PahiloPost

Jun 26, 2019 | ११ असार २०७६


ढुङ्गाको सिंहासन अगाडि बसेर कसरी निकालिन्छ भोटो देखाउने जात्राको साइत?


पहिलोपोस्ट

ढुङ्गाको सिंहासन अगाडि बसेर कसरी निकालिन्छ भोटो देखाउने जात्राको साइत?

आउँदो जेठ २६ गते आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुनेछ। भोटो देखाउने जात्रा यो वर्ष त्यो दिन परेकोले विदा हुने भएको हो। तर हरेक वर्ष यही दिनमा भोटो देखाउने जात्रा भने पर्दैन। पोहोर यो जात्रा वैशाखमा परेको थियो भने २०७३ सालमा साउनमा। २०७२ सालमा त झन् असोजमा।

रथ लगनखेलबाट जाउलाखेल तान्ने साइत कतिबेला जुर्छ, त्यसैका आधारमा भोटो देखाउने जात्रा र उपत्यकाका तीन जिल्लामा सार्वजनिक विदा हुने दिन टुङ्गो लाग्छ। कसरी जुराइन्छ त यस्तो साइत? पहिलोपोस्टका सहयोग रञ्जितले खोतलेका छन्।

++++

२०७२ सालमा करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को १२ वर्षे रथ यात्रा चलिरहेको थियो। १२ वर्षमा एकपटक रातो मछिन्द्रनाथको मूर्तिलाई बुङ्गमतीदेखि नै रथारोहण गराइ पाटन ल्याएर जात्रा मनाउने परम्परा रहँदै आएको छ।

वैशाख ११ गते रातो मछिन्द्रनाथको रथलाई भैसेपाटीको छ्यासीकोटमा पुर्‍याइएको थियो। १२ गते बेलुकी ४ बजे रथ तान्ने साइत थियो। तर, १२ गते बिहान १२ बज्न ४ मिनेट बाँकी छँदा ठूलो भूकम्प आयो। ८ हजारभन्दा बढीको मृत्यु भयो, २२ हजारभन्दा बढी घाइते भए। निरन्तर परकम्प गइरहे।

यता कम्पन गइरहेको थियो उता मछिन्द्रनाथको रथ यात्रा सुरु नहुँदा अझै अनिष्ट हुनसक्ने त्रास फैलिरहेको थियो। ज्योतिष दैवज्ञ कीर्तिकिरण जोशीलाई भने भ्याइनभयाइ थियो।

कीर्तिकिरण रातो मछिन्द्रनाथको रथ यात्राका लागि साइत हर्ने प्रमुख ज्योतिष हुन्। वैशाख १२ गतेपछि उनले रथ तान्न पटक-पटक उत्तम साइत हेरेर पठाए। तर, फेरि परकम्प जान्थ्यो र त्यो साइत काम लाग्दैन थियो। फेरि साइत हेर्थे, फेरि परकम्प। भूकम्पपछि पुनः साइत नहेरी रातो मछिन्द्रनाथको रथ तान्न नहुने जनविश्वास रहेको छ।

कीर्तिकिरणका अनुसार रातो मछिन्द्रनाथको रथयात्राका क्रममा भूकम्प गए त्यसलाई अशुभ मानिन्छ। त्यसैले फेरि रथको यात्रा सुरु गर्न राष्ट्र र जनताको हित हुने गरी शुभ साइत निकाल्नु पर्ने नियम छ।

भूकम्पका कारण रथमा समेत क्षति पुगेको थियो। रथलाई मर्मत गरी तान्नुपर्ने थियो। त्यसका लागि रथ बिग्रिएकै स्थानमा गएर ज्योतिषीले स्वस्तिशान्ति पाठ गर्नेका साथै १२ ब्राह्मणहरूलाई दान दिनुपर्ने हुन्छ। सबै काम गर्दागर्दै पनि परकम्प रोकिएन।

मलमासका कारण रथयात्रा झनै लम्बियो।

भूकम्पले रातो मछिन्द्रनाथको १२ वर्षे रथयात्रा महिनौँ रोकिन पुग्यो।

१२ वर्षे रथयात्रा सुरु गर्नका लागि पनि साइत जुराउने अरू कोही नभएर कीर्तिकिरण नै थिए। उत्तम साइतमा जात्रा सुरु गर्दा पनि किन त्यसो भयो त?

'३२ लक्षणकै साइत जुराउन त गाह्रै थियो। त्यस वर्ष देशको परिस्थिति अलि नराम्रो हुने प्रक्षेपण नभएका होइनन्। भूकम्प गयो। त्यसपछि धेरै पटक साइत जुराएँ। तर, भूकम्प रोकिएन। एउटा साइत पठायो, पछि फेरि अर्को पठाउनुपर्ने। निकै गाह्रो समय थियो। यद्यपि राम्रो दिन जुराउने कोसिस गरिरहेँ,'उनले भने।

 

दुई पटक हेरिन्छ साइत

पाटनको कृष्ण मन्दिर छेउमा रहेको भीमसेन मन्दिरको अघिल्तिर रहेको मणिमण्डपमा जेठ ९ गते बिहीबार बेग्लै चहलपहल थियो।

यही ठाउँमा कीर्तिकिरणसहितका अन्य ज्योतिषहरूले हेरेको साइत अनुसार अहिले लगनखेलमा रहेको मछिन्द्रनाथको रथ जावलाखेलसम्म तान्ने मिति आगामी जेठ २३ गते तय भएको हो। २३ गते नै रथ जावलाखेल पुगे जेठ २६ गते भोटोजात्रा मनाइनेछ। 

हुन त रातो मछिन्द्रनाथको रथ यात्राका साथै अन्य पूजाका लागि धेरैपटक साइत हेरिन्छ। तर, वर्षको दुई पटक भने यहाँ आएर साइत हेर्नुपर्छ। 'दक्षिणगमन यात्रा' र 'पश्चिमगमन यात्रा'* को साइत जुराउन।

रातो मछिन्द्रनाथलाई बुङ्गमतीबाट दक्षिणमा रहेको पाटनमा ल्याउन प्रत्येक वर्षको मङ्सिर महिनामा 'दक्षिणगमन यात्रा' को लागि साइत हेरिन्छ।

यस्तै, रातो मछिन्द्रनाथको रथबाट नरिवल खसालेर भोलिपल्ट महिलाहरूले रथ तानेर (याक: मिसा भुज्या) थति टोलबाट इति टोलको चौबाटोसम्म ल्याएको केही दिनपछि त्यही मणिमण्डपमा रातो मछिन्द्रनाथको रथलाई जावलाखेल लग्नका लागि दोस्रो पटक साइत हेरिन्छ। रातो मछिन्द्रनाथको रथलाई पाटनबाट पश्चिम दिशामा पर्ने बुङ्गमती लैजाने भएकाले त्यसलाई 'पश्चिमगमन यात्रा' भनिन्छ। 'पश्चिमगमन यात्रा' को साइत नजुराएसम्म भोटो जात्राको साइत तय हुँदैन। 'पश्चिमगमन यात्रा' को साइत तय भएको दिन रथ तानेर जावलाखेल पुर्‍याएको चौथो दिनमा मात्रै भोटोजात्रा मनाउने प्रचलन छ। त्यसदिन उपत्यकामा सार्वजनिक विदा दिने गरिन्छ। 

ढुंगाको सिंहासनबाट पुर्ख्यौली दायित्व निर्वाह

पहिला पाटनका प्यंग थां (चार थाम) का जोशीहरु मंगलबजारको मणिमण्डपमा साइत हेर्न पुग्ने परम्परा रहेको थियो। प्यंग थांमा  पाटनका क्वालखु खलकका कीर्तिकिरण जोशी मुख्य ज्योतिषीका रूपमा रहेका छन्। धौ बहालका ज्योतिषी पूर्ण मंगल जोशीले लेखकको काम गर्छन्। उनले कीर्तिकिरणले जुराएको साइत ढड्डामा लेख्ने काम गर्ने गर्छन्। यस्तै, बखुम्बहालका दुई ज्योतिषहरूको काम साइत जुराएको हेर्ने (दृश्तक) र सुन्ने (श्रोतक) हुन्थ्यो।

अहिले भने प्यंग थां मध्ये दुई जना (क्वलखु जोशी र धौ बहालका लेखक) मात्रै साइत हेर्न परम्परामा सहभागी हुँदै आएका छन्। साइत जुराएको हेर्ने र सुन्ने दुई जना यस परम्परामा सहभागी नभएको वर्षौँ भइसक्यो।

राष्ट्रिय पञ्चाङ्क निर्णयक समितिका सदस्य एवम् कीर्तिकिरणका दाइ ज्योतिषी मदन जोशीका अनुसार पहिला पाटनको हिरणयवर्ण महाविहारका ३२ जना गुरुजुहरु समेत साइत जुराउने काममा सहभागी हुन्थे। अहिले त्यो परम्परा पनि लोप भइसक्यो।

गुठी संस्थानले दिँदै आएको पारिश्रमिकमा चित्त नबुझेका कारण २०५२ सालमा लेखकसमेत साइत हेर्न अनुपस्थित रहे। तर, पछि फेरि उनलाई सहभागी गराइयो।

कीर्तिकिरण भन्छन्,' पहिला चारै जनाले आ-आफ्नो काम गर्थे। बिस्तारै मान्छेहरू पलायन हुँदै गए। साइत हेर्न चारजनाको उपस्थिति हुने ठाउँमा दुई जनामात्रै भएपछि कुरा त्यसबारे कुरा उठेकै हो। यो त गुठी संस्थानले ध्यान दिनुपर्ने कुरा हो।'

साइत हेर्ने परम्परामा सहभागी हुने मानिसहरू घट्दै गर्दा पनि अहिलेसम्म प्रमुख ज्योतिषी र लेखक मंगलबजारमा सिद्धिनरसिंह मल्लको सिंहासनको प्रतीकमा रहेको ढुंगाको सिंहासन अगाडि बसेर आफ्नो पुर्ख्यौली दायित्व निर्वाह गर्दै आएका छन्।

 

'पहिले देश र नरेश, अहिले देश र जनता'

प्रमुख ज्योतिष कीर्तिकिरण बाल्यकालदेखि नै आफ्नो बुबा कीर्तिब्रह्माणनन्द जोशी र दाई कीर्तिभरत जोशीका साथमा वर्षको दुई पटक मंगलबजार पुग्थे। आफ्ना बुवाबाट साइत हेर्ने रीतिबारे बुझ्थे। बुबाको देहान्तपछि उनका दाई कीर्तिभरतले साइत हेर्ने काम गरे। उनको पनि मृत्यु भएपछि कीर्तिकिरण आफ्नो पुर्खाले गर्दै आएको काम गर्दै आएका छन्। यस्तो परम्परा ७ सय वर्षभन्दा पहिलादेखि चलिआएको उनको दाबी छ।

साइत हेर्दा अरुबेला भन्दा संवेदनशील हुनुपर्ने भन्दै उनी भन्छन्,'यो श्री (बुंगद्य:) को यात्रा हो। यहाँ जथाभाबी गर्नुहुँदैन। यात्रामा केही समस्या भए देशमा अनिष्ट हुने धारणा रहेको छ। त्यसैले पहिला देश र नरेशको हितमा साइत हेरिन्थ्यो। अहिले हामी देश र जनताको हितमा साइत हेर्छौँ।'

रातो मछिन्द्रनाथको 'दक्षिणगमन यात्रा' र 'पश्चिमगमन यात्रा' लागि साइत हेर्ने बेला मुख्यतय 'पञ्चाङ्ग शुद्धीकरण' लाई महत्त्व दिइने गरेको उनी बताउँछन्। पञ्चांग हेर्दा तिथि, बार, नक्षत्र, योग र करणलाई महत्त्व दिने गरिन्छ। साइत निकाल्दा उल्लिखित सबै अङ्गहरू शुद्ध हुनुपर्छ। शुद्ध नभए त्यसलाई शुद्ध गरी साइत निकालिने उनी बताउँछन्।

यस्तै, पञ्चाङ्गसहित ग्रह , नक्षत्र हेरिन्छ। यी सबै ग्रह र नक्षत्रहरू पनि शुद्ध हुनुपर्ने हुन्छ। यात्राको लगनको विचार गरिनुका साथै चन्द्रमा र ताराको पनि विचार गरिन्छ।

कीर्तिकिरण भन्छन्,'रातो मछिन्द्रनाथको रथयात्राका क्रममा केही नराम्रो भए, रथ ढले देशमा नराम्रो नहुने विश्वास छ। त्यसैले सकेसम्म सबैभन्दा राम्रो दिनमा साइत निकाल्ने प्रयास हुन्छ।'

 

नबुझेर हुन्छ विवाद

क्वालखु जोशीका रूपमा कीर्तिकिरणले रातो मछिन्द्रनाथको 'दक्षिणगमन यात्रा' र 'पश्चिमगमन यात्रा' का लागि मात्रै साइत हेर्दैनन्। ती दुई यात्राका बीचमा हुने रातो मछिन्द्रनाथको अन्य विभिन्न शुभकार्यका लागि समेत उनैले साइत हेर्ने गरेका छन्।

अन्य साइत हेर्नका लागि भने मणिमण्डपमा जानुपर्दैन। न त लेखक आवश्यक हुन्छ। कीर्तिकिरण आफ्नै घरबाट साइत हेरेर गुठी संस्थानमा पठाउँछन्। यी साइतहरूमा पनि पञ्चांग शुद्धीकरणका साथै अन्य ग्रह र नक्षत्रलाई महत्त्व दिइन्छ।

दक्षिणगमन यात्रापछि रातो मछिन्द्रनाथको मूर्तिलाई त: बहालमा रहेको मन्दिरमा विराजमान गरिएको हुन्छ।

त्यसपछि ल्हुति पुन्हीको भोलिपल्ट वैशाख कृष्ण प्रतिपदाका दिन लगनखेल स्थित न्हवं दबू (महास्नान मण्डप)मा रातो मछिन्द्रनाथको न्हवं (महास्नान) का लागि उत्तम साइत हेर्ने काम पनि कीर्तिकिरणकै हो। न्हवंलाई मछिन्द्रनाथको मरणका रूपमा लिइने गरेको स्थानीयहरु बताउँछन्। मरण भएर फेरि जन्म लिएर लोकको उद्धारका लागि फेरि शुद्ध गरिनुपर्ने भएकाले न्हवं चलाइएको बताइन्छ।

न्हवं सम्पन्न भएपछि प्रतिपदादेखि सप्तमीसम्म रातो मछिन्द्रनाथलाई त: बहालकै मन्दिरमा राखिन्छ। अष्टमीका दिनपछि भने ख्वा: उलिगु (रातो मछिन्द्रनाथको मूर्तिलाई रंगारोहण गराएपछि छोपिएर राखिएको अनुहार खोल्ने काम) को कार्यका लागि उनैले साइत दिने गरेका छन्।

त्रयोदशीमा हुने रातो मछिन्द्रनाथको इहीका लागि उनैले साइत दिने गर्छन्। यस्तै, वैशाख शुक्ल प्रतिपदाका दिनहुने रातो मछिन्द्रनाथको रथारोहणका लागि साइत दिने गरिन्छ।

कीर्तिकिरण भन्छन्,'पश्चिमगमन र दक्षिणगमनबाहेक अरू चारवटा साइत तलमाथि हुँदैनन्, एकै तिथिमा हुन्छ। प्रतिपदामा साइत हेरपछि चौथीको दिन नै श्रीको रथ यात्रा हुन्छ।'

तर, तिथि घटबढ हुँदा भने मानिसहरुमा रथारोहणको दिनलाई लिएर केही विवाद हुने गरेकोमा उनी प्रस्टाउँछन्,'वैशाख शुक्ल प्रतिपदाका दिन रातो मछिन्द्रनाथको रथारोहण गरिन्छ। प्रतिपदाबाट चतुर्थीको दिनमा रथयात्रा प्रारम्भ हुन्छ। चतुर्थीका दिन तान्ने भएकाले धेरैले चतुर्थीलाई प्रतिपदापछि चौथो दिन मान्छन्। रथारोहणको चार दिनमा रथ यात्रा गरिन्छ भनेर सोच्छन्।

यस विषयमा मानिसहरुमा अहिले केही भ्रम छ। रथ चार दिनपछि होइन, चतुर्थी तिथिका दिन नै तान्ने हो। यहाँ तिथिमा त्रुटि वा वृद्धि हुँदा कहिलेकाहीँ तीन दिनमै रथ यात्रा हुन सक्छ। मानिसहरू कुरै नबुझी किन यस्तो गरेको भन्दै विरोध गर्छन्। तर हामी देउताको विषयमा तलमाथि गर्दैनौँ।'

यद्यपि, उत्तम साइत निकाल्दा पनि रथयात्राका क्रममा विघ्नबाधाहरु नआएका भने होइन।

२०५२ साल वैशाख २० गते बेलुकी पुल्चोकमा रथ ढलेको उदाहरण दिँदै उनले भने 'रथ तान्ने क्रममा मिल्दैन। तान्नेहरूले जबर्जस्ती रथ तान्छन्। अनि यस्ता घटनाहरू हुन्छन्। २०५१ सालमा असारमा नै फेरि दुई पटक रथारोहण गर्नुपरेको थियो।' रथ ढलेपछि स्वस्तिशान्ति पूजा गरेर करुणामयको पूजा गर्नुपर्ने हुन्छ।'

२०७६ वर्षलाई ज्योतिषीहरूले खासै राम्रो मानेका छैनन्। कीर्तिकिरण भने अरू ज्योतिषीले भने झैँ धेरै नराम्रो नहुने बताउँछन्।

'यस वर्ष पनि भूकम्प गइरहेका छन्। नक्षत्रमा अलि विघ्न देखिन्छ। शनि राजामा छ। सूर्य मन्त्री छ। ७५ सालको भन्दा ठ्याक्कै उल्टो। ७२ साल जस्तो दशा छैन। देशका लागि समय त्यति अनुकूल नभए पनि ठूलै अनिष्टको योग भने छैन। बुंगद्य:को यात्रा सरल ढङ्गले समापन हुन्छ।'

'पश्चिमगमन यात्रा' हुनुपर्नेमा 'उत्तरगमन' भएकोले सच्चाइएको *



ढुङ्गाको सिंहासन अगाडि बसेर कसरी निकालिन्छ भोटो देखाउने जात्राको साइत? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट