PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पुन: दोहोरो पदमै अड्कियो ने क पाको एकता : सचिवालय बैठक अनिर्णित



विधुर ढकाल

पुन: दोहोरो पदमै अड्कियो ने क पाको एकता : सचिवालय बैठक अनिर्णित

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को एकता तथा कार्यविभाजन पुन: 'एक व्यक्ति एक पद'मा पुगेर अड्किएको छ।

ने क पाको एकता टुंग्याउन आज दिनभर शीर्ष नेताहरु र अपराह्न सचिवालयको बैठकभित्र यही विषयमा सहमति जुट्न नसक्दा केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँड टुंगिन सकेन। यही विषयले ने क पाको एकता प्रक्रिया अगाडि बढ्न नसकेको ने क पा स्रोतले जनायो।

सचिवालय बैठकमा जिम्मेवारी बाँडफाँड गर्दा र मन्त्री भएकाहरुलाई पार्टीको इञ्चार्जको जिम्मा दिन नहुने कुरा उठेपछि निर्णयमा पुग्न सकेन। आज दिनभर भएको बैठकमा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज छनोट गर्ने बताइएको थियो। तर जिल्ला इञ्चार्ज र सहइञ्चार्जको मापदण्डमा सहमति नजुट्दा कार्यविभाजन हुन सकेन।

शीर्ष नेताहरुबीच मन्त्री, सांसद, प्रदेशसभा सदस्य भएकाहरुलाई इञ्चार्ज तथा सहइञ्चार्ज बनाउने कि नबनाउने भन्नेमा विवाद देखिएको एक नेताले बताए। पार्टीका वरिष्ठ नेता माधव नेपाल सांसद प्रदेशसभाका सदस्य तथा मन्त्री भएकालाई थप जिम्मेवारी दिन नहुने पक्षमा उभिएका छन् भने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली दिनुपर्ने पक्षमा उभिएका छन्।

ने क पा भित्र दोहोरो पदको विषयमा विवाद हुँदा एकता प्रक्रियाले पनि पूर्णता पाउन सकेको छैन। सुरुमा एकता गर्दा प्रधानमन्त्री ओली बाहेकलाई दोहोरो पद नदिने मापदण्ड बनाइए पनि यो मापदण्डलाई मिच्दै प्रदेशको नेतृत्व चयन भएपछि नेता नेपाल पक्षले यसमा विरोध गर्दै आएको छ।

गण्डकी प्रदेश र ५ नं प्रदेशका मुख्यमन्त्रीलाई पार्टीको इञ्चार्जको पनि जिम्मेवारी दिइएपछि विवाद बल्झिएको थियो। जन निर्वाचित प्रतिनिधिहरुलाई पार्टीको कार्यकारी जिम्मेवारी नदिने नीति भए पनि पछि जिल्ला नेतृत्व चयन गर्दा यो मापदण्डलाई पछाडि धकेल्दै नयाँ मापदण्ड बनाइएको थियो। जसअन्तर्गत पूर्व एमाले र पूर्व माओवादी केन्द्रका जिल्ला अध्यक्ष वा संयोजकलाई जिल्ला अध्यक्ष र सचिव बनाउने सहमति भएको थियो। यही मापदण्ड २२ वटा जनवर्गीय संगठनको एकता टुंग्याउन पनि प्रयोग गरिएको थियो।

ने क पामा अहिले ३२ विभागहरु, पोलिटव्यूरोको गठन र सम्पर्क मञ्चहरुको गठन हुन बाँकी छ। अहिले संगठन विभागको प्रमुखमा मुख्य विवाद देखिएको छ। संगठन विभागको प्रमुखमा एक अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बामदेव गौतमको नाम अगाडि सारेका छन् भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले रामबहादुर थापा बादललाई अगाडि सारेका छन्।

बादललाई संगठन विभागको जिम्मेवारी दिँदा पार्टीको संगठनमा असर पर्ने भन्दै सचिवालय बैठक भित्र ओली पक्षबाहेकले सहमति जनाएका छैनन्। गौतम अहिले कुनै पनि निर्वाचित निकायमा छैनन्। उनी पूर्ण रुपमा पार्टीकै गतिविधिमा रहेको भन्दै उनको नाम प्रस्ताव भएको हो। गौतमकै पक्षमा माहोल बनाउनका लागि फेरि ने क पाभित्र 'एक व्यक्ति एक पद'को कुरा आएको स्रोतले बतायो।  

सचिवालयमा नेताहरुबीच कार्यविभाजनका विषयमा एकमत नहुँदा बैठक भोलीसम्मका लागि स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कार्यविभाजन प्रस्तावमा पेस भएको थियो। तर सहमतिमा पुग्न सकेन्।

'कार्य विभाजनको प्रस्ताव तयार भएको छ। यसलाई चाँडै नै टुंग्याइने छ,' ने क पाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

उनका अनुसार बैठकमा प्रवास संगठन जिल्लाका इन्चार्ज र सह–इन्चार्ज विषयमा छलफल भएको छ। उनले बुधबार दिउँसो १२ बजे बस्ने बैठकले यस विषयमा निर्णय लिने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell