छ। तर यो मानिसबाट मानिसमा सितिमिति सर्दैन। जब यसले मानिसहरुमा संक्रमण गर्दछ तब मानिसको मृत्यु हुने सम्भावना लगभग ६० प्रतिशत हुन्छ।
प्रश्न २ : एच ५ एन १ इन्फ्लुएन्जा मानिसहरूमा कसरी फैलिन्छ?
एच ५ एन १ को लगभग सबै संक्रमण प्रत्यक्ष संक्रमित वा मृत पंक्षीहरू, वा एच ५ एन १ प्रदुषित वातावरणसँग सम्बन्धित हुन्छ। यसले मानिसलाई सजिलै संक्रमित गर्दैन, र यो मानिसबाट मानिसमा सामान्यतया सर्दैन। राम्रो तरिकाले तयार गरेको र राम्रो तरिकाले पकाएको खानाको माध्यमबाट मानिसहरुलाई यो रोग फैलिन सक्ने वा सरेको कुनै पनि प्रमाण छैन।
प्रश्न ३ : एच ५ एन १ इन्फ्लुएन्जाले किन धेरै चिन्तित बनाएको छ?
चराचुरुङ्गीमा संक्रमण गर्ने यो भाइरसले मानिसलाई संक्रमित गरेमा मानिसमा यसले गम्भीर समस्याहरु हुने र अंगप्रत्यंगले काम गर्न नसक्ने बनाउँछ र मृत्युको मुखमा पुर्याउँछ। मानिसमा यसको संक्रमण भएमा मृत्यु दर उच्च छ। त्यस्तै कुनै पनि भाइरसहरुले आफ्नो स्वरुप परिवर्तन गर्न सक्ने क्षमता राख्दछन्। त्यसैले यदि एच ५ एन १ सजिलै परिवर्तन भयो र मानिसबाट मानिसमा सर्न सक्ने भएमा जनस्वास्थ्यमा गम्भीर असर गर्छ। त्यसैले यसबारे धेरै गम्भीर चिन्ता हुने गरेको हो।
प्रश्न ४ : किन एच ५ एन १ इन्फ्लूएन्जा भाइरस परिवर्तन हुन सक्छ?
इन्फ्लूएन्जा भाइरसले नियमित आफ्नो वंशानुगत गुणहरु परिवर्तन गर्छ। यदि मानिसमा सजिलै सर्न सक्ने भएमा समस्या हुन्छ ।
प्रश्न ५ : मानिसहरूमा यस इन्फ्लूएन्जाका के के लक्षणहरू हुन्छन् ?
- उच्च ज्वरो आउनु
- खोकी लाग्नु
- घाँटी दुख्नु
- मांशपेसीहरु दुख्नु
- शुरुमा पेट दुख्ने, छाती दुख्ने, पखाला लाग्ने समेत हुन सक्छ
- संक्रमण छिटै फैलिएर सास फेर्न गाह्रो हुनु, तिव्ररुपमा श्वासप्रश्वासमा कठिनाई देखा पर्न, निमोनिया हुनु, दम हुनु आदि लक्षणहरु
प्रश्न ६ : कुखुरा र कुखुराजन्य उत्पादन तथा अन्य चराचुरुङ्गीको मासु खान सुरक्षित हुन्छ?
अवश्य पनि हुन्छ। तर यसका लागि राम्ररी तयार गरी पकाउने कुरा महत्वपूर्ण हुन्छ। अन्य भाइरसहरु झैँ यो भाइरस पनि तातो प्रति धेरै नै संवेदनशील हुन्छ। सामान्य खाना पाक्ने तापक्रममा यो भाइरस पूर्ण रुपमा मर्छ। तर पकाउँदा विचारणीय कुरा के हो भने पकाइएका सबै भागहरूमा न्यूनतम ७० डिग्री सेल्सियससम्म तापक्रम पुग्नुपर्दछ। अर्थात राम्ररी सबैतिर तापक्रम पुगेर सबै भाग पाकेको हुनुपर्दछ। यसले सबै भाइरसहरु मर्दछन् र हामीले ढुक्कले खान सक्छौँ।
सावधानीको रूपमा कुखुरा तथा कुखुराजन्य उत्पादनहरु तथा अन्य चराचुरुङ्गीहरु सधैँ राम्रो, स्वस्थ, स्वच्छ हुनुपर्दछ र राम्रो तरिकाले पकाएको हुनुपर्दछ भन्ने विश्व स्वास्थ्य संगठनको समेत सुझाव छ। आजसम्म पनि यस भाइरसको धेरै संक्रमण घरायसी रुपमै पाल्ने, काट्ने तथा रोग लागेर मरेका चराहरुलाई चलाउने, प्रयोग गर्ने वा ओसार पसार गरेकाहरुसँग जोडिएको पाइएको छ। त्यसैले यस किसिमका बानीव्यवहारहरुलाई उच्चतम जोखिम बुझेर सुधार गर्नु चाहीँ महत्वपूर्ण हुन्छ।
प्रश्न ७ : मानिसहरूमा यसको उपचार कसरी गरिन्छ ?
यो मानिसहरुमा प्रायः गम्भीर रोगको रुपमा विकास भएर देखा पर्ने हुँदा सुविधायुक्त अस्पतालहरुमा आकस्मिक तथा सघन उपचार गर्नुपर्ने हुन्छ। एन्टिभाइरल औषधिले बिरामीको गम्भीरता घटाउन र मृत्यु रोक्न सक्ने भएकोले यसको प्रयोग गरिन्छ।
प्रश्न ८ : एच ५ एन १ एभियन इन्फ्लुएन्जाको मानव संक्रमण रोकथामका लागि खोप उपलब्ध छ?
एच ५ एन १ संक्रमणको रोकथामको लागि खोपको विकास भएको छ, तर यो अझै पनि व्यापक उपयोगको लागि तयार छैन।
प्रश्न ९ : के मौसमी इन्फ्लुएन्जा (मौसमी फ्लू/ मौसमी रुघाखोकी) खोपले एच ५ एन १ भाइरसविरुद्ध सुरक्षा प्रदान गर्दछ?
मौसमी इन्फ्लूएन्जाको खोपले एच ५ एन १ विरुद्धको संक्रमणमा काम गर्दैन अर्थात् सुरक्षित बनाउन सक्दैन ।