प्रधानमन्त्री केपी शर्मा ओली अहिले भियतनाम भ्रमणमा छन्। द्विपक्षीय समझदारी, लगानीको स्रोत पहिचान तथा पर्यटन प्रवर्द्धन लगायतमा भ्रमण केन्द्रित हुने ओलीले यसअघि नै बताइसकेका छन्।
आन्तरिक रूपमा विकासका 'ठूला सपना बाँडिरहेका' प्रधानमन्त्री ओली यस्तो देशमा छन् जुन देशको पछिल्लो आर्थिक विकासको आफ्नो छुट्टै संघर्ष छ। जसबाट नेपालले समेत सिक्न सक्नेछ।
सन् १९७५ मा २० वर्षे लामो युद्ध सकिँदासम्म विश्वकै कमजोरमध्ये एक अर्थतन्त्र भएको मुलुक भियतनाम अहिले मध्यम आय भएको देश बनेको छ। भियतनामको आर्थिक उन्नति एकाएक भएको हैन यसमा संघर्षको कथा जोडिएको छ। गरिब मध्येको एक मुलुक करिब बनिरहेको छ आर्थिक रूपमा सक्षम?
वर्ल्ड इकोनोमिक फोरममा कार्यरत अर्थशास्त्री पिटर वान्हामको यो आलेख-
+++++
भियतनामको राजधानी सहर हानोइको सडकमा हिँड्दा जो कोहीले अभूतपूर्व उत्साह महसुस गर्न सक्छन्।
मानिसहरू स्कुटरमा कुदिरहेका छन्। फोनदेखि खानेकुरासम्म सडक छेउका स-साना पसलबाट किनबेच भइरहेको छ। काममा जाने र स्कुल जानेहरूको कुदाइ र हतारो उस्तै देखिन्छ। भियतनाम यति बेला सबैले महसुस गर्न सक्ने गरी हुर्किरहेको छ, जवान छ र एकदमै उत्साहित पनि। तर ३० वर्षअघिसम्म पनि भियतनामलाई विश्वकै एक गरिब देशका रूपमा चिनिन्थ्यो। दक्षिण पूर्वी एसियाली देश यो अवधिमा मध्यम आय भएको देश बन्न सक्नुमा ठुलो संघर्षको कथा जोडिएको छ।
सन् १९७५ मा भियतनाममा जब २० वर्षे लामो युद्ध सकियो त्यस बेला भियतनामको अर्थतन्त्र विश्वकै कमजोरमध्ये एक थियो। भियतनामी सरकारको पञ्च वर्षीय विकासको योजना पनि एकदमै कमजोर थियो। सन् १९८० को दशकको मध्यतिर भियतनामको प्रतिव्यक्ति आय जम्मा २ सय देखि ३ सय डलरमा अड्किएको थियो।
तर त्यसैबेलापछि केही परिवर्तन सुरु भयो। सन् १९८६ मा सरकारले 'डोइ-मोइ' नामको आर्थिक र राजनीतिक पुनर्संरचनाको चरणबद्ध कार्यक्रम सुरु गर्योम जसले देशलाई 'सोसलिस्ट ओरियन्टेड मार्केट इकोनोमी'का रूपमा अघि बढाउन सफल भयो। आज भियतनामले विश्वकै जल्दोबल्दो बजारका रूपमा उपस्थिति जनाएको छ। यसको आर्थिक वृद्धि ६ देखि ७ प्रतिशतसम्म छ र यसको निर्यात नै जीडीपीको मुख्य स्रोत हो।
नाइकका स्पोर्ट्सवेयरदेखि सामसुङका स्मार्टफोन समेत यसै देशमा उत्पादन हुन्छ। युनिभर्सिटी अफ देलावरका सह-प्राध्यापक सेङ लुले भियतनामको समृद्धिबारे भन्छन् 'अब यहाँ सीमित कामदार र सीमित उत्पादन सुविधा बाँकी छ।'
विश्व बैङ्क तथा थिंक ट्याङ्क ब्रुकिङ्सका विश्लेषकहरूका अनुसार भियतनामको आर्थिक वृद्धिका पछाडि मुख्य तीन कारण जोडिएका छन्।
पहिलो यसले व्यापारमा उदारीकरणलाई अन्तरहृदयदेखि नै आत्मसाथ गरेको छ। दोस्रो यसले बाह्य उदारीकरणलाई आन्तरिक पुनर्संरचना तथा 'रिफर्म प्रोग्राम'बाट समायोजन गर्दै आएको छ।
डुइङ बिजनेसका लागि वातावरण बनाउनका लागि यसले लागत न्यून गर्ने तथा नियामकीय पक्षहरुको संशोधन गर्ने काम पनि गरिरहेको छ। तेस्रो, भियतनामले सार्वजनिक लगानीको रूपमा मानवीय तथा भौतिक क्षेत्रको विकासमा पुँजीलाई व्यापक परिचालन गरेको छ।
पहिलो कारणलाई विश्लेषण गर्ने हो भने विगतका २० वर्षमा भियतनामले विविध खुला बजार सम्झौताहरूमा हस्ताक्षर गरेको छ। सन् १९९५ मा भियतनाम आसियान खुला बजार क्षेत्रमा आवद्भ भयो। सन् २००० मा यसले अमेरिकासँग खुला बजार सम्झौता गर्यो भने सन् २००७ मा विश्व व्यापार सङ्गठनको सदस्य बन्यो। त्यसयता थप आसियान सम्झौता, चीन, भारत, जापान र कोरिया तथा यसै वर्षमात्र ट्रान्स प्यासेफिक पार्टनरसिप पीपीपी सम्झौता समेत गरेको छ। यी सबै सम्झौताहरूको प्रभाव बिस्तारै पर्दैछ जसबाट उसले आफ्नो आयात निर्यातका ट्यारिफहरुलाई बिस्तारै घटाउन सक्षम भइरहेको छ।
भियतनामी सरकारले आन्तरिक सुधारका कार्यक्रमहरूबाट पनि खुला अर्थतन्त्रलाई बढवा दिइरहेको छ। सन् १९८६ मा भियतनाममा विदेशी लगानी भित्र्याउने विषयमा पहिलोपटक कानुन बनायो। यसपछि विदेशी कम्पनीहरूलाई भियतनाम छिर्न सजिलो भयो। ल फर्म बेकर एण्ड म्याकेन्जीले सन् २०१६ मा जारी गरेको प्रतिवेदनमा भनिएको छ 'भियतनामले वैदेशिक लगानीसम्बन्धी कानुन पटक-पटक परिमार्जन गरेको छ। जसबाट अझै धेरै लगानीमैत्री अवधारणा अपनाउन सकियोस्। प्रशासनिक क्षेत्र तथा कर्मचारीतन्त्रको झमेलाबाट लगानीकर्तालाई मुक्त गर्ने तथा गुणस्तरीय वैदेशिक लगानी भित्र्याउन सजिलो होस्।'
वर्ल्ड इकोनोमिक फोरमको प्रतिवेदन अनुसार भियतनाम विश्व बजार प्रतिस्पर्धामा सन् २००६ मा ७७औँ स्थानमा थियो भने सन् २०१७ मा ५५ औँ स्थानमा आइपुग्यो। विश्व बैङ्कले डुइङ बिजनेसको श्रेणीमा पनि भियतनाम सन् २००७ मा १०४ औँ नम्बरमा थियो भने सन् २०१७ सम्म आइपुग्दा ६८ औँ स्थानमा आएको छ। गत वर्ष विश्व बैङ्कले जारी गरेको प्रतिवेदनमा 'भियतनामले सम्झौताहरूको पालना, ऋण तथा बिजुलीको पर्याप्तता, करको भुक्तानी तथा वैदेशिक व्यापारलगायत अन्य सबै क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको' जनाएको छ।
भियतनामले आफ्नो देशको मानवीय पुँजी तथा पूर्वाधारमा समेत धेरै ठुलो लगानी गरेको छ। तीव्र बढिरहेको जनसंख्याका कारण भियतनाममा हाल ९ करोड ५० लाख मानिस छन् जसमध्ये आधा जनसङ्ख्या ३५ वर्षभन्दा कम छन्। भियतनामले प्राथमिक शिक्षामा ठुलो सार्वजनिक लगानी गरेको छ। रोजगारी तथा दक्ष जनशक्तिका लागि यो आवश्यक पनि छ।
तर भियतनामले यो सँगै पूर्वाधारमा पनि व्यापक लगानी गरेको छ। आइटीमा यसले गरेको लगानीबाट इन्टरनेटमा सस्तो र धेरैको पहुँचको सुनिश्चितता गरेको छ। चौथो औद्योगिक क्रान्तिले दक्षिण पूर्वी एसियाको ढोका घच्घच्याइरहेको छ र भियतनामले आइटीको पूर्वाधारमा गरेको लगानी यसको पूर्वतयारीका रूपमा देखिन्छ।
यस्ता लगानीले प्रतिफल दिन्छन्। आवश्यक पूर्वाधार तथा बजारमैत्री नीतिहरूले भियतनाम विदेशी लगानी तथा उत्पादनका लागि दक्षिण पूर्वी एसियाको हब बनेको छ। जापानी तथा कोरियाली विद्युतीय उपकरण कम्पनीहरू जस्तै सामसुङ, एलजी, ओलम्पस, पायोनियर तथा विभिन्न युरोपेली तथा अमेरिकी तयारी पोसाक उद्योग भियतनाममा उद्योग खोलेका छन्। सन् २०१७ यता भियतनाम यस क्षेत्रकै सबैभन्दा ठुलो तयारी पोसाकको निर्यातकर्ता देश समेत बनेको छ भने दोस्रो ठुलो इलेक्ट्रोनिक्सको निर्यातकर्ता देश। इलेक्ट्रोनिक्समा सिंगापुर पहिलो नम्बरमा छ।
सन् २०१० देखि भियतनामको कुल ग्राहस्थ उत्पादनको वृद्धि वार्षिक कम्तीमा ५ प्रतिशत रहेको थियो भने सन् २०१७ मा यो ६.८ प्रतिशत पुग्यो। यस्तो तीव्र आर्थिक वृद्धिका कारण विश्वकै गरिब मध्येको देश सहजै मध्यम आय भएको मुलुक बन्न पुग्यो। यस्तै सन् १९८५ मा प्रतिव्यक्ति आय मुस्किलले २ सय ३० डलर पुग्नेमा सन् २०१७ सम्म आइपुग्दा यसको दश गुनाभन्दा बढी भएको छ अर्थात् अब भियतनामको प्रतिव्यक्ति आय २ हजार ३४३ डलर भएको छ। यस्तै प्रतिव्यक्ति क्रय शक्तिका आधारमा हेर्दा यो अझै उच्च देखिन्छ जुन ६ हजार डलरभन्दा माथि रहेको छ।
भियतनामको आर्थिक वृद्धि पनि समावेशी किसिमको देखिन्छ। वर्ल्ड इकोनोमिक फोरमको 'इन्क्लुजिभ डेभलपमेन्ट इन्डेक्स'का अनुसार भियतनामले आफ्नो वृद्धि प्रक्रियालाई अझ बढी समावेशी र दीगो बनाएको छ। महिलाहरूको ज्याला दर राम्रो अवस्थाको छ। महिलामाथिको भेदभाव कायमै भए पनि महिलाहरूको रोजगारी दर १० प्रतिशत देखिन्छ। पुरुषहरूजस्तै महिलाले नेतृत्व लिएको घर पनि गरिब नरहेको अध्ययनले देखाउँछ।
तर भियतनामको सबैभन्दा नकारात्मक पक्ष भनेको त्यहाँको सरकारले मानवअधिकार तथा गोप्यताका विषयमा लिएको नीति नै हो। भियतनामको प्रेस स्वतन्त्रता विश्वकै खराबमध्ये एक हो। नागरिकहरूको कडा निगरानी तथा मानवअधिकारवादीहरूलाई असहयोग गर्नु भियतनामको नराम्रो उदाहरण हो।
सन् २०१८ मा भएको वर्ल्ड इकोनोमिक फोरमको बैठकमा भाग लिन पुगेका दुई मानव अधिकारकर्मीलाई भिसा नदिएका कारण उनीहरूले प्रवेश पाएका थिएनन्।
तीव्र रफ्तारमा बढिरहेको भियतनामलाई केबाट खतरा होला? भियतनमले आफ्नो कुल ग्राहस्थ उत्पादनको ९९.२ प्रतिशत निर्यात व्यापारबाट प्राप्त गर्छ अर्थात् यसको सफलता विदेशी लगानी तथा व्यापारसँग अन्तरसम्बन्धित छ। विश्वमा उदाइरहेका नयाँ बजारहरुले विदेशी लगानी आकर्षित गर्न थाले भने भियतनामको बजारलाई असर पार्न सक्छ।
तर तत्कालको लागि भने भियतनामले बढ्दो विश्व व्यापार तनावबाट पनि फाइदा लिइरहेको छ। अमेरिकाले ट्रान्स प्यासेफिक पार्टनरसिपबाट पछि हटेपछि त्यसको ठुलो प्रभाव चीनलाई परेको छ। चीनसँग सम्बन्ध बिग्रिएर अर्बौँ डलरको चिनियाँ सामाग्रीमा बन्देज लगाएको अमेरिकाले आफ्नो उत्पादनको लागि चीन छोडेर भियतनाम जस्ता देशलाईलाई छान्दै जाँदा भियतनामले तयसको फाइदा उठाउन सक्छ।
तर भियतनाम बढ्दो पश्चिमी संरक्षणवादको सिकार भएन भने यसले आफ्नो वृद्धिको रफ्तार अझै बढाउँदै लैजान सक्छ। आन्तरिक तथा अन्तर्राष्ट्रिय रिटेलरहरुले पनि भियतनाममा आफ्नो तीव्र बिस्तार गर्न चाहिरहेका छन् किनभने त्यहाँको मानिसको क्रयशक्ति एकदमै बढी छ। जब मानिसको सेवा तथा बस्तुप्रतिको क्रयशक्ति बढ्न थाल्छ त्यहाँ रिटेलरहरु पनि बजार बिस्तार गर्न उत्साहित हुन्छन्। यसको अर्थ स-साना पसल तथा स्कुटरहरुले भरिएको भियतनामका सडकहरू बिस्तारै कारहरूले भरिन थाल्नेछन्। स-साना पसलहरूको ठाउँमा ठूला-ठूला मलहरू खडा हुनेछन्। तत्कालको लागि भने भियतनाम उत्साहका साथ आफ्नै रफ्तारमा दौडिरहेको छ।
(वर्ल्ड इकोनोमिक फोरममा कार्यरत अर्थशास्त्री पिटर वान्हामको यो आलेख मार्च २३, २०१९ मा पहिलोपटक प्रकाशित भएको हो। सान्दर्भिक भएकाले पुनः प्रकाशन गरिएको हो।)