PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

'भारत' रिलिजको असर नेपाली फिल्ममा, निर्माता संघ अध्यक्ष भन्छन्, नीति नबनेसम्म समस्या



पहिलोपोस्ट

'भारत' रिलिजको असर नेपाली फिल्ममा, निर्माता संघ अध्यक्ष भन्छन्, नीति नबनेसम्म समस्या

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई कार्यभार सम्हाल्न सुरु गरेदेखि बलिउड फिल्म पनि शुक्रबार बाहेक अन्य दिन रिलिज नगर्ने घोषणा गरेका थिए।

नेपाली फिल्महरु 'यात्रा' र 'ए मेरो हजुर ३' प्रदर्शनरत् थिए, सोही समय हिन्दी फिल्म 'कलंक' बुधबार वर्ल्ड प्रिमियर भयो। तर, नेपाल रिलिज भएन।

त्यस यता स्वदेशी साथै सबै विदेशी फिल्महरु शुक्रबार मात्र हलमा लाग्दै आएका थिए।

तर, यो साता बलिउड स्टार सलमान खान अभिनित फिल्म 'भारत' बुधबार नै नेपाल रिलिज भयो।

फिल्म बुधबार रिलिज गराउनका लागि नेपालमा 'भारत' वितरक कम्पनी बैंकटेस इन्टरटेन्मेन्टले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्‍यो। कम्पनीको माग फिल्म बुधबार रिलिज गरी पाउँ भन्ने थियो। अदालतले वितरण कम्पनीको पक्षमा फैसला गर्‍यो।

फिल्म रिलिजको बाटो खुल्यो। इदको अवसरमा सार्वजनिक भएको फिल्मले पहिलो दिन नै क्युएफएक्समा मात्र १९ शो पायो। त्यस्तै अन्य मल्टिप्लेक्स एवं सिंगल स्क्रिनहरुमा उक्त बलिउड फिल्मको वर्चश्व रह्यो।

जसको प्रत्यक्ष असर पर्‍यो प्रदर्शनरत् फिल्म 'जात्रै जात्रा'लाई। दोस्रो साता पनि हाउसफुल शोहरु दिइरहेको फिल्मको शो ह्वात्तै घट्यो। जसका कारण हलसम्म पुगेका दर्शक निराश भएर फर्कनु परेको बारे जानकारी दिइरहेका छन् फिल्म युनिटका सदस्यहरु।

यसरी बुधबार नै प्रदर्शनमा ल्याइएका फिल्मको कारण आफ्नो चलिरहेको फिल्मको शो घटाउनुलाई व्यवसायीक धर्मविरुद्ध भएको बताउँछन् जात्रै जात्रा निर्देशक प्रदीप भट्टराई। उनी भन्छन्,'आफ्नो व्यापार, व्यवसायमा आफू खुसी गर्न पाइएला। तर, हल कब्जा शोले होइन दर्शकले गर्नुपर्छ।' उनले आफ्नो फिल्मले मेरिट अनुसार पाउनु पर्ने शो नपाएको दाबी गरेका छन्। कुनै पनि फिल्मको हल अकुपेन्सीका आधारमा शो दिने प्रावधान छ। 'दर्शकको माया पाएका छौं। अन्तिम सत्य दर्शक हुन्,' उनले भने।

नियममा के छ?

शनिबार, आइतबार हुने बिदालाई लक्षित गरी प्राय फिल्मको फ्राइडे रिलिज गर्ने ट्रेन्ड थियो बलिउडमा। शुक्रबार रिलिज गर्दा हुने समीक्षा र वर्ड अफ माउथले शनिबार र आइतबार हलसम्म पुग्ने दर्शकमा प्रभाव पार्ने विश्वास छ। दर्शक सङ्ख्याको प्रभाव बक्सअफिसमा देखिन्छ।

सोही ट्रेन्ड अपनाइयो नेपालको हकमा पनि। चलचित्र विकास बोर्ड, निर्माता संघ र नेपाल चलचित्र संघबीच त्रिपक्षीय प्रतिवद्धतासहित फ्राइडे रिलिजको अवधारणा ल्याइयो। 


२०७२ असोज १९ गते निर्माता संघले नेपाली फिल्म शुक्रबार मात्र सार्वजनिक गर्ने सहमती बारे जानकारी सार्वजनिक गरेको थियो।

केही समय यता विदेशी फिल्म अन्य दिन सार्वजनिक गर्न हुने, नहुने? भन्ने बारे विवाद चर्किएपछि चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघको बैठक बस्यो। बैठकबाट नेपाली साथै विदेशी फिल्म पनि दशैं, तिहार, इद र नयाँ वर्षमा बाहेक शुक्रबार मात्र रिलिज गराउने निस्कर्ष निस्कियो। र, प्रस्ताव राखियो चलचित्र विकास बोर्डलाई। बोर्ड उक्त विषयमा अहिले सम्म अनिर्णित छ। 

सोही समय बैंकटेस इन्टरटेन्मेन्टले मुद्दा दायर गर्‍यो र निर्णय आफ्नो पक्षमा पार्‍यो।

निर्माता संघका अध्यक्ष आकाश अधिकारी भन्छन्,'कुनै पनि विषयमा नीति नबन्दा यस्तो अवस्था आउँछ। जसका कारण नेपाली निर्माता मारमा परेका छन्।'

उनले अब भने सरोकारवाला निकायहरुले यस विषयमा उचित ध्यान दिइ, नीति निर्माण गर्नु पर्ने बताए। 'सर्वप्रथम हामीले नेपाली फिल्म, निर्माता र इन्डस्ट्रीलाई सेफ साइडमा राख्नुपर्छ। त्यसो हुन नीति आवश्यक छ। नत्र आज मात्र होइन भविष्यमा पनि यस्ता समस्या आइरहने छन्,' उनले भने।

कानुनी प्रक्रिया अपनाएर रिलिज गरिएको 'भारत'का कारण जात्रै जात्रासँगै मारमा परेको छ अर्को फिल्म 'कुम्भ करण' पनि। गत शुक्रबार मात्र प्रदर्शनमा आएको फिल्मले बुधबारदेखि नै शोहरु गुमायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell