PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

१३औं सागको तयारीमा हामी लागिसक्यौँ, यसपटक धेरै पदक जित्छौं : खेलकुदमन्त्री विश्वकर्मा



पहिलोपोस्ट

१३औं सागको तयारीमा हामी लागिसक्यौँ, यसपटक धेरै पदक जित्छौं : खेलकुदमन्त्री विश्वकर्मा

काठमाडौं : युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले नेपालमा आगामी डिसेम्वरमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा सरकार जुटिरहेको बताएका छन्।

१३औँ साग २०१९ डिसेम्वर १ देखि १० तारिखसम्म नेपालमा आयोजना हुँदैछ।

भौतिक पूर्वाधार नै मुख्य चुनौतीका रुपमा रहेपनि मन्त्री विश्वकर्माले नेपालमा १३औँ साग आयोजना हुने मितिबारे पनि कुनै द्विधा नभएको प्रष्ट पारे।

'साग अन्तर्राष्ट्रिय महत्वको, नेपाल र नेपालीको प्रतिष्ठाको रुपमा रहेको छ। नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद सबै निकाय १३औँ सागको तयारीमा लागिरहेको छ।' शुक्रवार रिपोरटर्स क्लबमा आयोजित कार्यक्रममा मन्त्री विकले भने।

यस्तै उनले सरकारको आर्थिक वर्ष २०७६-७७ सालको नीति तथा कार्यक्रममा पनि सन् २०१९ भित्रै अन्तर्राष्ट्रिय महत्वको १३औं साग आयोजना गर्ने विषय समावेश भएको र सरकार पनि समयमै गर्न प्रतिवद्ध रहेको बताए।

मन्त्री विश्वकर्माको अध्यक्षतामा बिहीवार बसेको बैठकले प्रतियोगिता तयारी तथा व्यवस्थापन समितिले  १३औँ सागबारे वभिन्न निर्णय गरेको र अब ततिब्र गितमा तयारी सुरु हुने बताए। 'हिजो बसेको समितिको बैठकले महत्वपूर्ण निर्णय गरेको छ। अब हामीले छिट्टै लोगो र मस्कट सार्वजनिक गर्छौं।’ यस्तै १३औँ सागका लागि सहभागी राष्ट्रहरुलाई औपचारिक रुपमै आमन्त्रण गर्ने पनि निर्णय भएको उनले जनाए ।

मन्त्री विश्वकर्माले १३औं साग आफूहरुको लागि गौरवको विषय पनि भएकोले भव्यताका साथ सम्पन्न जुटिसकेको बताए। ‘हामीले तेस्रो पटक सागको आयोजना गर्दैछौं। यो हाम्रो लागि मह्तवपूर्ण छ। विगतलाई हेर्दापनि हाम्रो गर्विलो ईतिहास छ। १९९९ मा नेपालले दोस्रो स्थान हात पारेको थियो।'

मन्त्री विश्वकर्माले सिमित स्रोत र साधनको बावजुदपनी नेपालले खेलकुद क्षेत्रमा प्रगति गरिरहेको स्पष्ट पारे। 'हामीलाई विगतको इतिहास बचाउने अभिभारा पनि छ। १३औँ साग सफलतापूर्वक सम्मपन्न गर्नुपर्छ।'

साथै उनले यो सागमा धेरैभन्दा धेरै पदक जित्ने आफूहरुको लक्ष्य र विश्वास रहेको पनि दावी गरे। उनले भने,‘हामी उच्च मनोबल र ठूलो लक्ष्य राखेर अघि बढिरहेको छ।’

त्यस्तै, तयारी तथा व्यवस्थापन समितिले राष्ट्रिय टिम घोषणा गर्नेदेखि लिएर खेलाडी छनौट गर्नेपनि उनले जनाए। उनले भने,‘खेलाडी छनौट गरिसकेपछि हामी बन्द शिविरमा राखेर आवश्यक प्रशिक्षण दिन्छौं। जेठसम्म सबै काम सम्पन्न गरिसक्छौं।’ १३औँ सागमा २७ वटा खेल समावेश रहने पनि उनले स्पष्ट पारे ।

 

पूर्वाधारको काम तिव्र गतिमा

मन्त्री विश्वकर्माले १३औँ सागको लागि पूर्वाधार निर्माणका काम तिव्र गतिमा भैरहेको पनि बताए। ‘भुकम्पपछि भत्किएको दशरथ रंगशालाको पूर्ननिर्माणको काम पनि तिव्र गतिमा भैरहेको छ। अब अन्तिम चरणमा पुगेको छ। सातदोबाटो पौडी पोखरीको पनि निर्माण कार्य सम्पन्न भैसकेको छ। सातदोवाटोकै तेक्वाक्दो र कराँतेको हलपनि निर्माण भैसकेको छ। पोखरा रंगशाला निर्माण तिव्र गतिमा भैरहेको छ। असार मसान्तसम्म सबै संरचनाको निर्माण कार्य सम्पन्न भैसक्ने मन्त्री विश्वकर्माको दाबी छ ।

मन्त्री विश्वकर्माले साग आयोजना तथा सञ्चालनसम्बन्धी कार्यविधिपनि आउने हप्ता मन्त्रिपरिषद बैठकमा पेस हुने जनाए। ‘कार्यविधि पेश भएपछि हामी मसिनो ढंगले तयारीमा लाग्छौं। आन्तरिक प्रतियोगिता सञ्चालन गर्नपनि आधुनिक रंगशाला निर्माण गर्नुपर्ने भएकोले सोही अनुसार आफूहरु निर्माण प्रक्रियामा लागिरहेको पनि मन्त्री विश्वकर्माले जनाए।

उनले नेपालमा अहिलेसम्म आधुनिक र सुविधा सम्पन्न भौतिक पूर्वाधार बन्न नसकेको स्वीकार गर्दै मन्त्री विश्वकर्माले पूर्वाधार नभई खेलको विकास हुन नसक्ने बताए। त्यसको लागि उपत्यका लगायत सात वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशालमा बनाइने उनले बताए।

काठमाडौं उपत्यकाभित्र खेलकुद भौतिक संरचना बनाउनको लागि जग्गा प्राप्तिको प्रक्रिया समेत सरकारले सुरु गरिसकेको उनले जानकारी दिए। त्यस्तै, ७ वटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको आधुनिक रंगशाला बनाउने र ७५३ वटै स्थानीय निकायमा एउटा एउटा खेलग्राम बनाउने पनि उनले जनाए। त्यसको लागि आगामी बजेटमै सबै कुराको उचित व्यवस्था गरिने पनि उनले स्पष्ट पारे।

उनले अबको ३-४ वर्षपछि नेपालमा खेलकुदको लागि भौतिक पूर्वाधारको अभाव नहुने बताए।

साग प्रतियोगितामा कति नेपाली खेलाडी सहभागी हुन्छन् भन्ने कुरा निर्धारण भैनसकेको उनले स्पष्ट पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell