PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

प्रधानमन्त्री ओली भियतनाम प्रस्थान, यस्तो छ भ्रमण तालिका



पहिलोपोस्ट

प्रधानमन्त्री ओली भियतनाम प्रस्थान, यस्तो छ भ्रमण तालिका

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो विदेश यात्रामा निस्किएका छन्। बिहीबार बिहान प्रधानमन्त्री ओली भियतनाम प्रस्थान गरेका छन्। वैशाख ३० गते प्रधानमन्त्री कम्बोडिया प्रस्थान गर्ने कार्यतालिका छ।

भियतनाम भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनले त्यहाँ भियतनामको राष्ट्रियसभाका अध्यक्षसँगसमेत भेटवार्ता गर्नेछन्। भेटवार्ताका क्रममा दुई देशबीचको सम्बन्ध प्रवर्द्धन गर्नका लागि केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। सम्झौताका विषय मन्त्रालयले सार्वजनिक गरेको छैन।

भियतानम भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँको हो ची मिन्ह नेशनल एकेडेमी अफ पोलिटिक्समा विशेष प्रवचन दिने छन्। त्यस्तै भियतनामको राजधानी हानोइमा आयोजना हुने नेपाल(भियतनाम व्यावसायिक फोरममासमेत सम्बोधन गर्नेछन्। प्रधानमन्त्री ओलीले त्यहाँ नेपालको पर्यटन प्रवर्द्धन तथा लगानीका विषयमा चर्चा गर्ने बताइएको छ।

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल-भियतनाम सिधा हवाई उडान सम्झौताको परिमार्जन तथा कार्यान्वयन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी सरकारले गरिएको छ। सन् २०१५ मा दुई देशबीच सम्झौता भएको थियो। तर कार्यान्वयनमा आउन सकेको छैन।

त्यस्तै प्रधानमन्त्री ओली भियतनाममा आयोजना हुने बौद्ध धर्मसम्बन्धी सम्मेलनमा सम्बोधन गर्ने छन्। संयुक्त राष्ट्र संघको बुद्ध जयन्ती दिवस समारोह यस पटक भियतनामको उत्तरी प्रान्त हा नाममा हुँदैछ। सम्मेलन मे १२-१४ मा हुनेछ।

भियतनामको भ्रमण सकेर वैशाख ३० गते कम्बोडिया प्रस्थान गर्नेछन्। प्रधानमन्त्री हु सेनको निमन्त्रणामा ओली कम्बोडिया जान लागेका हुन्।

गत मंसिरमा युनिफिकेसन चर्च निकट युनिभर्सल पिस फेडेरेसनले आयोजना गरेको एसिया प्यासिफिक समिटमा सहभागी हुन नेपाल आएका कम्बोडियाका प्रधानमन्त्री हु सेनले प्रधानमन्त्री ओलीलाई कम्बोडिया भ्रमणको निम्तो दिएका थिए। विवादास्पद चुनावमार्फत एकलौटी सरकार बनाएका हुले पछिल्लो पटक अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास गरिरहेका छन्।

कम्बोडिया भ्रमणका क्रममा दुई समकक्षीबीच द्विपक्षीय भेटवार्ता हुनेछ। त्यस्तै प्रधानमन्त्री ओलीसँग त्यहाँ राष्ट्रियसभा र सिनेटका अध्यक्षसँग भेटवार्ता गर्ने छन्।

सो भ्रमणका क्रममा नेपाल-कम्बोडिया सिधा हवाई उडान सम्झौताको कार्यान्वयनको विषयमा छलफल हुने बताइएको छ।

दुई देशबीच भएको सम्झौता अनुसार नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सुरु गर्न सकिनेछ। यस्तै सातामा १४ वटा उडान गर्न पनि दुई देश सहमत भएका थिए।

प्रधानमन्त्री ओली जेठ १ गते स्वदेश फर्किने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell