PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

यी हुन् अहिलेसम्मको विश्वकप क्रिकेटमा उत्कृष्ट खेलाडी, यस पटक को बन्ला उत्कृष्ट?



पहिलोपोस्ट

यी हुन् अहिलेसम्मको विश्वकप क्रिकेटमा उत्कृष्ट खेलाडी, यस पटक को बन्ला उत्कृष्ट?
२००३ को विश्वकपमा उत्कृष्ट खेलाडी बनेका भारतका सचिन तेन्दुलकर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) एक दिवसीय क्रिकेट विश्वकपको १२औँ संस्करण आउने बिहीबारदेखि इंग्ल्याण्ड र वेल्समा संयुक्त रूपमा सुरु हुँदैछ।

सन् १९९५ देखि सुरु गरेको विश्वकपमा अहिलेसम्म ११ संस्करण सम्पन्न भइसकेका छन्। अस्ट्रेलियाले सर्वाधिक ५ पटक उपाधि जित्दा अहिलेसम्म ५ राष्ट्रले मात्रै विश्वकप उपाधि उचालेका छन्।

पाँचौँ पटक विश्वकप आयोजना गर्न लागेको इंग्ल्याण्डले तीन पटक फाइनल खेलेर पनि उपविजेतामै चित्त बुझाउनुपरेको छ। यस पटक घरेलु मैदानमा विश्वकप जित्ने लक्ष्यका साथ इंग्ल्याण्डले प्रतियोगिता आयोजना गर्दैछ।

यस्तै प्रत्येक विश्वकपमा कुनै न कुनै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका हुन्छन् जसले टिमलाई जिताउन महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडी विश्वकपको उत्कृष्ट खेलाडी घोषित हुनेछन्।

१९७५ बाट विश्वकप सुरु भए पनि १९९२ को पाँचौँ संस्करणदेखि मात्रै उत्कृष्ट खेलाडी घोषणा गर्न थालिएको हो। अहिलेसम्म ७ खेलाडी उत्कृष्ट बन्दा ४ खेलाडी विश्वकप जित्ने टिमबाट छन्।

सन् १९९२ को विश्वकपमा न्यूजिल्याण्डका कप्तान समेत रहेका मार्टिन क्रोवे उत्कृष्ट खेलाडी घोषित भएका थिए। यी ब्याट्सम्यानले ९ खेलमा सर्वाधिक ४५६ रन बनाएका थिए।

यस्तै सन् १९९६ को विश्वकप श्रीलंका जित्दा श्रीलंकाका सनथ जयासूर्या उत्कृष्ट खेलाडी बनेका थिए। अलराउण्डर जयासूर्याले २२१ रन बनाउनुका साथै ७ विकेट लिएका थिए।

यसैगरी १९९९ को विश्कपमा पनि अलराउण्डर नै उत्कृष्ट खेलाडी घोषित भए। दक्षिण अफ्रिकाका लान्स क्लुसेनरले प्रतियोगितामा २८१ रन बनाउनुका साथै १७ विकेट लिएका थिए। सर्वाधिक विकेट लिनेमा उनी चौथो स्थानमा रहे। दक्षिण अफ्रिका फाइनल पुग्न नसके पनि क्लुसेनरले उत्कृष्ट प्रदर्शन गरेका थिए। सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाले समान २१३ रन बनाए पनि सुपर सिक्समा राम्रो रनरेट भएका कारण अस्ट्रेलिया फाइनल पुगेको थियो र पछि पाकिस्तानलाई हराएर च्याम्पियन बन्यो।

सन् २००३ को विश्वकपमा उपविजेता टिम भारतका सचिन तेन्दुलकर उत्कृष्ट खेलाडी घोषित भए। फेरि अस्ट्रेलिया नै च्याम्पियन बन्दा भारतका सचिनले व्यक्तिगत रूपमा भने उत्कृष्ट प्रदर्शन गरे। सचिनले प्रतियोगितामा ६७३ रन बनाए। बलिङमा २ विकेट समेत लिए।

सन् २००७ मा अस्ट्रेलियाले विश्वकप उपाधि ह्याट्रिक गर्‍यो। त्यसमा नायक बनेका फास्ट बलर ग्लेन म्याग्रा उत्कृष्ट खेलाडी चुनिए। आफ्नो समयको उत्कृष्ट बलर रहेका म्याग्राले २००७ को विश्वकपमा सर्वाधिक २६ विकेट लिएका थिए।

त्यसको चार वर्षपछि भारतले विश्वकप जित्दा अलराउण्डर युवराज सिंह उत्कृष्ट खेलाडी घोषित भए। अलराउण्ड प्रदर्शन गरेका युवराजले ३६२ बनाउँदा १५ विकेट पनि आफ्नो नाममा लेखाए। उक्त विश्वकपमा सर्वाधिक विकेट लिनेमा युवराज दक्षिण अफ्रिकाका रोविन पिटरसनसँगै पाँचौँ स्थानमा रहे।

यस्तै सन् २०१५ मा अस्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रूपमा आयोजना गरेको विश्वकपको उपाधि घरेलु टोली अस्ट्रेलियाले जित्दा फास्ट बलर मिचेल स्टार्क उत्कृष्ट खेलाडी चुनिए। अस्ट्रेलियालाई पाँचौँ पटक च्याम्पियन बनाउने क्रममा स्टार्कले २२ विकेट लिएका थिए। उक्त विश्वकपमा न्यूजिल्याण्डका फास्ट बलर ट्रेन्ट बोल्टले पनि समान २२ विकेट नै लिएका थिए। स्टार्कले ८ र बोल्टले ९ खेल खेलेका थिए।

 

यी हुन् उत्कृष्ट खेलाडी

१९९२ : मार्टिन क्रोवे, न्यूजिल्याण्ड

१९९६ : सनथ जयासूर्या, श्रीलंका

१९९९ : लान्स क्लुसेनर, दक्षिण अफ्रिका

२००३ : सचिन तेन्दुलकर, भारत

२००७ : ग्लेन म्याग्रा, अस्ट्रेलिया

२००१ : युवराज सिंह, भारत

२०१५ : मिचेल स्टार्क, अस्ट्रेलिया

 

यस पटक को बन्ला उत्कृष्ट?

यही मे ३० देखि सुरु हुने १२औँ विश्वकप क्रिकेटमा १० राष्ट्र भिड्नेछन्। १० वटै टोलीले सिंगल राउण्ड रोविन लिगको आधारमा खेल्नेछन्। यस अनुसार हरेक टिमले एक-आपसमा खेल्नेछ र कूल ९ खेल खेल्न पाउनेछन्।

लिगपछि धेरै अङ्क जोड्ने शीर्ष चार टिम सेमिफाइनल पुग्नेछन्। सबैले सबैसँग खेल्न पाउने भएकाले सबै खेलाडीको लागि आफूलाई प्रमाणित गर्ने अवसर पनि छ। लगातार राम्रो प्रदर्शन गर्ने खेलाडी नै उत्कृष्ट बन्नेछन्।

आयोजक इंग्ल्याण्डका ब्याट्सम्यान जोस बटलर र अलराउण्डर बेन स्टोक्स, भारतीय टिमका कप्तान विराट कोहली र फास्ट बलर जसप्रित बुमराह, अस्ट्रेलियाका डेविड वार्नर र स्टिभन स्मिथ, दक्षिण अफ्रिकाका फास्ट बलर कागिसो रबाडा, न्यूजिल्याण्डका कप्तान केन विलियम्सन लगायतका खेलाडी यस विश्वकपमा चर्चित छन्। यी खेलाडी नै उत्कृष्ट बन्ने होडमा हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell