काठमाडौँः दूरसञ्चार सेवा प्रदायक एनसेल बिक्रीको लाभकर निर्धारण विवादमा सर्वोच्चमा आज पुनः सुनुवाइ हुँदैछ। लाभकर असुल प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको अल्पकालीन आदेशले निरन्तरता पाउने वा नपाउने विषयमा आजदेखि बहस हुन लागेको हो।
पूर्ण इजलासमा पेसी तोकिएको छ। न्यायाधीश तेजबहादुर केसीको नेतृत्वमा इजलास गठन गरिएको छ। इजलासमा केसीसहित पुरुषोत्तम भण्डारी, डम्बर बहादुर शाही, सुष्मालता माथेमा र डा. मनोजकुमार शर्मा छन्।
यसअघि वैशाख २४ गते सर्वोच्चले पुँजीगत लाभकर असुली प्रक्रिया यथास्थितिमा राख्न एकल इजलासले दिएको आदेशलाई निरन्तरता दिएको थियो। न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेशलाई नै निरन्तरता दिएको थियो। आदेशलाई निरन्तरता दिँदै जेठ २१ (आज) का लागि सुनुवाइको मिति समेत इजलासले नै तोकेको थियो।
गत माघ २४ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको बृहत् पूर्ण इजलासको आदेश अनुसार ठूला करदाता कार्यालयले एनसेलमाथि ६२ अर्ब अर्ब ६३ करोड रुपैयाँ कर निर्धारण गरेको थियो। तिरिसकेको रकम घटाएर बाँकी ३९ अर्ब ६ करोड रुपैयाँ ७ दिनभित्र तिर्न वैशाख ३ गते कर निर्धारणको पत्र पठाएको थियो। एनसेलले कर निर्धारणविरुद्ध वैशाख ९ गते सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।
रिटको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिँदै कर असुली प्रक्रिया यथास्थितिमा राख्न भनेको थियो।