PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भारत लोकसभा निर्वाचन: भाजपाको स्थिति बलियो, पुन: मोदी सरकार



पहिलोपोस्ट

भारत लोकसभा निर्वाचन: भाजपाको स्थिति बलियो, पुन: मोदी सरकार

भारतमा सम्पन्न लोकसभा निर्वाचनको प्रारम्भिक मतगणनामा पुन: एकपटक 'मोदी सरकार' बन्ने लगभग तय भएको देखिएको छ। सात चरणमा गरी मे १९ मा सकिएको निर्वाचनको मतगणना आज बिहानबाट शुरु भएको छ।

प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी नेतृत्वमा रहेको नेश्नल डेमोक्रेटिक एलायन्स (एनडीए) ले बहुमतको आँकडा पार गरेको छ। कांग्रेसको नेतृत्वमा रहेको युनाइटेड पोग्रेसिभ एलायन्स (युपिए) ले भने अपेक्षा गरिएको अनुसार प्रदर्शन गर्न सकेको छैन।

एबिपी न्यूजका अनुसार ५४३ लोकसभा सिटमध्ये भाजपा एक्लैले ३२९ सिटमा अगाडि रहेको छ। एनडीएले ३१७ सिटमा अग्रता कायम गरेको छ। युपीए १०६ सिटमा अघि रहेको छ।

नवभारत टाइम्सले पनि एनडीएले अग्रता लिइरहेको उल्लेख गरेको छ। नवभारत टाइम्सका अनुसार एनडीएले २९९ सिटमा अग्रता कामय गरेको छ भने युपीएले १०६ सिटमा अग्रता कायम गरेको छ।

प्रारम्भिक मत परिणामका अनुसार भारतमा पुन: प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार बन्ने देखिएको छ।

एक्जिट पोलहरुले समेत भारतमा पुन: मोदी सरकार बन्ने प्रक्षेपण गरेको थियो।

उत्तर प्रदेशको चुनावी नतिजाले यसपटकको समिकरणमा फरक पर्ने विश्वास गरिएको थियो। समाजवादी र बहुजन समाजवादी पार्टीले गठबन्धन बनाएका कारण यसपटक उत्तर प्रदेशको निर्वाचनको परिणाममा ठूलो हेरफेर हुन सक्ने अनुमान गरिएको थियो।

तर उत्तर प्रदेशमा समेत भाजपा अगाडि देखिएको छ। लोकसभामा सबैभन्दा बढी ८० सांसद पठाउने उत्तर प्रदेशमा ५० सिटमा एनडीए अगाडि देखिएको छ। गठबन्धनले २८ सिट अगाडि रहँदा कांग्रेस जम्मा ३ सिटमा अगाडि रहेको छ। महाराष्ट्र, पश्चिम बंगाल, बिहार, तमिलनाडु, कर्नाटक, झारखण्ड लगायतका प्रदेशमा समेत एनडीएले अग्रता लिएको छ।

युपीएले भने केरला र पन्जाबमा अग्रता कायम गरेको छ। केरलाको २० सिटमा युपीए १५ सिटमा अगाडि देखिएको छ।

फेरि मोदी सरकार नबन्ने भनेर दाबी गर्दै आएको भारतीय कांग्रेसले पहिलाभन्दा राम्रो प्रदर्शन गरेको छ। तर अपेक्षा गरेअनुसार नतिजा ल्याउन कांग्रेस अहिले असफल देखिएको छ। २०१४ मा कांग्रेसले मात्र ४४ सिटमा जित हासिल गरेको थियो भने उसको नेतृत्वमा रहेको युपीएले मात्र ६० सिट जितेको थियो। २०१४ को निर्वाचन कांग्रेसको इतिहासको सबैभन्दा खराब नतिजा थियो।

प्रारम्भिक मत परिणामले भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई धक्का लाग्ने अनुमान गरिएको छ। मोदीलाई पराजित गर्दै केन्द्रमा गठबन्धन सरकार बन्ने बताएका गान्धीलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिएको थियो।

यसपटकको निर्वाचन मोदी र भारतीय कांग्रेसको अध्यक्ष राहुल गान्धीको लोकप्रियता र राजनितिक भविष्यको जनमतसंग्रहका रुपमा हेरिएको थियो।

भाजपा र एनडीएले मतपरिणाममा अग्रता हासिल गरेसँगै भारतभर भाजपा र एनडीए कार्यकर्ताहरुले विजयी र्‍याली निकाल्न सुरु गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell