काठमाडौँ : साविक विजेता एपीएफलाई पराजित गर्दै नेपाल पुलिस तेस्रो प्रधानमन्की कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेको छ।
बिहीवार भएको दोस्रो सेमिफाइनलमा एपीएफलाई ५ विकेटले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो। अब पुलिसले आर्मीसँग फाइनलमा खेल्नेछ।
कीर्तिपुरस्थित टीयू मैदानमा भएको लो 'स्कोरिङ' सेमिफाइनलमा दुवै टिमले उत्कृष्ट बलिङ गर्दा ब्याटिङमा भने कमजोर प्रदर्शन गरेको थियो। पुलिसले एपीएफलाई ४१ रनमै अलआउट गरेपनि लक्ष्य सम्म पुग्न ५ विकेट गुमाएको थियो। ४२ रनको लक्ष्य पुलिसले ९.३ ओभरमा ४५ रन बनाउदै पूरा गरेको हो। पुलिसको जितमा पवन सर्राफले नटआउट २१ रन बनाए।
टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले पुलिसको बलिङसामु टिक्न नसक्दा २२.१ ओभरमा ४१ रनमै अलआउट भयो। एपीएफले बनाएको यो स्कोर प्रतियोगिताकै सबैभन्दा कम स्कोर समेत बनेको छ।
एपीएफका शरद भेषावकरले पृथु बास्कोटाले ७-७ रन बनाए। त्यो नै एपीएफका खेलाडीको व्यक्तिगत उच्च स्कोर रह्यो। साविक विजेता समेत रहेको एपीएफले सेमिफाइनलमा भने त्यो अनुसारको ब्याटिङ गर्न सकेन। सन्दिप जोरा ६, अभिनाश बोहरा ३, आसिफ शेख, प्रदिप ऐरी, सुमित महर्जन र दिपेन्द्र रावत २ ताथ कमल सिंह ऐरी १ रन बनाएर आउट भए। कप्तान बसन्तले खाता खोल्न सकेनन् भने अमर सिंह राउटेला ६ रनमा नटआउट रहे।
एपीएफलाई अलआउट गर्ने क्रममा पुलिसका कुशल भुर्तेल, सागर ढकाल र ललित नारायण राजंशीले शानदार बलिङ गरे। यी तीन खेलाडीले १० विकेट लिए।
ललितले ६ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए। कुशल भुर्तेल र सागर ढकालले ३-३ विकेट लिए। कुशलले ५ ओभरमा १ मेड राख्दै ७ रन खर्चेर ३ विकेट लिए। सागरले ८.१ ओभरमा ३ मेडन राख्दै १५ रन खर्चेर ३ विकेट लिए।
४२ रनको झिनो लक्ष्य पछ्याएपनि पुलिसले सुरुवातदेखि नै विकेट गुमाएको थियो। ५ रन हुँदा सुरुवाती ३ विकेट गुमाए पनि दिपेन्द्र सिंह ऐरीले १३ तथा पवन सर्राफले २१ रन बनाउँदै जित दिलाए। छैटौँ नम्बरमा ब्याटिङ गरेका पवनले १४ बल खेल्दै ४ चौकाको मद्दतमा नटआउट २१ रन बनाए। दिपेन्द्रले १४ बल खेल्दै २ चौकाको मद्दतमा १३ रन योगदान गरे।
एपीएफको लागि बसन्त रेग्मीले ३ र शरद भेषावकरले २ विकेट लिए।
चोटका कारण समूह चरणको खेलन खेलेपनि बसन्तले सेमिफाइनलमा पुनरागमन गर्दै उत्कृष्ट बलिङ गरे। तर उनको बलिङले मात्र टोलीलाई जिताउन भने सकेन।