PahiloPost

Jul 3, 2024 | २० असार २०८१

सुमन कुलुङ र सुनमाया बुढालाई एभरेष्ट म्याराथनको उपाधि, एक्स्ट्रिम अल्ट्रामा किरण पहिलो



पहिलोपोस्ट

सुमन कुलुङ र सुनमाया बुढालाई एभरेष्ट म्याराथनको उपाधि, एक्स्ट्रिम अल्ट्रामा किरण पहिलो
PHOTO CREDIT: Tenzing Hillary Everest Marathon

सोलुखुम्बु : गत संस्करणको उपविजेता सुमन कुलुङले यस वर्षको तेन्जिङ-हिलारी एभरेष्ट म्याराथनको उपाधि जितेका छन्।

सगरमाथा प्रथम आरोहणको वार्षिकोत्सवको अवसरमा हरेक वर्ष मे २९ मा सगरमाथा क्षेत्रमा हुने म्यारथनमा सुमनले निर्धारित दूरी ३ घन्टा ४७ मिनेट १६ सेकेन्डमा पुरा गरे। उनी २०१७ मा विजेता भएका थिए।

४२.१९५ किलोमिटरको म्याराथनमा कपिलदेव बुढा र रामकुमार राजभण्डारीले दोस्रो र तेस्रो स्थान हात पारे। कपिलदेवले ३ घण्टा ५६ मिनेट १० सेकेन्डमा पुरा गरे भने रामकुमारले ३ घण्टा ५८ मिनेट मा दौड सकाए।

म्याराथन सगरमाथा आधार शिबिर (५३१६ मि) बाट शुरु भइ नाम्चेबजारमा पुगेर सम्पन्न भएको थियो।

च्याम्पियन सुमनले नगद २ लाख, मेडल तथा प्रमाणपत्र हात पारे भने कपिलदेव र रामकुमारले क्रमश: एक लाख  ७५ हजार, मेडल तथा प्रमाणपत्र हात पारे।

यसैगरी म्याराथनमा महिलातर्फको उपाधि सुनमाया बुढाले जितिन्। उनले निर्धारित दूरी ५ घन्टा ५ मिनेट ०४ सेकेन्डमा पूरा गरिन्। रोजिना भण्डारीले ५ घण्टा २४ मिनेट १२ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो स्थान हात पारिन्। हुमि बुढा मगर ५ घण्टा २९ मिनेट १५ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो भइन्।

विजेता सुनमायाले नगद एक लाख, मेडल तथा प्रामाणपत्र हात पारिन् भने रोजिना र हुमिले क्रमश: ७५ हजार र ५० हजार प्राप्त गरे।

म्याराथनमा विदेशीतर्फ भारतका सोनाम फुन्त्सुक प्रथम हुँदा लिथुआनियाका रिमस जाभिसस दोस्रो तथा भारतकै अशोक मेहता तेस्रा भए। सोनामले ५ घण्टा ४८ मिनेटमा दौड पुरा गरि नगद रु ५० हजार प्राप्त गरे भने रिमास (५ घण्टा ४८ मिनेट ०५ सेकेण्ड) र अशोक (६ घण्टा २२ मिनेट ३९ सेकेण्ड) ले क्रमश रु ३५ हजार र २५ हजार पाए।

प्रतियोगिताकै कठिन स्पर्धा मानिएको एभरेष्ट एक्स्ट्रिम अल्ट्रा (६० किलोमिटर) को उपाधि किरण कुलुङले जिते। अर्जुन कुलुङ राई र पूर्ण तामाङले दोस्रो तथा तेस्रो स्थान हात पारे।

सन् २०१८ को एभरेष्ट एक्स्ट्रिम अल्ट्रामा दोस्रो स्थानमा चित्त बुझाएका किरणले ७ घन्टा १४ मिनेट १० सेकेन्डमा दौड पुरा गरि नगद एक लाख, मेडल तथा प्रमाणपत्र प्राप्त गरे। किरण भन्दा ५ सेकेन्ड मात्रै पछी रहेका अर्जुनले ७५ हजार प्राप्त गरे। ७ घन्टा २७ मिनेट ४६ सेकेन्डमा दौड पुरा गरेका पूर्णले ५० हजार प्राप्त गरे।

विदेशी धावकहरु मात्रै सहभागी हुने हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि बेलायतका अलेक्जेन्डर विलियम जालाण्डले जिते। उनले ३ घण्टा ८ मिनेटमा दौड पुरा गरे।

ब्राजिलका कार्लोस रोचा दोस्रो र भारतका जेरोम लोयड तेस्रो भए। यस स्पर्धाको विजेताले ५० हजार दोस्रोले ३५ हजार तेस्रोले २५ हजार पाए।

विजेताहरुलाई नेपालका लागि भारतीय राजदुत मंजिबसिंह पुरीले पुरस्कार हस्तान्तरण गरे।

म्याराथन सगरमाथा आधार शिबिरबाट बिहान ७ बजे शुरु भएको थियो। धावकहरु गोरक्षेप, लोबुचे, दोगला, दिन्गबोचे र तेंग्बोचे हुँदै समापनस्थल नाम्चेबजार पुगेका थिए।

२०१९ संस्करणमा ३० देशका १६० गरि जम्मा २२४ धावकहरुको सहभागिता रहेको आयोजक हिमालय एक्सपीडीसन्सले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell