PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

एपीएफको संघर्षपूर्ण जित, प्रदेश ३ को पहिलो जितमा पारसको ४ विकेट



पहिलोपोस्ट

एपीएफको संघर्षपूर्ण जित, प्रदेश ३ को पहिलो जितमा पारसको ४ विकेट
बलिङमा ४ विकेट लिएका कप्तान पारसले ब्याटिङमा १ रन मात्र बनाए

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत सोमवार भएको खेलमा विभागीय टोली एपीएफ र प्रदेश नम्बर ३ ले जित हात पारेका छन्।

कीर्तिपुरस्थित टीयू मैदानमा भएको समूह ए को खेलमा एपीएफले सुदूरपश्चिम प्रदेश विरुद्ध ३ विकेटको जित हात पारेको हो।

उता मुलपानी क्रिकेट मैदानमा भएको समूह ए कै अर्को खेलमा प्रदेश ३ ले प्रदेश ५ लाई ६ विकेटले हराउँदै पहिलो जित हात पार्‍यो।

समूह ए मा लगातार दोस्रो जित हात पारे पनि एपीएफले सुदूरपश्चिमलाई हराउन संघर्ष गर्नुपर्‍यो। सुदूरपश्चिमले दिएको १२५ रनको लक्ष्य एपीएफले ३४.४ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो। कप्तान पृथु बास्कोटाले एपीएफको लागि नटआउट ३२ रन जोडे।

६९ रनमा ५ विकेट गुमाएको अवस्थामा पृथु र सन्दिप जोराले छैटौँ विकेटका लागि ४० रनको साझेदारी गरे। पृथुले ४७ बल खेल्दै ५ चौका प्रहार गरे। यस्तै सन्दिपले २२ रन योगदान गरे। ओपनिङ गरेका शरद भेषावकरले २६ रन बनाए। सुदूरपश्चिमका लागि विनोद लामाले ३ तथा शेर मल्लले २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेश ३७.१ ओभरमा १२५ रनमा अलआउट भएको थियो। सुदूरपश्चिमका लागि लोकेश बामले सर्वाधिक ३० र विपिन रावलले २१ रन जोडे। एपीएफका अभिनाश बोहराले २ विकेट लिए।

नटआउट ३२ रन बनाउनुका साथै १ विकेट समेत लिएका कप्तान म्यान अफ दि म्याच घोषित भए।

पहिलो खेलमा एपीएफसँग नै पराजित भएको प्रदेश ३ ले भने प्रदेश ५ लाई सहजै हरायो। पारस र सूर्य तामाङको उत्कृष्ट बलिङ मद्दतमा प्रदेश ३ ले प्रदेश ५ लाई १२२ रनमै अलआउट गरेको थियो।

१२३ रनको लक्ष्य प्रदेश ३ ले २१.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। प्रदेश ३ का लागि ओपनर रित गौतमले सर्वाधिक ३७ रन बनाए भने अर्का ओपनर रविन जोशीले ३५ रन जोडे। यी दुईले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरे। यस्तै इशान पाण्डेले नटआउट २१ रन बनाए भने आदिल खान १२ रनमा नटआउट रहे। कप्तान पारस खड्का १ र अभिषेक बस्नेत २ रन बनाएर आउट भए। प्रदेश ५ का अनिल खरेल र सिद्धान्त राज शाहीले २-२ विकेट लिए।

त्यअसघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश ५ ले ४२ ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको थियो। सुबेन्दु पाण्डेले सर्वाधिक २० रन बनाएको इनिङ्सका सुरज दराईले १८, सन्दिप सुनारले १४ तथा सौरभ खनालले १३ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

प्रदेश ३ का लागि बलिङमा कप्तान पारस खड्काले १० ओभर बलिङ गर्दा ३ मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिए। यस्तै सूर्य तामाङले १० ओभरमा ३ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए। यस्तै नन्दन यादवले २ र प्रतिश जिसीले १ विकेट लिए। पारस खेलको म्यान अफ दि म्याच भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell