PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

जगत टमाटाको नेतृत्वमा प्रशिक्षक संघ गठन



पहिलोपोस्ट

जगत टमाटाको नेतृत्वमा प्रशिक्षक संघ गठन

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाको संयोजनमा क्रिकेट प्रशिक्षक संघ गठन भएको छ।

मंगलबार टमाटाको नेतृत्वमा ११ सदस्यस तदर्थ समित गठन गरिएको टमाटाले पहिलोपोस्टलाई जानकारी दिए। प्रशिक्षकहरुको अपडेट,नयाँ प्रशिक्षकहरुको विकासकालागि क्रिकेट प्रशिक्षकहरुलाई समेटेर समिति गठन गरिएको उनले जानकारी दिए।

'हामीले एक दशक अघिदेखि नै यसबारे सल्लाह गरिरहेका थियौँ। तर अन्य कारणहरुले गर्दा गठन हुन सकेको थिएन। अहिले सबैले यसको आवश्यकता बुझेर तदर्थ समिति गठन गरेका हौँ।' टमाटाले भने, 'अब ६ महिनामा हामी यसको विधान तयार पारेर साधारण सभा गर्नेछौँ र त्यसलाई परित गरेर कार्यान्वयनमा ल्याउनेछौँ।'

संघको उपाध्यक्षमा राजु बस्न्यात, सचिवमा बसन्त शाही र कोषाध्यक्षमा कैलाश विष्ट छन्।

टमाटाले प्रशिक्षकहरुको हकहितकै लागि यो समिति तयार पारेर अगाडि बढ्न लागेको जानकारी दिए। 'धेरै प्रशिक्षकहरु भइसकेका छन्। युवा प्रशिक्षकहरु पनि आएका छन्। प्रशिक्षकको हितकै लागि भनेर सबैले संघ गठन गरौँ भन्नुभयो। त्यसैले हामीले सबै साथीहरुलाई भेला गरेर समिति बनाएका छौँ।'

'यो एउटा छाता संगठन हो। हाम्रो उदेश्य भनेको प्रशिक्षकहरुलाई कसरी सुरक्षित राख्ने, कनिष्ठहरुलाई 'अपग्रेड' गर्ने, आफ्नो महत्व कत्तिको छ भने प्रशिक्षकलाई देखाउने हो। जहाँ क्रिकेट छैन हामी त्यहाँ जान्छौँ,' टमाटाले थपे,  'जस्तै कर्णालीमा क्रिकेटको लहर चलेको छ त्यहाँ प्रशिक्षक छैन। हामीले त्यस्तो ठाउँमा २-३ दिनको कार्यक्रमहरु लैजान सक्यौँ भने राम्रो हुन्छ।'

उनले नयाँ प्रशिक्षक उत्पादनमा समेत जोड दिने बताए। 'यस्तै प्रशिक्षकहरु विकास गर्ने हो। अब पुराना प्रशिक्षकहरु रिटायर्ड भइसके। अब योङ जेनेरेसनको प्रशिक्षकहरु चाहियो। त्यो तयार गर्ने हो।'

उनले क्रिकेट प्लेअर्स एसोसिएसन (सीप्यान), अम्पायर किमिटि, क्रिकेट एसोसिएसन (बनेपछि) सँग सहकार्य गरेर अगाडि बढ्ने पनि बताए। 'सबै मिलेर क्रिकेटलाई राम्रो गर्न सक्छौँ भनेर समिति बनाएका हौँ,' उनले भने।

तदर्थ समितिको कार्यकारी सदस्यहरुमा सामसन जंग थापा, शेरबहादुर लामा, निरा राजोपाध्याय, मनोज कटवाल,प्रकाश शर्मा,ज्ञानेन्द्र क्षेत्रि र रिजन प्रिजु छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell