PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

कम्युनिस्ट तानाशाह पोल पोटको देशमा नेपालका कम्युनिस्ट प्रधानमन्त्री ओली



विधुर ढकाल

कम्युनिस्ट तानाशाह पोल पोटको देशमा नेपालका कम्युनिस्ट प्रधानमन्त्री ओली
फोटो: AKP

काठमाडौं: सात दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको भ्रमणको क्रममा यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडियामा छन्। भियतनामको पाँच दिन लामो भ्रमण सकेर प्रधानमन्त्री ओली सोमबार कम्बोडिया पुगे।

कम्बोडिया भन्ना साथै अझै पनि विश्वले कम्युनिस्ट तानाशाह पोल पोटलाई सम्झिने गर्छ।

पोल पोट कम्युनिस्ट खमेर रुज सरकारका नेता हुन् जो चार वर्ष त्यहाँको सत्तामा रहे। सन् १९७५ देखि १९७९ सम्म उनी सत्तामा रहँदा १५ देखि २० लाख कम्बोडियाली नागरिकहरु मारिएको अनुमान छ। उनको शासनकालमा मृत्युदण्ड, भोकमरी, महामारीका कारण यति ठूलो संख्यामा मानिसहरु मारिएको अनुमान छ। त्यस्तै त्यहाँको एस–२१ नामको जेलमा करिब २० हजार कैदी राखिएकोमा जम्मा सात जना जीवित रहेका थिए।

मानवता र मानवीय मूल्यका आधारमा पोल पोटको शासनलाई विश्वकै बर्बर र पासविक शासनकालको रुपमा लिइन्छ। सन् १९२५ मा जन्मिएका पोल पोट सुरुमा बौद्ध धर्मका अनुयायी थिए।

पछि उनले त्यहाँको कम्युनिस्ट पार्टी प्रोटो कम्युनिस्ट खमेर जन क्रान्तिकारी पार्टी (केपीआरपी)को सदस्यता लिए। यो पार्टी सन् १९५१ मा पूर्वी भियतनामीहरुको समर्थनमा खोलिएको थियो। सन् १९५६ देखि १९६३ सम्म पोल अध्यापन गर्थे। उनले एक निजी विद्यालयमा इतिहास, फ्रान्सेली साहित्य पढाउँदै यसका साथसाथै उनले क्रान्तिको पक्षमा प्रचार पनि गरिरहेका थिए।

सन् १९६० मा पोल पोटले केपीआरपीलाई मार्क्सवादी र लेनिनवादी पार्टीको रुपमा स्थापना गरे। त्यसको तीन वर्षपछि उनीहरु कम्बोडियाको उत्तरी क्षेत्रमा पुगेर अभियान चलाए। यसबीच पोल पोटले गुरिल्ला तयार पारे ‘खमेररुज’। यही सेनाले १९६८ देखि आन्दोलनको घोषणा गर्‍यो। १९७० मा जनरल लोन नोलले त्यहाँका राजकुमार नोरोडम सिहानोक देशबाहिर भएका बेला सैन्य कु गरे। देशमा गृहयुद्ध शुरु भयो। राजकुमार आफैले पोल पोटको खमेर रुजको साथ दिए। उता जनरल लोन नोललाई संयुक्त राज्य अमेरिकाको साथ थियो।

दुबै पक्षले कम्बोडियामा नरसंहार मच्चाएका थिए। सोही समय करिब ७० हजार अमेरिकी र दक्षिणी भियतनामी सैनिकहरु भियतनाम र कम्बोडियाको सीमा उत्तरी भियतनामी र भेट कङको सेनासँग लड्न तयारी थिए। भियतनाम युद्धको हिस्साको रुपमा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले कम्बोडियामा पनि अप्रेसन चलाउन निर्देशन दिएका थिए। चार वर्षको अवधिमा अमेरिकी युद्धक विमानले पाँच लाख टन बम कम्बोडियामा खसालेको थियो जुन दोस्रो विश्व युद्धमा जापानमा खसालिएको भन्दा तीन गुणा बढी थियो।

अमेरिकी सेना भियतनाममा पराजित हुँदै गयो। सन् १९७३ देखि अमेरिकी सेनाको बमबाडी रोकियो। खमेर रुजको सेना बढ्दै गए। त्यतिवेला सम्म उनीहरुले कम्बोडियाको तीन चौथाई भूभाक कब्जामा लिएका थिए। लगत्तै उनीहरुले फ्नोम पेन्हमा रकेट आक्रमण थाले। १९७५ को जनवरी देखि उनीहरु राजधानी कब्जा गर्ने अन्तिम युद्धमा अगाडि बढे। खमेर रुजका सेनाले राजधानीमा रहेका विमानस्थलमा आक्रमण गरे। नदीको धारा रोकियो। अमेरिकी वायु सेनाले सहायता पुर्‍याउन सकेन्। अप्रिल १७ १९७५ मा खमेर रुजका गुरिल्ला शहर प्रवेश गरेर र राजधानी कब्जा गरे। यो गृहयुद्धमा पचास हजार भन्दा बढी कम्बोडियाली मारिएका थिए।

सन् १९७५ मा पोल पोट सत्तामा आए। खमेर रुजले सत्ता नियन्त्रण गरेपछि फ्नोम पेन्हका २५ लाख मानिसलाई निकाला गरियो। पूर्व कर्मचारी, चिकित्सक, शिक्षक तथा अन्य अधिकारीहरुलाई जनश्रममा हालियो। उनीहरुलाई एस–२१ जेलमा राखिएको थियो। जहाँ उनीहरु मारिए।

पोल पोटको शासनमा भएको नरसंहारमा मारिएका कम्बोडियनहरुको चिहान जताततै फैलिएको छ।

समाजवाद र साम्यवादलाई आफ्नो तरिकाले व्याख्या गर्दै उनले नीजि सम्पती, गरगहना, अध्ययन सामाग्री, धार्मिक सबै क्षेत्रमा नियन्त्रण गरे। कृषिलाई सामुहिककरण गरे। बालबालिकाहरुलाई अनिवार्य सैन्य तालिम दिलाए। यौन, पहिचरनका विषयमा कडा कानुन बनाए।

देशको नाम प्रजातान्त्रिक काम्पुचे राखे। सुरुवातमा पछाडि रहेर शासनमा दखल दिने पोल पोटले सन् १९७६ मा आफूलाई प्रधानमन्त्री घोषणा गरे। उनी सत्तामा आएसँगै भियतनाम र कम्बोडियाबीच सीमा विवाद चर्किँदै गयो।

युद्ध चर्किँदै गयो। सन् १९७७ देखि डिसेम्बर १९७८ सम्म भियतनामले ६० हजार लडाकु कम्बोडिया पठायो। गोली हवाई आक्रमणलाई तीब्र पार्‍यो। जनवरी ७ १९७९ मा राजधानी फ्नोम पेन्हलाई भियतनामी सेनाले कब्जा गर्‍यो। त्यसपछि पोल पोट पुन जंगल पस्न बाध्य भए। उनले गुरिल्ला युद्ध सुरु गरे।

त्यसपछि कम्बोडियामा नयाँ सरकार बन्यो। पुनः गुरिल्ला युद्ध सुरु गरेका पोल पोटले चीन बाट सैन्य सहायता र अमेरिकाबाट राजनीतिक समर्थन पाएका थिए। अमेरिकाले कम्बोडियामा भियतनामको हस्तक्षेपको विरोध गरेको थियो। पछि १९९१ मा खमेर रुजको प्रभाव कम हुँदै गए पछि पोल पोटले युद्ध विरामको सहमति गरे।

सन् १९९७ मा खमेर रुजकै विद्रोही समूहले पोल पोटलाई पक्राउ गरी आफ्नै घरमा कब्जामा लिए। उनी सन् १९९८ अप्रिल १५ मा ७२ वर्षको उमेरमा उनको मृत्यु भयो।

उनको मृत्यु भए पछि राष्ट्र संघको समर्थनमा रहेको समितिले खमेर रुजका केही नेतालाई मानवता विरोधी अपराधमा दोषी ठहर गरेको छ।

उस्तै विवादित हु सेन सरकार

सन् १९८५ देखि कम्बोडियाको सत्तामा रहेको प्रधानमन्त्री हु सेनको पार्टी कम्बोडियन पिपल्स पार्र्टी (सीपीपी) गत वर्ष जुलाई भएको निर्वाचनमा सबै १द्द५ सिट जित हात पार्दै विजयी भयो। त्यस भन्दा अगाडिको निर्वाचनमा कम मतले मात्र पराजित भएको कम्बोडियो नेशनल रेस्क्यू पार्टी (सीएनआरपी) यस पटकको निर्वाचनमा देखिएन

सन् २०१३ को निर्वाचनमा झिनो मतले पराजित भएको सीएनआरपीले २०१७ को निर्वाचनमा ४४ प्रतिसत जनमत पाएको थियो। त्यसको एक वर्ष पछि हुने भनिएको निर्वाचनमा यही पार्टीले जित्ने आँकल गरिएको थियो।

तर, हु सेनको सरकारले विपक्षी पाटी सीएनआरपी र त्यसका नेता माथि धरपकड सुरु गरे। सन् २०१८ मा एकलौटी चुनाव गराए।

निर्वाचनलाई विपक्षीहरुले धाँधली र एकलौटी भएको आरोप लगाइरहेका छन्। अमेरिका लगायतका पश्चिमा मुलुकहरुले पनि यसको विपक्षमा उभिँदै आएका छन्। अमेरिकाले निर्वाचनलाई धाधलीको संज्ञा दिँदै आएको छ। निर्वाचनमा विपक्षी मतलाई रोकिएको आरोप अमेरिकाले लगाउँदै आएको छ। अमेरिकाले यहाँका सरकारी नेताहरुलाई भिसामा प्रतिबन्ध लगाएको छ। इयुले पनि आर्थिक नाकाबन्दीलाई अगाडि बढाएको छ।

विपक्षी नेताहरुलाई पक्राउ, धरपकड र निर्वासनमा पठाएर भएको निर्वाचनले कम्बोडिया पश्चिमा मुलुकहरुबाट टाढिँदै गएको छ। प्रमुख विपक्षी पार्टी सीएनपीआरका निर्वासित नेता साम राइन्सेले निर्वाचनलाई प्रतिस्पर्धा विनाको विजयी बताउँदै आएका छन्।

उनले डर र त्रास देखाएर गरिएको गलत निर्वाचन परिणामले जनमतको अपमान गरेको आरोप लगाउँदै आएका छन्।

प्रमुख प्रतिपक्षी दललाई प्रतिबन्ध लगाउँदै स्वतन्त्र मिडियामाथि हस्तक्षेप भएको भन्दै अमेरिकाले हु सेन निकटका नेताहरु तथा सहयोगीमाथि प्रतिबन्ध लगाएको छ। जसमध्ये हु सेनका सुरक्षा दस्ताका कमाण्डर हिङ बुन हियङ प्रमुख छन्। यो प्रतिबन्धसँगै अमेरिकीहरुले उनीसँग कुनै सम्बन्ध राख्न पाउने छैनन्।

पश्चिमा मुलुकहरुको प्रतिवन्ध र असहयोग खेपिरहेको कम्बोडिया सरकारले एसियाली मुलुकहरुको समर्थन र सहयोग जुटाउँदै लगेको छ। चीनले कम्बोडियाको समर्थन गर्दै आएको छ। कम्बोडियाका प्रधानमन्त्री हु सेन दोस्रो बेल्ट एण्ड रोड फोरममा सहभागि हुन बेइजिङसमेत पुगेका थिए।

त्यस्तै हु सेनले जापानको पनि समर्थन हासिल गरेका छन्। गत सेप्टेम्बरमा उनी जापानको भ्रमण गरी त्यहाँको सरकारको समर्थन लिएका हुन्

त्यस्तै उनी गत वर्ष नै नेपाल आएका थिए। अहिले नेपाली प्रधानमन्त्रीलाई आफ्नो देशमा स्वागत गरेर नेपालको समर्थन लिएका छन्।

व्यापार तथा पर्यटन विस्तार सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

नेपाल र कम्बोडियाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। दुई देशले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रबर्द्धन गर्ने र व्यापार विस्तारलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा सहमति गरेका हुन्।

दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र कम्बोडियाका उद्योगमन्त्री सुय सेमले व्यापार तथा लगानी ढाँचासम्बन्धी सहमतिमा हस्ताक्षर गरेका हुन्।

त्यसैगरी नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबीच पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस अघि प्रधानमन्त्री ओली सोमवार कम्बोडियाको राजधानी पुगेका थिए। उनको स्वागतमा त्यहाँका वातावरण मन्त्री विमानस्थल पुगेका थिए। त्यसपछि उनले त्यहाँको स्वतन्त्रता शालिकमा पुगेर माल्यापर्ण गरे।

त्यहाँको पिस प्यालेसमा प्रधानमन्त्री ओलीलाई सम्मान गारथ अर्पण गरिएको थियो। लगत्तै दुई देशका समकक्षीबीच द्वीपक्षीय वार्ता भयो। वार्ताका क्रममा दुबै पक्षले उच्चस्तरीय भ्रमणहरुले दुई देशबीचको सम्बन्ध थप मजबुद भएको र आर्थिक व्यापारिक पर्यटक तथा सांस्कृतिक साझेदारीमा नयाँ आयाम थपिएको विश्वास गरेका छन्।

यसअघि कम्बोडियाका प्रधानमन्त्री हु सेनले गत मंसिरमा नेपालको भ्रमण गरेका थिए। युनिफिकेसन चर्च निकट युनिर्भसल पिस फेडेरेसनको आयोजना भएको एसिया प्यासिफिक समिटका क्रममा हु सेनले नेपालको भ्रमण गरेका थिए। त्यतिवेला दुई देशबीच चार वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

दुबै देशबीच सिधा हवाई सम्पर्क, कुटनीतिक तथा विशेष राहदानी बहाकलाई भिसा उन्मुक्ति, सांस्कृतिक साझेदारी तथा दुई देशबीचका परराष्ट्र मन्त्रालयबीच आर्थिक तथा राजनीतिक साझेदारी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell