PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

आइपीएल : चेन्नाई आठौं पटक फाइनलमा, दिल्ली बाहिरियो



पहिलोपोस्ट

आइपीएल : चेन्नाई आठौं पटक फाइनलमा, दिल्ली बाहिरियो

साविक विजेता चेन्नाई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपीएल)-२०१९ को फाइनलमा प्रवेश गरेको छ। शुक्रवार भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नाईले फाइनलमा स्थान बनाएको हो।

दिल्लीले दिएको १४८ रनको लक्ष्य चेन्नाईले १९ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो।

चेन्नाईले अब उपाधिका लागि आइतवार मुम्बई इन्डियन्ससँग खेल्नेछ। पहिलो क्वालिफायरमा चेन्नाईलाई नै हराउँदै मुम्बईले फाइनलमा स्थान बनाएको हो।

मुम्बईसँग हारेपछि अर्को मौका पाएको चेन्नाईले त्यसलाई सहि सदुपयोग गर्नै फाइनलमा स्थान बनाएको हो। उता लिग चरणमा तेस्रो भएपछि एलिमिनेटर खेलेको दिल्लीले सनराइजर्स हैदरावादलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएपनि चेन्नाई विरुद्ध राम्रो खेल्न सकेन।

दिल्ली विरुद्ध जित दिलाउन चेन्नाईका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे भने ओपनरद्वय फाप डु प्लेसिस र शेन वाट्सनले अर्धशतक प्रहार गरे। दुवै खेलाडी ५० रन बनाएर आउट भएका थिए।

दिल्लीले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाईले सुस्त सुरुवात गरेपनि दुई खेलाडीले अर्धशतक बनाएपछि चेन्नाई सहजै जितसम्म पुगेको हो।

वाट्सले ३२ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे। यस्तै ३९ बल खेलेका डु प्लेसिसले ७ चौका र १ छक्का प्रहार गरे। सुरेश रैना ११ रन बनाएर आउट भए।

यस्तै अम्बाटी राएडुले नटआउट २० रन योगदान गरे। कप्तान महेन्द्र सिंह धोनी ९ रन बनाएर आउट भए। ड्वाने ब्राभो ४ रनमा नटआउट रहे।

दिल्लीका लागि ट्रेन्ट बोल्ट, इशान्त शर्मा, अक्सर पटेल र अमित मिश्राले १-१ विकेट लिए।

३ ओभर बलिङ गरेका किमो पल सबैभन्दा महाँगा सावित भए। उनले ३ ओभरमा ४९ रन खर्चिए भने विकेट लिन सकेनन्।

त्यसअघि विसाकापटानाममा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको थियो।

दिल्लीका लागि रिसव पन्तले सर्वाधिक ३८ तथा कोलिन मनरोले २७ रन बनाएका थिए। पन्तले २५ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे।

यस्तै शिखर धवनले १८ तथा कप्तान श्रेयास अयेरले १३ रन जोडे।

दिल्लीलाई कम स्कोरमा रोक्न चेन्नाईका दिपक चाहर, हर्भजन सिंह, रविन्द्र जडेजार ड्वाने ब्राभोले २-२ विकेट लिए। ब्राभोले ४ ओभरमा १९ रन मात्र खर्चे।

 

चेन्नाई आठौ पटक फाइनलमा, मुम्बईसँग चौथो फाइनल

मुम्बई र चेन्नाई एकै पटक फाइनलमा पुगेको यो चौथो पटक हो। यसअघिको तीन फाइनल भेटमा मुम्बईले २ तथा चेन्नाईले एक पटक जितेको छ।

सन्द २०१० मा चेन्नाईले मुम्बईलाई फाइनलमा पराजित गरेको थियो। तर सन् २०१३ र २०१५ मा भने मुम्बईले चेन्नाईलाई पराजित गरेको थियो।

चेन्नाई र मुम्बई दुवैले समान ३ पटक आइपीएलको उपाधि जितेको छ। यसपटक उपाधि जित्ने टिम सर्वाधिक ४ पटकको च्याम्पियन बन्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell