PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

काकाकूल भक्तपुरको तिर्खा मेटाउने प्रयास, पानी बाँड्दै घरघर पुग्यो नगरपालिका



सहयोग रञ्जित

काकाकूल भक्तपुरको तिर्खा मेटाउने प्रयास, पानी बाँड्दै घरघर पुग्यो नगरपालिका

साँझको समयमा भक्तपुरको दत्तात्रय मन्दिरमा वृद्धवृद्धा भेला भई भजन गाउने गर्छन्। सँगै रहेको चिया पसलमा मानिसहरु चिया पिउँदै गफिन्छन्। बालबालिका सडकमै खेलिरहेका हुन्छन्। तर बिहीबार साँझ भने त्यहाँको माहोल भिन्न रह्यो।

भजनमा रम्ने वृद्धवृद्धा हातमा बाल्टिन लिँदै दत्तात्रय मन्दिर तिर ओर्लिए। महिला गाग्री र जार बोकेर लाइनमा बसे। विद्यालयबाट फर्केका बालबालिका बोतल लिँदै पालो कुरिरहे।

पानीको चरम अभावपछि भक्तपुर नगरपालिकाले नगर क्षेत्रमा पानी वितरण गर्ने तालिका नै बनाएको छ। ५००० लिटरको ट्याङ्कर ल्याएर दत्तात्रय मन्दिरको उत्तरतर्फ रोकियो। केहीबेर पानी भर्न तँछाडमछाड भयो। पछि भने सबै लाइनमै बसे।

भीडमा थिइन् ७० वर्षीया रमादेवी प्रजापति।

रमादेवीको घरमा राम्ररी पानी नआएको वर्षौँ भयो। पहिला हप्ताका एक पटक आउँथ्यो। अहिले महिनामा दुई पटक आउँछ। त्यो पनि आधा घण्टा। नगरपालिकाले पानी वितरण गर्ने थाहा पाएपछि दुई बाल्टिन भए पनि पानी लिन आएको उनी बताउँछिन्।

अरू समय घरमा ट्याङकरको पानी प्रयोग हुने गरेको छ। 'हप्ताको एउटा ट्याङकरको पानीले पुग्दैन। पहिला त यतै इनार र दुंगेधाराको पानी प्रयोग हुन्थ्यो। ती पनि सुके' उनले भनिन्।

दत्तात्रयमा १७ वर्षदेखि चिया पसल सञ्चालन गर्दै आएकी राजेश्वरी लाछिमस्युको अनुभव पनि यस्तै छ। विवाह गरी आएदेखि उनलाई यस पटक पानीको धेरै समस्या पर्‍यो। पहिला दिन बिराएर पानी आउँथ्यो। अहिले १०- १५ दिनमा आउँछ। त्यतिले घर र व्यवसाय धान्न नै पुग्दैन।  

नगरपालिकाले वितरण गर्ने पानीले केही राहत हुने उनको भनाई छ। भन्छिन्, 'पिउँन जारको पानी किन्नुपर्छ। बाँकी कामको लागि ट्रयाक्टर र ट्याङ्करबाट ल्याउने पानी किन्ने हो। हप्तामा एउटा ट्रयाक्टरको पानी त चाहिन्छ। एक हप्तालाई पनि पुग्दैन। गर्मी बढेसँगै पानीको माग बढेको छ।'

उनी भक्तपुरभर यस्तै समस्या रहेको बताउँछिन्। केही दिन अघि मध्यरातमा ठूलै पानी पर्दा पानी जोहो गर्न कौसीमा पुगेको सुनाउँछिन्, 'दुई दिनअघि जति लगातार ठूलै पानी पर्‍यो। पानी हुने आसमा मध्यरातमा कौसीमा पानी भर्न गए।'

भक्तपुर नगरपालिकाले नगरभित्र पानीको समस्या विकरात हुँदै गएपछि जेठ ९ गतेबाट तीन वटा पानीको ट्याङ्करबाट पानी वितरण गर्न सुरु गरेको हो। बिहान ७ बजेदेखि १० र बेलुकी ४ बजेदेखि ७ बजेसम्म पानी वितरणको तालिका नै निकालेर खाने पानी वितरण गर्न सुरु गरेको कार्यप्रति स्थानीय खुसी छन्।

दिनको ७७ हजार लिटर पानी वितरण गर्ने नगरपालिको योजना छ।

करिब १५ वर्षअघिसम्म भक्तपुरमा पानीको यस्तो हाहाकार थिएन। शहरीकरणसँगै बिस्तारै जनसङ्ख्या बढ्दै गयो। पानीको मूल सुक्दै गए। घर बढेसँगै पानी वितरण त्यही मात्रमा हुन सकेन। बजारमा सजिलै बोरिङ मेसिन पाइन थाल्यो। घरघरमा पानी तान्ने बोरिङ मेसिनको प्रयोग भएपछि सबै स्थानमा पानीको वितरणमा झनै समस्या भयो।

भक्तपुरको नागपोखरीमा पानी वितरण हुने भएपछि पानी भर्न पुगेका ज्ञानी प्रजापति सरकार प्रति रुष्ट देखिए। भने, 'भन्ने बेला जलस्रोतको धनी देश भन्ने तर सरकारले पानी नै दिन सकेकाको छैन। मेलम्ची भनेर वर्षौँ करायो। खै मेलम्ची अहिलेसम्म आएको छैन।'

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति पनि जनतालाई सपना धेरै बाँडेको तर वास्तविकतामा भने त्यो कार्यान्वयन गर्न केन्द्र सरकार चुकेको बताउँछन्। समस्याबारे जनता नगरपालिकामा आउने गरे पनि पानी वितरण कार्य काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको जिम्मामा रहेकाले जनतालाई त्यहीँ पठाउनुपर्ने बाध्यता रहेको उनी बताउँछन्।

'पानीको लागि हाम्रो आफ्नै स्रोत छैन। गर्मी बढेसँगै प्राय पानीको हाहाकार हुन्छ। गत वर्ष पनि पानी वितरण गरेका थियौँ। तर यसपटक भने धेरै नै समस्या परेकोले बृहत् स्तरमै पानी वितरण गर्नुपरेको हो।'

पानीको समस्या सम्बोधन गर्न पुराना धाराहरु ब्युताउँने प्रयासमा रहेको मेयर प्रजापतिको भनाई छ। 'ब्रह्मायणीमा रहेको बासहिटीमा हामी पानी ल्याउन सफल भएका छौँ। त्यही हामीले पुरानै पानीको स्रोत खोज्यौँ। सकेसम्म हामी यहाँका पुराना धारा र इनार बिउताउँछौँ।'

भक्तपुरमा मात्रै नभई उपत्यकामा नै पानीको हाहाकार छ। तर नगरपालिकाले निःशुल्क पानी वितरण गरेको भने भक्तपुरको नौलो प्रयास हो।

काठमाडौँ उपत्यकामा पानीको मूल स्रोत पहिले जमिन रसाएको पानी थियो। मूल जुनसुकै बेला सुक्न सक्ने र बस्ती उजाड हुने डरले पुर्खाहरूले राजकुलो निर्माण गरेको संस्कृतिविद् ओम धौभडेल बताउँछन्। जितामित्र मल्लको पालामा नगरकोटको महादेव पोखरीदेखि भक्तपुर दरबारभित्र राजकुलोको निर्माण भएको थियो। लेलेबाट पाटनमा र बुढानीलकण्ठबाट काठमाडौँमा राजकुलो बनाइएका थिए।

यसरी बनाइएका राजकुलोबाट आमजनताको प्रयोगका लागि दुंगेधारामा पानी वितरण गर्ने प्रणाली सुरु भएको थियो। १९९० सालको भूकम्प र त्यसपछिका धेरै वर्ष ती कुलाबाट सलल पानी बगेका थिए। तर, वीर शमशेरको पालामा वीर धाराका लागि उपत्यकामा स्टिलका पाइप बिछ्याइए। त्यसले राजकुलो र मूलहरूको नोक्सान भएको धौभडेलको भनाइ छ।

भन्छन् 'घरघरमा पानीको धारा त आयो तर मूलमाथि नै घर बनेपछि पानी आउने कुरै भएन। न ढुंगेधारामा पानी आयो न घरको धारामा नै।'

जलस्रोत इन्जिनियर राजाराम प्रजापति काठमाडौँ उपत्यकामा भविष्यमा पानीको समस्या हुन सक्ने देखेकाले पुर्खाले पानी सञ्चय गर्न पोखरीको अवधारणा ल्याएको बताउँछन्। भक्तपुरमा त अझै तीन तहमा पोखरी निर्माण गरिएको थियो।

पहिलो, शहरभन्दा माथिल्लो बस्तीमा मुहान र आकाशे पानी जम्मा गर्नका लागि बनाइएका ठूला पोखरी छन्। पानीको बहावलाई नियन्त्रण गरी सहरमा बाढी पस्न नदिन यस्ता पोखरीले अहम् भूमिका खेल्ने उनी बताउँछन्। दोस्रोथरी पोखरी शहरको मध्य भागमा छन्। यिनको काम आकाशे पानी सङ्कलन गर्नु र जमिनमुनिको पानी रिचार्ज गर्नु हो। तेस्रो पोखरी शहरभन्दा तल्लो भागमा र खोलाभन्दा माथि बनाइएका छन्। ती पोखरीको मुख्य काम भनेको जमिनको भूक्षय रोक्नु हो। माथिल्लो बस्तीबाट माटोसहित बगाएर ल्याएको पानी सिधै खोलामा पठाउँदा त्यसले खोला नजिकै रहेको खेतमा भूक्षय गर्न सक्ने भएकाले त्यो क्रमलाई रोक्न त्यस्ता पोखरीको निर्माण गरिएको हो।

पानीका यति धेरै स्रोत हुँदा हुँदै पनि पछिका पुस्ताले भने ती स्रोतहरुको प्रयोग र संरक्षणमा चासो नदिएको उनी बताउँछन्। नगरमा बढ्दो जनसंख्यासँग पानीको समस्या आएको र घर बढेसँगै जमिनमुनि पानी नजानु र बोरिङ गरेर पानी निकाल्ने परम्परा बढ्दै जानुले भूक्षयको खतरा रहने प्रजापतिको तर्क छ।

भक्तपुर नगरपालिकाभित्र दैनिक करिब ७५ लाख लिटर पानीको माग रहेको छ। तर सुख्खायाममा दैनिक ३५ लाख लिटर मात्रै पानी वितरण हुँदै आएको बताइएको छ।

पानीको समस्याले विकरालरुप लिएपछि स्थानीयहरु ट्याङकरको पानी किनेर प्रयोग गर्न बाध्य भएका छन्। अहिले भक्तपुरका गल्लीगल्लीमा छिर्न मिल्ने खालका ट्रयाक्टरमा पानीको ट्याङ्कीबाट खानेपानी बेच्ने व्यवसाय नै फस्टाएको छ। ५ सय लिटरको ट्याङ्कीको ६०० देखि ८०० रुपैयाँ तिर्ने गरेको स्थानीय बताउँछन्। महिनाको ५- ६ पटक यसरी पानी किन्नु पर्ने अवस्था छ।

पानी किन्नै पर्ने बाध्यताबीच पानीको गुणस्तरमा न त स्थानीय सचेत छन् न त नगरपालिकाले निजी रूपमा वितरण हुने पानीको गुणस्तर परीक्षण गर्ने गरेको छ। पानीकै कारण मानिसहरू बिरामी समेत पर्ने गरेको स्थानीय बताउँछन्। यसमा सम्बन्धित निकायले गम्भीर भएर सोच्नुपर्ने उनीहरूको मत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell