PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विष्फोटमा मृत्यु भएका चारै जना* आफ्नै कार्यकर्ता भएको विप्लवले स्वीकारे, घाइतेको बारेमा बोलेनन्



पहिलोपोस्ट

विष्फोटमा मृत्यु भएका चारै जना* आफ्नै कार्यकर्ता भएको विप्लवले स्वीकारे, घाइतेको बारेमा बोलेनन्

काठमाडौं : आफैँले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा राजधानीका दुई ठाउँमा भएका विष्फोटमा परी मृत्यु भएका चार जनालाई शहीद घोषणा गर्दै नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले घटना कसरी भयो भन्नेबारे अनुसन्धान गर्ने भएको छ।

जेठ १२ गते भएको विस्फोटमा परेर मृत्यु भएका महान, दीपेन्द्र, प्रज्वल शाही र निरन्तर पार्टी, जनमुक्ति सेना र जनवर्गीय संगठनका कमाण्डरहरु रहेको उल्लेख गर्दै सोमबार साँझ महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ - 'यसप्रकारको घटना कसरी हुनपुग्यो, त्यसको सत्यतथ्य जनतामा ल्याउने प्रतिवद्धता व्यक्त गर्छौं। विप्लवले जारी गरेको विज्ञप्तिमा घाइतेको बारेमा केही उल्लेख गरिएको छैन।

विज्ञप्तिमा यी सबै घटना हुनुको दोष भने सरकारलाई लगाइएको छ। 'यी सबै घटना हुनुको मुख्य दोषी केपी सरकारको फाँसीवादी दमन नै रहेको स्पष्ट गर्दछौं।' सरकारले राज्य आतंक फैलाएको तथा तीर्थ घिमिरेलाई नियन्त्रणमा लिइ हत्या गरेको आरोप लगाउँदै त्यसको विरोधमा बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ।

को हुन् विष्फोटमा ज्यान गुमाउने?

विष्फोट भएको २४ घन्टापछि प्रहरीले मृत्यु हुने तीन जनाको नाम सार्वजनिक गरेको थियो। यसअघि हिजो एक जना (प्रज्ज्वल शाही) को नाम सार्वजनिक भएको थियो। प्रहरीका अनुसार सुकेधारामा मृत्यु हुनेमा कालिकोट घर भएका २७ वर्षीय विभुराम विक भनिने दिपेन बिक (दीपेन्द्र), अन्दाजी ४०/४५ वर्षीय निरन्तर मल्ल र दाङ बबही गाउँपालिका ३ घर भएका गोकुल रानामगर रहेका छन्।

गृहमन्त्री रामबहादुर थापा बादलले आज संसदमा जवाफ दिँदै मृत्यु भएका सबै विप्लव नेतृत्वको नेकपा आवद्ध रहेको बताएका थिए। उनले मारिनेहरु नागरिकसमेत नभएको विवादित टिप्पणी गरेका थिए।

(*यसअघिको समाचारमा विप्लवको विज्ञप्तिमा तीन जनाको नाम मात्र उल्लेख भएको पर्न गएकोमा माफी चाहन्छौँ। विज्ञप्तिमा चारै जनाको नाम उल्लेख छ। समाचार शीर्षकसहित सच्याइएको छ।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell