
काठमाडौँ : प्ले फर डिप्राइभ्ड चिल्ड्रेनको आयोजनामा भइरहेको नेपाल बास्केटबल लिग (एनबीएल) मा शीर्ष स्थानको टाइम्स इन्टरनेशनल क्लबले लगातार दोस्रो हार बेहोरेको छ।
मंगलवार भएको खेलमा टाइम्सलाई विभागीय टोली नेपाल पुलिसले ७०-६३ ले पारजित गरेको हो।
११औँ चरणसम्म अपराजित रहेको टाइम्सले सोमबार त्रिभुवन आर्मीसँग एक अंक अन्तरले पराजित भएको थियो। लगातार दोस्रो हारपछि पनि टाइम्स शीर्ष स्थानमा यथावत छ। १३ खेलबाट २४ अंक रहेको टाइम्सले यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको छ।
उता १३ खेल खेल्दा सातौं जित हात पारेको पुलिसले बुढानिलकण्ठ समान २० अंक जोडेको छ। यस जितपछि पुलिसले प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ। टाइम्ससँगै २१ अंक जोडेको आर्मीले पनि प्लेअफमा स्थान पक्का गरिसकेको छ।
बाँकी दुई स्थानको लागि पुलिस र बुढानिलकण्ठ नगरपालिकासँगै साविक विजेता गोल्डेन गेट इन्टरनेशनल कलेज होडमा छन्।
घरेलु कोर्टमा भएको खेलमा पुलिसले सुरुको दुई क्वाटर १७-१० र २०-१५ ले आफ्नो पक्षमा पार्दै ३७-२५ को अग्रता बनाएको थियो। तेस्रो क्वाटरमा टाइम्सले १६-१० ले अग्रता लिएपछि खेल ४७-४१ को स्थितिमा पुग्यो। निर्णयाक तथा अन्तिम सेट २३-२२ को अग्रता बनाउदै पुलिसले खेल ७०-६३ ले जितेको हो।
पुलिसको जितमा १२ रिबाउण्ड र २ असिस्टसहित २० अंक स्कोर गरेका खलिद मेहमुद आकाश खेलको म्यान अफ दि म्याच घोषित भए।