काठमाडौं : भोग एड एण्ड इभेन्ट प्रालिले नेपाल आईस आन फुटसको उपाधि जितेको छ। सानेपाको फिल्ड फुटसल ग्राउण्डमा बुधबार भएको फाइनलमा मिडिया बास्केटलाई ४–१ ले पराजित गर्दै भोग च्याम्पियन बनेको हो।
भोगलाई जिताउन रोनिश श्रेष्ठले ह्याट्रिक गर्दा मन्जील महर्जनले एक गोल थपे। यसैगरी मिडिया बास्केटको लागि उर्गेन शेर्पाले एक गोल फर्काएका थिए।
बराह ज्वेलर्सले तेस्रो भएको छ। फाइनल प्रवेशका लागि मिडिया बास्केट र बराज ज्वेलर्सबीच भएको खेलमा मिडिया बास्केट ६–४ गोल अन्तरले विजयी भएको थियो।
प्रतियोगिताको विजेता भोगले नगद १ लाख सहित रनिङ शिल्ड हात पारेको छ। यसैगरी उपविजेता मिडिया बास्केटले ७५ हजार र तेस्रो भएको बराह ज्वेलर्सले ५० हजार पायो।
प्रतियोगितामा बराह ज्वेलर्सका अनुप शंकर र भोगका रोनिश श्रेष्ठ संयुक्त रुपमा सर्वाधिक गोलकर्ताको अवार्ड पाए। दुवै जनाले प्रतियोगिता अवधिभर ११–११ गोल गरेका थिए।
यसैगरी उत्कृष्ट गोल रक्षकको उपाधि वेलकम एडभर्रर्टाईजिङ मार्केटिङको विशाल शाहीले पाए। शाहीले गत वर्ष पनि उत्कृष्ट गोलकिपरको अवार्ड पाएका थिए।
यसैगरी फेयर प्ले अवार्ड सर्वोत्तम सिमेन्ट र वेस्ट सपोटर्स नयाँ पत्रिका र फस्ट रजिस्र्टर्ड टिम अवार्ड मार्स प्रालिले पाएका छन्।