PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

न्यायाधीशद्वय ओमकार उपाध्याय र विश्वमंगल आत्रेय बर्खास्त, नक्कली शैक्षिक प्रमाणपत्र र कार्यक्षमता मुख्य कारण



पहिलोपोस्ट

न्यायाधीशद्वय ओमकार उपाध्याय र विश्वमंगल आत्रेय बर्खास्त, नक्कली शैक्षिक प्रमाणपत्र र कार्यक्षमता मुख्य कारण

काठमाडौं: न्याय परिषदले दुई जिल्ला न्यायाधीशलाई सेवाबाट बर्खास्त गरेको छ। न्यायाधीशद्वय ओमकार उपाध्याय र विश्वमंगल आत्रेयलाई बर्खास्त गर्ने निर्णय परिषदले गरेको हो। कपिलवस्तु जिल्ला न्यायाधीश उपाध्याय र ललितपुरका न्यायाधीश आत्रेयलाई आज बसेको परिषदको बैठकले बर्खास्त गरेको हो।

उपाध्यायलाई झुटा शैक्षिक प्रमाणपत्र पेश गरी सेवा गरेको भन्दै बर्खास्त गरिएको छ। उनले भारतबाट अध्ययन गरेको भन्दै पेश गरेको स्नातक तह (बीए)को शैक्षिक प्रमाणपत्र झुटो रहेको भेटिएपछि बर्खास्त गरिएको हो।

यस्तै, आत्रेयमा भने कार्यक्षमता अभाव रहेको भन्दै बर्खास्त गरिएको हो। २०६९ सालमा सिरहा जिल्ला अदालतमा उनले गरेको फैसलालाई आधार मानेर उनको कार्य क्षमतामाथि प्रश्न उठेको थियो। न्याय सम्पादन प्रक्रियालाई लिएर न्याय परिषदमा उजुरी दर्ता भएका थिए। उजुरीका आधारमा १७ जना न्यायाधीशमाथि छानविन सुरु भएको थियो।

न्यायाधीश आत्रेयलाई सेवाबाट बर्खास्तमात्र गरिने भएको छ भने उपाध्यायलाई मुद्दा चलाउने तयारीसमेत गरिएको छ। न्याय परिषदले केही दिनमा नै उनीविरुद्ध झुट्टा शैक्षिक प्रमाणपत्रमा विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी समेत गरेको छ। 

यसअघि घुससहित पक्राउ परेका काठमाडौँ जिल्ला अदालतका नायव सुब्बा भोलानाथ चालिसेले बयानका क्रममा पोलेपछि जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँमाथि थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्याय परिषद्लाई पत्राचार गरेको थियो।  पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका चालिसेले उक्त रकम न्यायाधीश बानियाँको सल्लाह र सहमतिमा बुझेको बयान अख्तियारमा दिएका हुन्। सो बयानपछि बानियाँमाथि थप छानबिनका लागि अख्तियारले पत्राचार गरेको थियो। बानियाँमाथि भने हालसम्म मुद्दा दायर भएको छैन। म‌ंगलबारको बैठकले थप छानबिनका लागि स्पष्टीकरण सोधेको छ। 

पढ्नुस्ः नासुको घुसकाण्डमा तानिए न्यायाधीश, अख्तियारले गर्‍यो थप छानबिनका लागि न्याय परिषद्लाई पत्राचार

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell