PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

चर्काचर्की जारी छ..., नर्सिङ संघका अध्यक्ष भन्छिन् : म प्रधानमन्त्री हो र तिमीहरुको माग पूरा गर्न?



सागर बुढाथोकी

चर्काचर्की जारी छ..., नर्सिङ संघका अध्यक्ष भन्छिन् : म प्रधानमन्त्री हो र तिमीहरुको माग पूरा गर्न?

काठमाडौं : नेपाल नर्सिङ संघको परिसर पछिल्लो तीन दिनदेखि तनावग्रस्त छ। मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका नर्सहरु अन्यायमा पर्दा संघले असहयोग गरेको भन्दै यहाँ धर्नामा छन्।

हिजो सोमबार संघकी अध्यक्ष तारा पोखरेल उनीहरुले लगाएको ताला तोडेर जबर्जस्ती कार्यकक्षमा पसिन्। दिनभर छलफल भयो तर कुनै निष्कर्ष निक्लिएन। यस्तो क्रम दोहोरिएको महिनौं भइसक्यो। त्यसैले यस पटक निर्णायक आन्दोलनमा छन्, आन्दोलनरत नर्सहरु।

उनीहरु संघका अध्यक्ष पोखरेललाई कार्यकक्षमा छिर्न रोक लगाएर माग पूरा गराउन दबाब दिने रणनीतिमा छन्।

त्यहीबेला संघकी अध्यक्ष पोखरेलको 'इण्ट्री भयो। उनी कार्यकक्षामा प्रवेश गर्न प्रयास गरिन्। तर, सफल भइनन्। नर्सहरुले भर्‍याङमा बसेर उनलाई छेकिरहे। त्यसपछि पोखरेलले भनिन्, 'मलाई कार्यकक्षमा प्रवेश गर्न नदिएर तपाईँहरुको माग पूरा हुन्छ भने ठीक छ मलाई छिर्न नदिनुस्।'

भिँडबाट एक नर्सको आवाज आयो— 'यत्रो दिनदेखि तपाईँलाई हाम्रो समस्या सुनाइराखेका छौँ। खै त केही गरेको? अस्ति मन्त्रालयमा वार्ताका लागि भनेर बोलाउनुभयो पछि बिना कारण हिरासतमा थुने पुलिसले।'

यस्तो सुनेपछि पोखरेल उल्टै जंगिइन्, 'मैले थुनेको हो र? तपाईँहरु किन कुरा बुझ्नुहुन्न?'

नर्सहरुकोतिरबाट जवाफ आयो — 'हामीलाई यत्रो पीडा छ। हामी समस्यामा छौँ। तपाईँ हाम्रो आमाजस्तै मान्छे खै त हाम्रा लागि केही गरेको? हामीलाई अस्पतालले यत्रो अन्याय गर्दा किन एकपटक निरीक्षण गर्न अस्पताल नआएको?'

पोखरेलले फेरि भनिन्, 'म प्रधानमन्त्री/ स्वास्थ्यमन्त्री हो र तपाईँहरुका सबै माग पूरा गर्नलाई?'

नर्सहरु पनि जंगिए— 'हामीले जायज माग पूरा गर्नु भनेका छौँ। अस्पतालको निर्देशक बनाउनु भनेको होइन। तलब समयमा आओस्। श्रम शोषण नहोस्। वर्षौदेखि काम गरिरहेकाहरु निक्लिएर जाने अवस्था नआओस्। सेवा सुविधा सरकारी अस्पतालको जस्तै होस् र लामो समय कम गर्नेलाई स्थायी गरिओस् भन्ने हो।'

आफ्नो सामान्य माग पूरा गर्न संघले असहयोग गरेको उनीहरुले गुनासो गरे। अन्यायमा पर्दा संघले प्रभावकारी भूमिका नखेलेको भन्दै निराशा पोखे। त्यहीबेला अर्की नर्सले थपिन्, 'अस्पतालको निर्देशकले आफ्नो मान्छे छिराएर पहिलेदेखि काम गर्नेलाई निकाल्न राजनीति गरिरहेका छन्। खोई तपाईँहरुले हेरेको? हाम्रो लागि यत्ति पनि गर्न नसकेपछि संघ हुनुको के अर्थ भयो?'

'तिमीहरुलाई बिस्तारै बोल्न आउँदैन? कति धेरै जंगिएको? अस्पतालमा धर्ना देउ तिमीहरु गलत ठाउँमा धर्ना दिइरहेका छौँ,' उनी पनि के कम?

पोखरेलले जंगिदै आफ्नो कुरा राखिन्। ठूलो स्वरमा बोलेर अपमान गरेको सुनाइन् उनले। केही गर्ने प्रयास गर्दागर्दै कुरा नबुझेको भनेर उल्टै नर्सहरुसँग रिसाइन्।

'यस्तो पीडामा हुँदा कसलाई राम्रो बोल्न आउँछ? तपाईँ हामीसँग एकछिन बोल्दा त जंगिसक्नुभयो। हामी त वर्षौदेखि पीडित छौँ। यस्तो अवस्थामा कसरी राम्ररी बोल्नु?'

नर्सहरुले पीडा सुनाउन थाले। अस्पतालले पटकपटक अन्याय गरेको आरोप लगाए।

'तिमीहरु चुप लाग। सबैले मुखमा एक एक वटा बिस्कुट हाल,' यसो भन्दै पोखरेल फोन डायल गर्न थालिन्।

उताबाट स्वास्थ्य सचिव पुष्पा चौधरीको आवाज आयो — 'हेल्लो।'

पोखरेलले यताको ताजा अवस्था जानकारी गराइन्। नर्सहरुले हैरान पारेको गुनासो गरिन्।

चौधरीले भनिन्, 'यो विषय हेर्ने प्रशासनतर्फका सचिवले हो। उतै फोन गर्नुस्।'

पोखरेलले प्रशासन तर्फका सचिव केदारबहादुर अधिकारीलाई फोन डायल गरिन्। पोखरेलको कुरा सुनेपछि अधिकारीले भन — 'उहाँहरुसँग म पहिले नै बसेको हो। उहाँहरुको केही माग जायज छ। त्यसमा हामीले सहयोग गर्ने प्रतिवद्धता जनाइसकेका छौँ। अहिले उहाँहरुसँग मिटिङ बस्ने हामीसँग फुर्सद छैन।'

फोन काटियो। पोखरेलले सचिवले भनेको कुरा ब्रिफ्रिङ गरिन्। नर्सहरु फेरि जंगिए यस्ता प्रतिबद्धताका कारण हामी धेरै पटक फसिसकेका छौँ। लिखित प्रतिबद्धता दिने हो भने हामी आन्दोलन गर्दैनौं।'

त्यसपछि पोखरेल चुप भइन्। नर्सहरु यस्तै प्रतिवद्धताले आज यो दिन भोग्नु परेको भन्दै गुनासो गरिरहे। अब माग पूरा नगरेसम्म प्रतिबद्धताको भरमै नफस्ने बताइरहे।

त्यही भिँडकी अर्की नर्सले भनिन्, 'हाम्रो अस्पतालका निर्देशकले हामीलाई निकाल्न नयाँ 'भ्याकेन्सी' खुलाएका छन्। हामी परीक्षा दिएर फेरि काम गर्न तयार छौँ। तर, छयानब्बे वटा पोस्टका लागि हजार भन्दा बढी निवेदन परेका छन्। त्यही अस्पतालमा सात वर्ष काम गरेका कर्मचारीहरुलाई 'इक्जाम' दिन नमिल्ने प्रावधानहरु भ्याकेन्सीमा छ। यसको बारे कसले हेर्ने?'

'मलाईँ थाहा छ तिमीहरुको माग जायज छ। तर म एक्लैले के गर्न सक्छु त?,' — पोखरेलले केही गर्न नसक्ने अडान दोहोर्‍याइन।

फेरि आवाज आयो— 'डाक्टर पुकारचन्द्र श्रेष्ठले राजीनामा दिएपछि सबै ठीक हुन्छ। अस्पतालमा बसेर उसले राजनीति गर्न मिल्छ? आफ्नो मान्छे छिराएर अरुको भविष्य बर्बाद गर्न मिल्छ?'

पुकारको राजीनामाको कुरा सुनेपछि पोखरेलले भनिन्— 'पुकारलाई निकालेपछि प्रत्यारोपण चाहीँ कसले गर्छ?'

'ऊ भन्दा खतरा खतरा डाक्टरहरु छन्। ऊ नहुँदा आकासै खस्छ जस्तो कुरा नगर्नुस् म्याम। कि त उसले अस्पतालमा बसेर अन्याय र राजनीति गर्नुभएन कि त राजीनामा दिनुपर्‍यो। उसकै कारणले अस्पतालको भद्रगोल भएको छ। बिरामीहरुको बिजोक भएको छ।'

नर्सहरुले यस्तै यस्तै ब्रिफिङ गरिरहे।

त्यसपछि पोखरलले फेरि स्वास्थ्य मन्त्रालयमा फोन डायल गरिन्। सबै समस्या सुनाएपछि मन्त्रालयबाट छलफलको लागि नर्सहरुलाई लिएर आउन निर्देशन आयो।

पोखरेलले कार्यकक्षमा छिरर 'लेटरप्याड' झिक्न आग्रह गरिन्। तर, नर्सहरुले मान्दै मानेनन्। भने, 'हिजो पनि त्यसै भनेर हामीलाई झुलाउनुभयो। छलफलको लागि जान किन लेटर प्याड चाहियो?'

यही विषयमा लामो समयसम्म चर्काचर्की भयो। पोखरेल कार्यकक्ष छिर्न नसेकपछि जंगिँदै बाहिर चौरमा गएर बसिन्। नर्सहरु भने— 'हामी मानव अंग प्रत्यारोपण लागि यही शहीद हुन तयार छौँ। उहाँको के भर वार्ताको लागि भनेर हिरासतमा अस्ति थुनेको जस्तै थुन्न नि सक्नुहुन्छ।'

दिनभरि यही विषयमा नर्सिङ संघको प्राङ्गणमा चर्काचर्की जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell