PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

मोटरसाइकल पछाडि बस्नेले हेलमेट लगाउनुपर्ने नियम फेरि ल्याउने तयारी



सविन ढकाल

मोटरसाइकल पछाडि बस्नेले हेलमेट लगाउनुपर्ने नियम फेरि ल्याउने तयारी

काठमाडौं: महानगरीय ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र मोटरसाइकलमा पछाडि बस्नेले पनि हेलमेट लगाउनु पर्ने नियम फेरि ल्याउने तयारी गरेको छ।

उपत्यका भित्र भएका दुर्घटनाको विश्लेषण गर्दै तिनै जिल्लामा मोटरसाइकल पछाडि बस्नेले  हेलमेट लगाउनु पर्ने नियम ल्याउन लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले बताए।

प्रहरीले यातायात व्यवस्था विभागलाई यातायात व्यवस्था ऐनमा नै राखेर मोटरसाइकल चालकले हेटमेट लगाउनु पर्ने नियम ल्याउने प्रक्रिया सुरु भएको पन्तले बताए। ‘हामीले विभागलाई ऐनमा नै रहने गरी व्यवस्था गर्ने पत्र पठाइसकेका छौँ,’ पन्तले भने, ‘विभाग पनि सकारात्मक देखिएको छ। चाँडै यो व्यवस्था लागु हुन्छ।‘ 

यसअघि २०६५ मा महानगरीय ट्राफिक प्रहरी महाशाखामा एसएसपी इन्द्रप्रसाद न्यौपाने सरुवा भएर आएपछि मोटरसाइकलका पछाडि बस्ने यात्रुले पनि हेलमेट लगाउनुपर्ने नियम लागु गरिएको थियो। त्योबेला पनि यो नियमको आलोचना पनि भएको थियो। ट्राफिक प्रहरीले पछि हेल्मेटको प्रयोगले अपराध बढेको भन्दै यो निमय हटाएको थियो। 

** थपिएको: यसअघि नै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले मोटरसाइकलमा सवार चालक र यात्रु दुवैले हेल्मेट लगाउनुपर्ने व्यवस्था गरेको थियो। प्रहरीले यो ऐन बनेपछि पनि नियम लागु गर्न सकेको थिएन।

‘यो व्यवस्था एकदमै राम्रो थियो,’ पुर्वप्रहरी निरीक्षक सिताराम हाछेतुले भने, ‘देशमा नयाँ व्यवस्था आएपछि सबैलाई स्वतन्त्रता चाहियो र यो व्यवस्था हटेर गयो।‘

प्रहरीको तथ्याङक अनुसार चालु आर्थिकवर्षको बैशाख मसान्तसम्म उपत्यकाका तीन जिल्लामा सवारी दुर्घटनामा दुई सय एघार जनाले ज्यान गुमाएका छन्। यसरी मृत्यु हुनेमा अधिकांस मोटरसाइकल सवार रहेका छन्। ९६ प्रतिशत मृत्यु मोटरसाइकलमा र स्कुटरमा सवार रहेको एसएसपी पन्त बताउँछन्। ‘अधिकांस मोटरसाइकलको पछाडि बस्नेको मृत्यु भएको देखिन्छ। एउटै कारण हो सुरक्षित हेलमेट नभएर,’ एसएसपी पन्तले भने।

आर्थिक वर्ष २०७२/७३ मा राजधानीका तीन जिल्लामा ५ हजार ६ सय सवारी दुर्घटना भएका थिए। दुर्घटनामा परि एक सय ६६ जनाले ज्यान गुमाए। दुईसय ७५ जना गम्भीर घाइते हुन पुगे। आर्थिक वर्ष २०७३/७४ मा सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङख्या झनै बढेर गयो। तुलनात्मक रूपमा आर्थिक वर्ष २०७४/ ७५ मा दुर्घटनाको सङ्ख्या बढेपनि मानवीय क्षति कम हुन पुग्यो। ५ हजार ७ सय दुर्घटनामा एक सय ६८ जनाले ज्यान गुमाए।

तर चालु आर्थिक वर्षको ९ महिनाको तथ्याङक हेर्दा दुर्घटना बढेर गयो। ६ हजार ९ सय ८२ वटा दुर्घटना हुन पुगे। जसमा ४ हजार ८ सय १५ जना घाइते र २ सय ५१ जना गम्भीर घाइते भए। २ सय ११ जनाको त ज्यान गइसकेको छ।‘ राजधीमा बढेको मोटरसाइकल, फराकिला सडकमा अनुशासनको कमी हुँदा दुर्घटना बढ्यो,‘ एसएपी पन्तले भने, 'त्यसैले पनि यसलाई नियन्त्रण गर्न केही गर्नुपर्ने भएको छ।'

प्रहरीको तथ्याङक अनुसार राजधानीमा भएका दुर्घटनालाई हेर्दा सबैभन्दा धेरै दुर्घटना दिउँसो १२ बजेदेखि ६ बजेको बिचमा हुने गरेको छ। ३० प्रतिशत दुर्घटना १२ बजेदेखि ६ बजेको समयमा भएको देखिन्छ। ६ बजेदेखि राति १२ बजेसम्म २४ प्रतिशत दुर्घटना भएका छन्।

ट्राफिक प्रहरीको अनुसार उपत्यकामा २ हजार १४ किलोमिटर सडक छ। जसमा दैनिक १२ लाख सवारी आवजजावत गर्छन्। सडकमा ट्राफिक व्यवस्थापनको लागि दैनिक एक हजार ४ सय १० जना ट्राफिक प्रहरी खटिएका छन्।

** स्पष्टिकरण: महाशाखा प्रमुख पन्तले भनेको 'ऐनमा नै व्यवस्था गरी' भन्ने वाक्यांश हेल्मेट अनिवार्य लगाउने सन्दर्भमा नभएर हेल्मेटको गुणस्तरको बारेमा रहेको देखिएको छ। यो सन्दर्भमा विभिन्न मिडियामा हेल्मेट प्रयोग गर्दा गुणस्तर चिन्हयुक्त हेल्मेट प्रयोग गर्नुपर्ने भन्ने समाचार आएका छन्। तर पत्रकार सम्मेलनमा पन्तले बोलेको अडियो रेकर्डमा उनले गुणस्तरीय हेल्मेटको कुरा गरेको सुनिन्छ। हेल्मेट अनिवार्य लगाउनुपर्ने सन्दर्भमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ७ को दफा १३० (२) मा लेखिएको छ, 'मोटर साइकल तथा अन्य त्यस्तै दुई पाङ्ग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनु पर्छ।' मोटरसाइकलमा सवार दुवै व्यक्तिले हेल्मेट लगाउनुपर्ने व्यवस्था ऐनमा पहिले नै भएको सन्दर्भमा पन्तको भनाइ साभार गर्दा हेल्मेट लगाउनु पर्ने व्यवस्था नै ऐनमा राख्नेजस्तो अर्थ लाग्न गएकोमा पहिलोपोस्ट क्षमायाचना गर्दछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell